सम्झनामा नारायणगोपाल
म टेलिफोनको रिसिभर समाएर बसिरहन्थेँ अनि उहाँ हार्मोनियम बजाएर भूपी दाइलाई गीत सुनाइरहनु हुन्थ्यो
प्रेमको सुरुवात, भेटघाट र विवाह
त्यतिखेर म दार्जीलिङको गभर्मेन्ट कलेजमा पढ्थेँ र क्यासल्टन कटेजमा बस्थेँ । मेरी एकजना मिल्ने साथी थिइन्, सिक्किमकी देविका राई । हामी दुवैलाई नेपाली गीतप्रति ठूलो अभिरुचि थियो । देवुचाहिँ खुबै गीत पनि गाउँथी, म भने सुनेर मात्र सन्तुष्टि लिन्थेँ । त्यो बेला क्यासेटको चलन थिएन, हामी रेडियोबाटै गीत सुन्ने गर्थ्यौं ।
हाम्री भान्से दिदीसँग एउटा सानो रेडियो थियो । हामी शनिबार र आइतबार-बिदाको दिन, त्यही रेडियोबाट नेपाली फर्मायसी गीतहरू सुन्थ्यौँ । मैले पहिलोचोटि उहाँको गीत पनि त्यही रेडियोबाट सुनेकी हुँ । मलाई उहाँको स्वर पहिलोपल्टदेखि नै मन पर्न थाल्यो र यो क्रम बढ्दैबढ्दै म उहाँको ‘फ्यान‘ नै भएँ ।
‘स्वर्गकी रानी,’ ‘आँखाको भाका’ गीतहरू सुनेर मेरो मनमा एउटा जिज्ञासा सधैँ उठिरहन्थ्यो- यति मीठो स्वरको धनीले गम्भीर र मार्मिक गीतहरू गाउँदा कस्तो सुनिन्थ्यो होला । पछि मैले चिठ्ठीमा पनि यो उत्सुकतालाई प्रकट गरेकी थिएँ ।
यत्तिकैमा म कलेजको पढाइ सिध्याएर आफ्नो घर (माइत) सुकियापोखरी फर्केर स्थानीय विद्यालयमा अध्यापन गर्न थालेँ । मेरा एकजना अर्का साथी थिए- भीम मुखिया । हामीले स्कूल-कलेजमा सँगसँगै पढ्थ्यौँ मात्र होइन, अहिले जागीर पनि एकै ठाउँमा गछौँ ।
हो, उनै भीम मुखिया, बीचैमा कलेजको पढाइ छाडेर नेपाल आएर जागिर खान थालेका थिए । उनी एकपटक घर फर्केको मौकामा मलाई भने, ‘नेपालमा राम्रा-राम्रा विदेशी सामानहरू पाइन्छ, तिमीलाई के ल्याइदिऊँ ?’
मैले भनेँ, ‘मलाई कुनै विदेशी सामानहरू चाहिँदैन । यदि पाइन्छ र सक्छौ भने नारायणगोपालको ठेगाना ल्याइदेऊ ।’ उनले त्यही बेला बताए- उहाँलाई उनले एकचोटि पारस होटलमा भेटेका थिए रे । पछि उहासँग भीम मुखियाले त्यसै होटलमा भेटेर उहाँको ठेगाना पठाइदिए र मैले उहाँलाई पहिलो चिठ्ठी लेखेँ । सुरु भयो हाम्रो पत्रमित्रता ।
उहाँले पहिलो प्रत्युत्तरमा लेख्नुभएको थियो- म चाँडै बडोदा जाँदै छु । त्यसैले यसको जवाफ केही दिनपछि उतैको ठेगानामा लेख्नू । साथमा उहाँले बडोदाको ठेगाना पनि पठाउनु भएको थियो । हाम्रो पत्राचारमा गीत-संगीतको मात्र कुरा हुन्थे । हामीले आफ्ना फोटोहरू पनि पठाएनौँ । हाम्रो प्रेम भेटघाटपछि मात्र भएको हो ।
