संगीत

पूर्वबाट नयाँ वर्षको भव्य नेपथ्य सुरुवात

इकागज |
बैशाख १, २०८१ शनिबार २१:२५ बजे

बिर्तामोड- स्थानीय डोमालाल रंगशालामा शुक्रबार लोकरक व्याण्ड नेपथ्यको कन्सर्ट हेर्दैगर्दा अधिकांश युवायुवतीहरू भनिरहेका थिए, ‘नयाँ वर्षको स्वागत गजब रमाइलोसँग भयो ।’

अघिल्लो रात बेतोडको वर्षाले पूर्वी तराईको धुवाधुलोलाई पखाल्नेमात्र होइन चैत अन्तिमको उखरमाउलो गर्मीलाई थोरै राहतमा पनि परिणत गरिदिएको थियो । यसरी वर्षकै अन्तिम साँझ मौसमी अनुकूलताका बीच ठीक साढे छ बजे कन्सर्ट प्रारम्भ भयो । व्याण्डले पूर्वी भेगबाटै संकलित ‘कोशीको पानी यो जिन्दगानी’बाट कार्यक्रमको थालनी गरेको थियो । 


नेपथ्यका अधिकांश प्रस्तुतीहरूमा मध्यतिर मात्र देखिने दर्शकहरूको चर्को उत्तेजना अनि जताततै नृत्यको दृश्य यसपाला बिर्तामोडमा भने प्रारम्भदेखि देख्न पाइयो । 
अघिल्लो लहरमै उभिएर सुरुदेखि नृत्य गर्ने समूहमा बिर्तामोड–६ की रेशु भुजेल देखिन्थिइन् । उत्तिकै नाच्ने साथीहरू सिमा र प्रतिमाको साथमा आएकी रेशुले कार्यक्रमबारे प्रतिक्रिया दिने क्रममा दुईवटै हातका बुढी औंला उचालिन्, आँखा झिमिक्क पारिन् र भनिन् ‘गज्जब’। 

‘कोशीको पानी’ पछि क्रमैसँग ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ सुनाएपछि नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले दर्शकहरूसँग संवादको थालनी गरे ।  
‘बिर्तामोडको यो मञ्चबाट संसारभर फैलिएका नेपालीहरूलाई नयाँ वर्ष २०८१ को शुभकामना दिन चाहन्छु,’ उनले दर्शकहरूतर्फ हात फैलाउँदै भने, ‘भोलि यो पूर्वी भेगबाट हुने सूर्योदयले हामी सबैको जीवनमा सुख र शान्ति ल्याओस् ।’

कार्यक्रम सुरु हुनुभन्दा दुई घन्टा अगावैदेखि मैदानमा उपस्थित भएर साथीहरूसँग रमाइलो गरिरहेका देखिने बिर्तामोडका दर्शकहरू अन्य कतिपय मामलामा पनि विशिष्ट देखिन्थे । पहिरनदेखि लिएर संगीत अनुकूल शरीरका बान्कीहरू सम्म मिलेको देख्दा यो सहरमा पश्चिमा सांगीतिक जमघटको प्रभाव भित्रिएको महसुस हुन्थ्यो ।

कार्यक्रममा त्यसपछि अमृतले व्याण्डको पहिलो रेकर्ड गरिएको गीत प्रस्तुत गर्ने अनुमति माग्दै ‘आँगनैभरि’ सुनाएका थिए । त्यसलाई ‘लामपाते सुरती’ र ‘चरि मरयो’ गीतले निरन्तरता दिएको थियो ।

कार्यक्रम अघि बढ्दै जाँदा एक ठाउँमा अमृतले हालै मात्र रेकर्ड गरिएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’ गीत गाइरहेका थिए । त्यसमा करिब २० वर्षकी सरिता पाठक आनन्द लिएर नृत्य गरिरहेकी थिइन् । त्यतिबेलै अमृतले गीतमा व्यक्त गरिएकै भावमा मन्त्रपाठ सुरुगर्दा सरिताले अचम्म मानेर गायकलाई हेर्दै हाँसिरहेको दृश्य निकै रोचक देखिन्थ्यो । मन्त्र सकिनेबित्तिकै हाँस्दा हाँस्दै सरिता फेरि नृत्य गर्न थालेकी थिइन् । उक्त गीत सकिएपछि आफू यो कन्सर्ट हेर्नका निम्ति बुधबारे देखि आएको जानकारी पनि उनले दिइन् । 

यसरी सांगीतिक यात्रा गर्दा गायक अमृतले ती सहरमा बसोबास गरेर सिंगो राष्ट्रलाई योगदान दिइरहेका सर्जकहरूसँग भेटघाटको क्रमलाई पनि निरन्तरता दिइरहेकै हुन्छन् ।

बिर्तामोड नेपाली संगीत र साहित्यको सेवामा समर्पित कतिपय सर्जकहरूको कर्मथलो पनि हो । अघिल्लो दिन मात्रै अमृतले पुराना गीतकार शिवशंकर थापालाई उनको घरैमा गएर भेटेका थिए । कैयौँ कालजयी गीतहरूका लेखक थापाले त्यस अवसरमा नेपाली लोक संगीतलाई नयाँ पुस्तासम्म लैजान नेपथ्यले दिँदै आएको योगदानको प्रशंसा गरेका थिए ।

शुक्रबारको कन्सर्टमा अमृतले पूर्व देखि पश्चिम कुनासम्मबाट पैदल यात्रा गर्दै संकलन गरेका गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रम हेर्नका निम्ति सीमावर्ती भारतीय बस्तीहरू हुँदै सिक्किम र भूटान छेउको जयगाउँसम्मका दर्शकहरू आएका देखिन्थे । कार्यक्रमको अन्त्य भने सधैंजस्तै नेपाली राष्ट्रिय झण्डाको महिमागान् ‘रातो र चन्द्रसूर्जे’बाट गरिएको थियो ।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘अघिल्ला दुईपटक जस्तै यसपाला पनि बिर्तामोडले न्यानो स्वागत गरेकामा आभार प्रकट गर्न चाहन्छु,’ कार्यक्रम सकिएपछि अमृतले प्रतिक्रिया दिए । यसरी पूर्वी नेपालबाट नयाँ वर्षको स्वागतसहित निस्किएको नेपथ्यले अब यो वर्षभरि श्रृंखलाबद्ध यात्राहरू लिएर नेपाल र विदेशका मञ्चहरूमा आफूलाई उपस्थित गराउने भएको छ ।
 


Author

थप समाचार
x