सन् १९६५ मा सुकियापोखरीमा उहाँ, नगेन्द्र थापा, कर्म योञ्जन र गोपाल योञ्जन आउनुभयो । त्यसै बेला हामीले पहिलोपल्ट एकअर्कालाई देख-भेट गर्यौँ । हुन त योभन्दा अघि सन् १९६४ मा पनि उहाँ निमन्त्रणामा बडोदाबाट दार्जीलिङ आउनुभएको थियो । त्यसै बेला उहाँ र गोपाल योञ्जनबीच मीत लगाइयो । दार्जीलिङको क्यापिटल सिनेमा घरमा उहाँको गायन कार्यक्रम भएछ । मलाई पनि त्यो कार्यक्रम हेर्न उहाँले बोलाउनुभएको थियो । तर मलाई भेट्ने आँट भएन, अप्ठेरो पनि लाग्यो । म गइनँ ।
हाम्रो विवाह २०२७ फागुनमा भयो । हामी दुवैको घरबाट हाम्रो विवाहको विरोध भयो । बेग्लाबेग्लै जातबीचको यो विवाह दुवै पक्षका परिवारलाई स्वीकार थिएन । त्यसैले उहाँ पनि एक्लै सुकियापोखरी आउनुभयो र म पनि दिदी-भिनाजुको घरबाट दुलही बनेर अन्मिएँ ।
विवाहपछि पनि हामी काठमाडौँ घरमा आएनौँ । उतै उतै पोखरा गयौँ र भूपी (शेरचन) दाइको घरमा बस्न थाल्यौँ । हामी भूपी दाइकहाँ पुग्दा उहाँ तीर-धनु बोकेर तारो हान्न निस्कनुभएको रहेछ । उहाँकी श्रीमतीले सारै राम्रो व्यवहार गर्नुभयो । त्यसपछि हामी छुट्टाछुट्टै भान्सामा खाएर ६ महिनाजति त्यही बस्यौँ ।
केही समयपछि मैले स्थानीय रत्नराज्य लक्ष्मीदेवी स्कूलमा पढाउने काम पाएँ । उहाँले पनि अमर सिंह भन्ने भूपू सैनिक विद्यालयमा केही समय काम गर्नुभयो । करिब ६ महिनापश्चात् हामी मन नलागी नलागी काठमाडौँ आयौँ । त्यस बेलाको नेवारी समाज आजजस्तो थिएन । म अर्कै संस्कृति, वातावरण र समाजमा हुर्केबढेको मान्छेलाई यहाँको संस्कृति र वातावरण अनुकूल चल्न कठिनाइ हुनु स्वाभाविकै थियो ।
भीम मुखियाले मलाई भने, ‘नेपालमा राम्रा-राम्रा विदेशी सामानहरू पाइन्छ, तिमीलाई के ल्याइदिऊँ ?’ मैले भनेँ, ‘मलाई कुनै विदेशी सामानहरू चाहिँदैन । यदि पाइन्छ र सक्छौ भने नारायणगोपालको ठेगाना ल्याइदेऊ ।’
उहाँले यही कुरा सोचेर होला, ‘हामी हेटौँडा गएर बसौँ’ भन्नुभएको थियो । त्यहाँ हाम्रो घर-जग्गा थियो । त्यहाँको रेखदेख गर्ने कोही नभएकाले बुवा (आशागोपाल) ले पनि हामीलाई त्यतै बस्न सल्लाह दिनुभएको थियो । तर नगेन्द्र थापाले हामीलाई जानै दिनुभएन । त्यहाँ जानुभयो भने तपाईंको ‘करियर’ खतम हुन्छ, त्यसैले जसरी होस्, तपाईंले यहीँ बस्नुपर्छ भनेर उहाँले रोक्नुभयो । मलाई पनि धेरै सम्झाउनुभयो । आखिर हामी गएनौँ । त्यसपछि पनि एक वर्षजति हामी सँगोलमै बस्यौँ अनि मात्र डेरामा सर्यौँ । त्यहाँ पनि ८/१० वर्ष जति बसेपछि मात्र महाराजगन्जमा घर बनाएर सरेका हौँ ।
स्वराभ्यास र स्वराङ्कन
म विवाह गरेर भर्खर आएकी थिएँ- उहाँ गोपाल योञ्जनकै संगीतमा मात्रै गाउनुहुन्थ्यो । उहाँ दुवै मीत घरमै बसेर अभ्यास गर्नुहुन्थ्यो । त्यसैबेला हो, उहाँले मीरा र ज्ञानु राणासँग युगल गाउनुभएको । पछिपछि दिव्य खालिङको संगीतमा गाउनुहुँदा पनि घरमै स्वराभ्यास गर्नुहुन्थ्यो । उहाँ, कुनै संगीतकारले गीत सुनाउनासाथ प्रभावित भएर तुरुन्तै गाउनुहुन्नथ्यो । गीत-संगीत दुवैलाई विभिन्न दृष्टिकोणबाट हेरेपछि कहाँ-कहाँ चित्त बुझ्दैन, त्यसमाथि व्यापक छलफल र गर्नुपर्ने परिवर्तनसमेत गरेर जब सबैतिरबाट चित्त बुझ्थ्यो अनि मात्रै गाउनुहुन्थ्यो ।
तर सधैँ गीतका लागि महिनौँ समय दिन सकिँदैन । समयको अभाव खड्किन थाल्यो । अनि चाहिँ एक्लै क्यासेट सुनेर अभ्यास गर्न थाल्नुभयो । अझ फिल्मका गीतहरूका लागि त ‘साउन्ड ट्रयाक’मा अभ्यास गर्नुहुन्थ्यो । गीतको बोलको ठाउँमा बाँसुरी, भ्वायलिन या कुनै बाजाले लय हालिएको हुन्थ्यो, अनि त्यसैमा उहाँ अभ्यास गर्नुहुन्थ्यो ।
रन्जीत दाइ (गजमेर) ले संगीत गर्नुभएका सबै गीतहरू उहाँले यसरी नै गाउनुभएको हो । तर आफ्नै संगीतमा गाउने गीतहरूलाई चाहिँ धुन हालिसकेर घरकै क्यासेटमा भर्नुहुन्थ्यो र फेरि सुन्दा चित्त बुझ्यो भने स्टुडियोमा गएर रेकर्ड गर्नुहुन्थ्यो । तर, चित्त बुझेन र पुनः सुधार्नुपर्यो भने घरमै गएर रेकर्ड गर्नुहुन्थ्यो । पछि २÷४ दिनको अन्तरमा सुन्दा चित्त बुझ्यो भने त्यस गीतलाई पास गर्नुहुन्थ्यो ।
उहाँलाई गीत र संगीत छान्ने कुरामा केही रूपमा म पनि सहयोग गर्थें तर अन्तिम निर्णय उहाँ एक्लैको हुन्थ्यो । कहिलेकाहीँ मलाई मन परेको गीत उहाँलाई मन पर्दैनथ्यो । दिव्य खालिङको संगीत र दिनेश अधिकारीको लेखनको एउटा गीतमा यस्तै भएको छ । ‘भेटी नभेट्न सक्ने आकाशको तलाउ, तिमी साँझबत्ती बाल यात्रा मलाई देऊ’ यसको शब्द र लय दुवै मलाई असाध्य मन परेको थियो तर उहाँलाई मन परेन । उहाँले ‘कहाँ’ चित्त बुझेन भनेर गाउनुभएन ।
उहाँ मलाई प्रायः सबै गीतहरू सुनाउनु हुन्थ्यो र सबै मलाई मन पर्थे पनि । हरिभक्त कटुवालले उहाँलाई बाहिरै भेटेर ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ भन्ने गीत दिएका रहेछन् । उनकै हस्ताक्षरमा लिखित सो गीत अझ पनि हामीकहाँ छ । म अफिसबाट फर्केपछि जहिले पनि क्यासेट प्लेयर चलाएको छ-छैन, टेपमा केही भरेको छ-छैन-जाँच्दथेँ ।
मलाई उहाँले नयाँ केही गर्नुभयो कि भनेर सुन्न सधैँ सकसक लाग्थ्यो । यसै क्रममा मैले कटुवालको त्यस गीतहरूको २/३ वटा धुन सुनिसकेकी थिएँ । जुन धुनको गीत आज रेडियोबाट बन्छ, त्यो पहिलोपल्ट भुइँमा छरिएका क्यासेटहरू छानेर मैले सुनेकी हुँ । एकपल्ट सुन्नासाथ मलाई साहै्र मन पर्यो र यही रेकर्ड गरौँ भनेर मैले कर गरेँ । उहाँले ठट्टा पनि गर्नुभयो- उसो भए तिमीले सुटुक्कै चोरेर पनि सुनिसक्यौ ? म ‘सरप्राइज’ दिउँला भन्दै थिएँ ।
यस गीतबारे एउटा अर्को पनि रोचक घटना छ । उहाँ कसैलाई आफ्ना नयाँ गीतहरू टेलिफोनबाट सुनाउनुहुन्थ्यो भने त्यो एकै जना भूपी दाइलाई मात्र । उहाँहरूबीच फोनमा घण्टौँ कुराकानी हुन्थे । म टेलिफोनको रिसिभर समाएर बसिरहन्थेँ अनि उहाँचाहिँ हार्मोनियम बजाएर भूपी दाइलाई गीत सुनाइरहनु हुन्थ्यो । कहिले भूपी दाइको फर्मायसीमा र कहिले उहाँकै चाहनामा फोनबाट गीत सुनाउने क्रम जारी नै रहन्थ्यो ।
त्यस दिन पनि उहाँले मलाई रिसिभर समाउन लगाएर ‘मलाई नसोध....’ सुनाउनुभयो तर यो लय भूपी दाइलाई पटक्कै मन परेन । उहाँले अर्को बदल्न भन्नुभयो । पछि शान्ति ठटाल यहाँ आउँदा उहाँले पनि यो लयलाई राम्रो मान्नुभएन । तर रेकर्ड गर्दा उहाँले कसैको सल्लाह सुन्नु भएन- हामीलाई मन परेकै लयलाई रेकर्ड गर्नुभयो । तर आज त्यही धुन सबैलाई प्रिय भएको छ । उहाँ आफ्नो निर्णयमा कहिल्यै नडिग्ने स्वभावको हुनुहुन्थ्यो ।
मैले उहाँको दुई वटा गीतको रेकर्डिङ मात्र हेरेकी छु । त्यो पनि उहाँको करले । एक दिन उहाँले भन्नुभयो- सबै जना मेरो रेकर्ड हेर्न रेडियोमा भीड लाग्छन्, तिमी चाहिँ किन नआउने ? मैले पनि सोचेँ हो त, किन नहेर्ने ? ‘मैले पुण्य मन पराएँ’ र ‘तिमीलाई भुल्दा’को रेकर्डिङ हेरेँ ।
त्यस बखतको एउटा कुरा अझसम्म पनि मलाई सम्झना भरहन्छ । उहाँलाई जिस्किरहनु पथ्र्यो । त्यस दिन त्यहाँ नातीकाजी दाइ, डा. राममान तृषितहरू पनि हुनुहुथ्यो । ‘तिमीलाई भुल्दा’ भन्ने गीतमा कि मैलाई सम्झी तिमी मुस्कुरायौ’ भन्ने एक पंक्ति थियो । डा. तृषितले उहाँलाई जिस्काएर सोध्नुभयो, ‘ए सानु बाबु, कि मै भनेको चाहिँ के हो ?’ उहाँले तुरुन्तै मलाई देखाएर उत्तर दिनुभयो, ‘त्यो ठिटीको नाम हो ।’
हाम्रो सन्तान नभएकामा नातागोताहरूबाट चियोचर्चा भइरहन्थ्यो । तिमीहरूको सन्तान छैन, शेषपछि घरबार-सम्पत्तिको हेरचाह कसले गर्छ ? कसले सम्हाल्छ ?
हामी यो सुनेर खुब हास्यौँ । मलाई पहिलो अनुभवमै यस्तो लाग्यो- रेकर्डिङ हेर्नुजस्तो अल्छीलाग्दो काम अरु केही रहेनछ । दोहोर्याइ-तेहर्याइ एउटै पंक्ति गाइरहनुपर्ने । अहिले पो ‘ट्रयाक सिस्टम’ छ- टुक्राटुक्रा गाएर पनि मिलाउन सकिन्छ, त्यो बेला यस्तो व्यवस्था थिएन ।
नारायणगोपाल र रेडियो नेपाल
रेडियो नेपालप्रति उहाँको सधैँ गुनासो रह्यो । देशको एउटा मात्र प्रसारण- माध्यम, त्यो पनि सरकारी स्वामित्व भएको, रेडियो नेपालले रेकर्डिङको राम्रो व्यवस्था गर्नुपर्छ भन्ने उहाँको भनाइ थियो । तर त्यहाँ रेकर्डिङ गर्नुपर्दा एकमुष्ठ बाजा बजाउनेहरूसमेत उपलब्ध हुँदैनथे । भएका वाद्यवादकहरूमा पनि अनुशासन भन्ने वस्तु रत्तिभर थिएन ।
आफैँले दौडधूप गरेर बल्लबल्ल जुटाएका वाद्यवादकहरू पनि रेकर्डिङ सुरु हुँदा चिया खान गइसकेका हुन्थे । उहाँलाई सुरुसुरुमा त डेट पाउन पनि गाह्रो थियो । उहाँले रेडियोमा गाउन छाड्नुभएको मूल कारण पनि यही वाद्यवादकको अभाव, अनुशासनहीनता र ‘डेट’को समस्या थियो । उहाँलाई जुन दिन रेकर्डिङको ‘डेट’ दिइन्थ्यो त्यस दिन, निश्चित समयमा गाउन जाँदा अर्कैले गाइरहेको हुन्थ्यो । पहिलो कुरा त उहाँ मलाई ‘डेट’ चाहियो भन्दै नजाने, बल्लबल्ल पाएको पालोमा पनि अर्कैले गाइदिने । यिनै कारणले दिक्दार भएर उहाँले पछि रेडियोमा गाउनै पनि छाडिदिनु भयो ।
डा. लोहनी सञ्चारमन्त्री हुँदा रेडियो नेपालको विज्ञापन सेवालाई विस्तार गरियो । त्यससँग सम्बध्द कलाकारहरूलाई प्रोत्साहित गर्ने भनियो । यस सम्बन्धमा उहाँको विचार थियो- विज्ञापन सेवाको विस्तार गर्दा गीतहरू बजाउनै पर्छ । त्यसैले जुन जुन कलाकारका गीतहरू बजाएर विज्ञापन सेवा चलाइन्छ र आर्जन गरिन्छ ती कलाकारहरूलाई एकपटक बजेको गीतको पाँच पैसा मात्र किन नहोस् रोयाल्टीस्वरूप दिइनुपर्छ ।
यस विषयमा उहाँले मन्त्री र सञ्चारका अन्य पदाधिकारीहरूलाई भेटेर कुराकानीसमेत गर्नुभयो । तर, खै अहिलेसम्म पनि केही हुन सकेको छैन । कारण यही हो- पछि उहाँले रेडियोलाई गीति-यात्राका गीतहरू बजाउन दिनुभएन ।
उहाँ कलाकारहरूको हितमा एउटा सिस्टम बनाउन चाहनुहुन्थ्यो । आफ्नो सम्पूर्ण जीवन नै यसैमा समर्पण गरेका कलाकारहरूलाई सम्बन्धित क्षेत्रले बेवास्ता गर्छ भने उनीहरूको परिवार कसरी चल्छ त ? भन्नुहुन्थ्यो । सम्भ्रान्त हुन नसकोस् तर कुनै पनि कलाकारले कसैका सामुन्ने हात पसारेर खानु नपरोस् भन्नुहुन्थ्यो । तर कसैले ठगेर, ढाँटेर र बेइमानी गरेर खाएको उहाँलाई उचित लाग्दैनथ्यो ।
सांस्कृतिक संस्थानमा जानासाथ उहाँले पहिलो काम यस्तै गर्नुभयो । त्यसबेला त्यहाँ दुईतिर जागिर खाने र नाचघरमा चाहिँ हाजिर गरेर रेडियो र अन्यत्र काम गर्न जाने कलाकार र कर्मचारीहरू निकै थिए । यस्ता केही कर्मचारी र केही कलाकारहरूलाई निकाल्नुभयो । तर त्यही संस्थानकै आधारमा जीवन धान्दै आएका कलाकारहरूलाई निकालिएन । यस कुरालाई लिएर पत्रपत्रिकाहरूले विरोध र गाली पनि छापे तर उहाँले टेर्नु भएन ।
उहाँको पालामा जति राम्रो कार्यक्रम त्यहाँ फेरि हुन सकेन । उहाँका पालामा सांस्कृतिक संस्थानले आफ्नै आर्जनबाट प्रशासन चलाएको थियो । कलाकार पालेको थियो । कार्यक्रमको सार्वजनिक प्रदर्शनी गरिएपछि बाहिरका या कलाकारका नातेदारले सित्तै हेर्न पाउँदैनथे । टिकट काटेर नै हेर्नुपर्थ्यो ।
कलाकारका नातेदार या कसैलाई कार्यक्रम देखाउनु छ भने ‘ग्रान्ड रिहर्सल’मा देखाउनु पथ्र्यो । म पनि त्यही बेला हेर्थें । यदि त्यसबेला काम विशेषले हेर्न भ्याइएन भने टिकट काटेरै हेर्थें । यति हुँदाहुँदै पनि कसैले जबर्जस्ती विनाटिकटमा आफ्ना मानिसलाई घुसाएर कार्यक्रम देखायो भने त्यसको हर्जाना उसको तलबबाट असुल गरिन्थ्यो । यही कारणबाट उहाँ अलि अलोकप्रिय पनि हुनुभयो । अनुशासन र नीतिविरुध्द खेली-खाई आएका कर्मचारीहरू यसलाई अन्यायपूर्ण ठान्थे । त्यसैले उहाँलाई ‘बढ्ता भएको, घमण्डी’ भन्ने आरोपहरू पनि लगाइए तर उहाँ आफ्नो निर्णयमा डगमगाउनु भएन ।
निकट सम्पर्कका मित्रहरू
धनचामलको हाकिम भएर झापा जानुअघि नगेन्द्र थापा नियमित घरमा आउनुहुन्थ्यो । र, पुरानो तथा अन्तरंग साथी उहाँ नै हुनुहुन्थ्यो पनि । पछि आफ्नो कामको व्यस्तताले गर्दा नै होला, झापा गएपछि उहाँहरूबीच पहिला जस्तो भेटघाट भएन ।
घरमा आइराख्ने र कुराकानी गर्नेहरूमा कालीप्रसाद रिजाल पनि हुनुहुन्थ्यो । ६÷७ वर्षयता चाहिँ विश्वम्भर प्याकुर्यालसँग भेट नहुँदा उहाँ कस्तोकस्तो अनुभव गर्नुहुन्थ्यो । विश्वम्भरजी नआउँदा हाम्रो चाडपर्व रमाइलो जस्तै हुँदैनथ्यो । उहाँ दसैँको नवमीको दिन सधैँ आउनु हुन्थ्यो । कोहीकोही बेला विश्वम्भरजीसँग भेट भएन या आउनुभएन भने उहाँ मलाई भन्नुहुन्थ्यो, ‘ए बाबु, बाजे किन आएन, एकपल्ट फोन गर त ।’
विगत चार वर्षयता वसन्त चौधरीसँग पनि उहाँको सम्बन्ध निकै गाढा भएको थियो । उहाँ सिकिस्त भएर वीर अस्पतालको आईसीयूमा भर्ना हुनु भएपछि वसन्त चौधरी र नगेन्द्र थापाले पालैपालो उहाँलाई एकैछिन पनि छाड्नु भएन । बीचमा निकै जरुरी कामले वसन्तजी वनारसतिर जानुभएको थियो र फर्कंदा उहाँका लागि कुन धामबाट प्रसाद समेत लिएर आउनुभएको थियो ।
मलाई पहिलो अनुभवमै यस्तो लाग्यो- रेकर्डिङ हेर्नुजस्तो अल्छीलाग्दो काम अरु केही रहेनछ ।
यसबाहेक उहाँलाई चाहिने औषधिहरू विदेशबाट झिकाउने कामको सम्पूर्ण अभिभारा वसन्त चौधरीले लिनुभएको थियो । यसरी उहाँका जीवनका विभिन्न समयमा निकट हुनेहरूमा शम्भुजीत बासकोटा पनि हुनुहुन्छ ।
रुचि, अरुचि र खुसीहरू
किताबहरू पढ्नु उहाँको मुख्य रुचि थियो । सांस्कृतिक संस्थान छाडेपछि उहाँ दिनभरि किताब पढेर घरमै बस्नुहुन्थ्यो । किताबहरूमा पनि इतिहास उहाँको प्रमुख अध्ययनको विषय थियो । उहाँलाई नेपालको इतिहास त कण्ठस्थै थियो भन्दा पनि अत्युक्ति हुँदैन ।
त्यसबाहेक पाश्चात्य संगीतका पुस्तकहरू पनि त्यतिकै अध्ययन गर्नुहुन्थ्यो । उहाँको पहिलेदेखि नै पढ्ने बानी थियो । नाचघरमै छँदा पनि उहाँलाई १०-५ गर्नुपर्ने आवश्यकता थिएन र प्रत्येक फुर्सदका क्षणहरूमा पनि उहाँ अध्ययनमै बिताउनु हुन्थ्यो ।
यदि केही पढ्नुभएको छैन भने पनि त्यतिकै बस्ने बानी थिएन । हार्मोनियम बजाएर गीत गाउनुहुन्थ्यो । समाचारपत्रहरू पढ्नुहुन्थ्यो । यसबाहेक उहाँ ‘नेसनल जियोग्राफिक’को पनि त्यतिकै गहन अध्ययन गर्नुहुन्थ्यो । किनेर होस् या साथीभाइकहाँबाट मागेर होस्, त्यो पत्रिका पढ्ने उहाँको सोख नै थियो । पछि अमेरिकाबाटै मगाएर पनि पढ्नुभयो ।
चेस, पप्लु खेल्न पनि उहाँलाई त्यतिकै जाँगर चल्थ्यो । केही काम छैन भने साथीभाइहरूलाई डाकेर घरमै रमझम गर्न पनि उहाँलाई आनन्द लाग्थ्यो । उहाँको अर्को रुचि चाडबाडप्रति थियो । सानो घ्यू-चाकु खाने पर्व किन नहोस्, उहाँलाई राम्रैसँग मनाउनु पर्थ्यो ।
म अफिस जान लाग्दा ‘तिमीलाई घ्यू-चाकु खाने दिन पनि अफिस जानुपर्छ ?’ भनेर जिस्क्याउनु हुन्थ्यो । आफूले गाएका गीतहरू रेकर्ड भएर आएपछि त्यसको गुणस्तर राम्रो भयो भने उहाँ अत्यन्तै हर्षित हुनुहुन्थ्यो । यसको विपरीत भएमा फेरि त्यतिकै ‘मुडअफ’ पनि हुन्थ्यो ।
सोखकै कुरा गर्ने हो भने उहाँ फुटबल र टेनिसको पनि त्यतिकै सोखिन हुनुहुन्थ्यो । दशरथ रङ्गशालामा भएका प्रायः सबै खेलमा उहाँ दशर्कका रूपमा उपस्थित हुनुहुन्थ्यो । यो भन्दा अघिल्लो विश्वकप फुटबलमा टेलिभिजनको त्यति सारो चलन भइसकेको थिएन । हाम्रोमा पनि टेलिभिजन थिएन । त्यो बेला सायद उहाँका साथीहरूमध्ये विश्वम्भर प्याकुर्यालकहाँ चाहिँ टेलिभिजन सेट थियो र उहाँले नियमित त्यहीँ गएर हेर्नुभयो । गएको विश्वकपमा भने उहाँ बिरामी हुनुहुन्थ्यो र जुन दिन फाइनल परेको थियो, डा. सत्यालले त्यसै दिन अस्पतालमा भर्ना हुनु भनेका थिए । उहाँ ‘बेड बुक’ गराएर पनि त्यो दिन जानु भएन । रातभरि विश्वकप फुटबलको फाइनल हेरेर बिहान मात्र जानुभयो ।
हामी भूपी दाइकहाँ पुग्दा उहाँ तीर-धनु बोकेर तारो हान्न निस्कनुभएको रहेछ । उहाँकी श्रीमतीले सारै राम्रो व्यवहार गर्नुभयो ।
उहाँलाई पुरानो अचार साहै्र मन पर्थ्यो । अचार उहाँ आफैँ पनि बनाउनु हुन्थ्यो र छुट्टाछुट्टै भाग लगाएर साथीभाइलाई कोसेली पठाउनु हुन्थ्यो । यसरी नै माछामासु पकाउनमा पनि उहाँ सधैँ अघि सर्नुहुन्थ्यो । खसीको टाउको र नेवारी परिकार ‘त खा’ र ‘सन्या-फुन्या’ उहाँलाई खूब मनपर्थ्यो ।
रोगले च्यापेपछि उहाँ जीवनमा पहिलोपल्ट साहै्र दिक्क र हतास हुनुभयो । खान पनि राम्रो नहुने सधैँ बिसञ्चो, घुमफिर गर्न पनि नसक्ने । त्यसैले उहाँमा झर्किने बानी पनि देखिन थाल्यो । नत्र त उहाँ सधैँ हाँस्ने, हँसाउने र जोकहरू गर्नुपर्ने स्वभावको हुनुहुन्थ्यो ।
घरबाहिर पार्टी-भोजमा जाँदा या अन्यत्र कतै कसैले नराम्रो वचन गर्यो भने उहाँलाई पीर पथ्र्यो । उहाँ घरमा आएर पनि कारण बताउनु हुन्नथ्यो- तिमीहरूलाई केको चासो भन्नुहुन्थ्यो । तर मैले ज्यादै कर गरेपछि भन्नुहुन्थ्यो । स्वाभिमानमा चोट लाग्ने घटना भए भने उहाँ ज्यादै खिन्न हुनुहुन्थ्यो । ‘स्वर्णिम-सन्ध्या’ अति सफल भएपछि उहाँ सायद जीवनमै पहिलोपल्ट यति विघ्न खुसी हुनुभएको थियो । त्यसपछि उहाँले सोच्दै नसोचेको ‘जगदम्बाश्री’ पुरस्कार पाउँदा पनि उहाँ साहै्र हर्षित हुनुभएको थियो ।
संगीत कोषको चाहना
कहिलेकाहीँ मानिसहरूले दिएका नराम्रा दबाबहरूबाट पनि सार्थक कुराको जन्म हुँदो रहेछ । हाम्रो सन्तान नभएकामा नातागोताहरूबाट चियोचर्चा भइरहन्थ्यो । तिमीहरूको सन्तान छैन, शेषपछि घरबार-सम्पत्तिको हेरचाह कसले गर्छ ? कसले सम्हाल्छ ? भन्ने कुरा उठाइरहन्थे ।
दुखिरहेको घाउलाई कोट्याइदियो भने झन् दुख्छ नि । फलाना-ढिस्कानालाई ‘धर्मपुत्र’ राख भन्ने सल्लाह पनि दिन्थे । यस्ता कुराले उहाँलाई घोचिरहन्थ्यो । अनि उहाँले एउटा संगीत स्कुल खोल्ने विचार गर्नुभयो । कसैलाई धर्मपुत्र पाल्नुभन्दा एउटा संगीत स्कूल खोलेर आर्थिक रूपमा विपन्न, असहायहरूलाई संगीत सिकाउने उहाँको ठूलो मनोकांक्षा थियो ।
पछि उहाँलाई आईसीयूमा राखिएको बेला उहाँले मलाई किटान गरेर भन्नुभएको थियो- म नहरे पनि तिमीले एउटा संगीतसम्बन्धी विद्यालय खोल्नू र वसन्त चौधरीलाई त्यसको अध्यक्ष बनाउनू । यसबाहेक नगेन्द्र थापा, विश्वम्भर प्याकुर्याल र मेरा अन्य साथीहरूलाई पनि त्यसमा समावेश गराउनू । तिमीले केही गर्नु पर्दैन, मेरा साथीहरूले तिम्रो इच्छा मुताबिक तिमीलाई सहयोग गर्नेछन् । उहाँको जीवनभरिको सिङ्गो अनुभवको उपलब्धि हो- यो नारायणगोपाल संगीत कोष । उहाँको अन्तिम इच्छाको प्रतिरूप हो- यो नारायणगोपाल संगीत कोष । र, उहाँका सम्पूर्ण साथीहरूको प्रयासको परिणति हो- यो नारायणगोपाल संगीत कोष ।
महाराजगञ्ज, चक्रपथ
(साभार : बागिना, नारायणगोपाल स्मृति अंक । आभार : नारायणगोपाल संगीत कोष ।)
नारायणगोपालबारे थप सामाग्री
- दार्जीलिङका मानिससँग संगत भएपछि नारायण हामीसँग छुट्यो
- तीस वर्षपछि साकार हुँदै स्वरसम्राट्को सपना (फोटो/भिडियो)
- मुकेश, रफी र किशोर कुमार मिल्दा मात्र नारायणगोपाल बनिन्छ
- नारायणगोपाल-पेमालाले नजन्माएको छोरो
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया