छिमेक

चाइना जर्नल

के हुँदै छ चिनियाँ कम्युनिस्ट पार्टीको पूर्ण बैठकमा ?

अजय अलौकिक |
कात्तिक २१, २०७८ आइतवार ८:१८ बजे

पाँच हजार वर्ष लामो इतिहास बोकेको चीनमा प्राचीन समयदेखि नै मानवीय गतिविधि; राजकीय तथा शासकीय सत्ताका खेल र युद्ध, वैदेशिक शक्तिको आक्रमण र हस्तक्षेप तथा प्राकृतिक प्रकोप; जनधनको क्षति र अनिकालका कारणले आमजनताले दुःख, कष्ट भोग्नुका साथै शान्ति र स्थिरता कायम भएको देखिँदैन ।

प्राचीनकालदेखि आधुनिककालसम्म आउँदा चीनमा धेरै उथलपुथल भएका छन् । सन् १९१२ मा गणतन्त्र चीनमा रूपान्तरण भएपछि चीन आधुनिककालमा प्रवेश गरेको मान्‍न सकिन्छ । 


गणतन्त्र स्थापनापछि पनि चिनियाँ जनता आफ्नो हक, अधिकारको सुनिश्चितताकालागि निरन्तर लड्नुपरेको थियो । सन् १९२१ जुलाईमा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९४९ सम्म चिनियाँ जनताको नेतृत्व गरी कठोर सङ्घर्षबाट साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पूँजीवादको शासनलाई ढालेको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको सफल क्रान्तिपछि सन् १९४९ मा नयाँ चीन अर्थात् जन गणतन्त्र चीनको स्थापना भएको हो । 

नयाँ चीनको स्थापनादेखि आजको दिनसम्म र भविष्यको स्वर्णिम खाका बनाइ सर्वप्रथम जनतालाई प्राथमिकतामा राखी मन, वचन र कर्मले लागिरहेको यही चिनियाँ कम्युनिस्ट पार्टीले चालु वर्ष आफ्नो स्थापनाको एक सयौँ वार्षिकोत्सव मनाइरहेको छ ।

यसरी आधुनिक चीनको इतिहास मात्र ११० वर्षको र नयाँ चीन स्थापनाको ७२ वर्षको यो अवधिमा चीनको ऐतिहासिक, शक्तिशाली सत्ताधारी पार्टी चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाको १०० वर्ष मनाउनु अझै उल्लेखनीय बनेको छ । ७२ वर्षदेखि सत्तासिन विश्वकै पुराना पार्टीहरूमध्येको एक यो पार्टी सबैभन्दा धेरै सदस्य भएको पार्टी पनि हो । यो पार्टीमा सदस्यको सङ्ख्या ९ करोड बढी छ । 

यही ९ करोडभन्दा बढी सदस्य रहेको विश्वकै एउटा सशक्त पार्टीले नोभम्बर ८ देखि ११ तारिखसम्म पार्टीको १९औँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक आयोजना गर्दैछ । वर्तमान विश्व केन्द्रमा मुख्य र महत्त्वपूर्ण भूमिका खेल्दैआएको, दोस्रो आर्थिक शक्ति, र शक्तिशाली राष्ट्रको होडमा रहेको राष्ट्रको सत्ताधारी पार्टीको कुनै पनि निर्णयले विश्वमा हलचल ल्याउने सामर्थ्य राख्दछ साथै उक्त पार्टीको पूर्ण बैठकप्रति पनि विश्वले चासो देखाउनु कुनै नौलो कुरा होइन । 

जनाए अनुसार, यो छैटौँ पूर्ण बैठकमा पार्टीले एक सय वर्षमा हासिल गरेका मुख्य उपलब्धिहरू तथा सङ्गालेका ऐतिहासिक अनुभवहरूको समीक्षा गर्ने छ । साथै यो बैठक चीनको सामाजिक, आर्थिक नीति, राजनीति, परराष्ट्र नीति र भावी योजनाबारे जानकारी लिने एउटा झ्याल पनि हो । यहाँ यो केन्द्रीय समिति र यसका पूर्ण बैठकबारे जानकारी दिनु सान्दर्भिक हुन आउँछ । 

चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएदेखि आजसम्म आइपुग्दा १९औँ केन्द्रीय समिति बनेको छ । हालको केन्द्रीय समितिमा जम्मा गरी २०४ जना सदस्यहरू छन् जो सन् २०१७ मा आयोजित चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ राष्ट्रिय जन प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने २,२८० कम्युनिस्ट पार्टी सदस्यहरूको मतदानमार्फत निर्वाचित भएका हुन् । यो चिनियाँ कम्युनिस्ट पार्टीको मुख्य अधिकार प्राप्त समिति हो । यो केन्द्रीय समितिले सामान्यतया पाँच वर्षको कार्यावधिमा ६ वा ७ पूर्ण बैठकको आयोजना गर्दछ । अहिले आयोजना हुनलागेको बैठक १९औँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक हो । 

पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले पार्टीलाई एकताबद्ध गर्दै चिनियाँ विशेषतायुक्त प्रजातन्त्रको पैरवी गर्नुका साथै विकास योजनाको अध्ययन गरी लक्ष्य निर्धारण गर्दछ । तापनि यी भिन्‍न पूर्ण बैठकको मुख्य विषयवस्तु फरक हुन्छन् । पहिलो पूर्ण बैठकले केन्द्रीय समितिका नेताहरुको चयनका बारेमा छलफल गर्ने गर्दछ । दोस्रो पूर्ण बैठकले नयाँ नेताहरूको खोजीमा प्रस्तावित उम्मेदवारहरू सम्बन्धमा छलफल हुन्छ । तेस्रो, चौथो र पाँचौँ पूर्ण बैठकले चीनको आर्थिक सामाजिक विकासका लागि योजना बनाउने गर्दछ । यद्यपि, तेस्रो बैठकमा केही महत्त्वपूर्ण नीतिहरू पारित पनि भएका छन् । 

सन् १९७८ मा बसेको ११औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले चिनियाँ समाजलाई नयाँ र महत्त्वपूर्ण मोडमा पुर्याएको थियो । उक्त बैठकले सुधार तथा खुलापन नीति लागु गर्दै चीनको ग्रामीण क्षेत्रको सुधार प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । सन् १९८४ मा बसेको बैठकले उक्त सुधार नीतिलाई ग्रामीण क्षेत्रबाट सहरसम्म पुर्याएर विकास गर्ने निर्णय गरेको थियो । यसैगरी, सन् १९९३ को बैठकले समाजवादी बजारमूलक आर्थिक प्रणालीको स्थापनाको निर्णय गरेको थियो । यसबाहेक, तीस वर्षयता चीनका पञ्च वर्षीय योजनाहरु सबै पाँचौँ पूर्ण बैठकमा प्रस्तुत भएका छन् । र छैटौँ पूर्ण बैठकले विचारधारा र कम्युनिस्ट पार्टीको निर्माण सम्बन्धी विषयमा जोड दिँदैआएको छ । 

विशेषत, सन् १९७८ मा सुधार तथा खुलापन लागु भएदेखि यता हरेक पटकको छैटौँ पूर्ण बैठकले विचारधारा र कम्युनिस्ट पार्टीको निर्माण सम्बन्धी विषयमा जोड दिँदैआएको छ । सन् २००६ को छैटौँ पूर्ण बैठकले समाजवाद र मेलमिलापयुक्त समाजको निर्माण सम्बन्धमा छलफल गरेको थियो । यसै गरी सन् २०११ को छैटौँ पूर्ण बैठकले सांस्कृतिक प्रणाली सुधारलाई जोड दिएको थियो । 

सन् २०१६ को छैटौँ पूर्ण बैठकले पार्टीलाई कडाइका साथ सञ्चालन गर्न नयाँ परिस्थितिमा पार्टीभित्र राजनीतिक जीवन सम्बन्धी नियमन बनाउनुका साथै पार्टीको आन्तरिक पर्यवेक्षण नियमहरूको संशोधन गरेको थियो । यस वर्षको छैटौँ पूर्ण बैठकले मुख्य गरी पार्टीको सय वर्षको अथक प्रयासको महत्त्वपूर्ण उपलब्धि र ऐतिहासिक अनुभवको समीक्षा गर्ने भनिएको छ । शतवार्षिकी उत्सव मनाइरहेको पार्टीको यो छैटौँ बैठक जहाँ विचारधारा र कम्युनिस्ट पार्टीको निर्माण सम्बन्धमा जोड दिने कारणले यस बैठकको महत्त्व अझै बढेको छ । 

सामन्तवाद, साम्राज्यवाद र उपनिवेशवादमाथि विजयको झण्डा फहराएको सय वर्षको अनुभवी पार्टी चिनियाँ कम्युनिस्ट पार्टीले चौतर्फी रूपमा सम्पन्‍न समाजको आफ्नो लक्ष्य भेट्टाइसकेको छ । अब उ महान चीनलाई आधुनिक, शक्तिशाली, समृद्ध, समाजवादी मुलुक निर्माण गर्ने यात्रामा अग्रसर छ । १९औँ केन्द्रीय समितिको पहिलो पूर्ण बैठकमा चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले नयाँ चीनको शतवार्षिकीमा अर्थात् सन् २०५० सम्ममा चीनलाई आधुनिक, शक्तिशाली, समृद्ध, सांस्कृतिक रूपमा सम्पन्‍न, मेलमिलापयुक्त, सुन्दर र समाजवादी देश बनाउने औँल्याएका थिए । जुन नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादमा सी विचारधाराको रूपमा पार्टी विधानमा राखी कार्य निर्देशिकाको रूपमा लिइएको छ । 

सी चिनफिङको उदयपछि चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ उचाइ प्राप्त गरेको छ । वर्तमानमा, यो नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवाद वा २१औँ शताब्दीको सी चिनफिङको नयाँ समाजवादले विश्वलाई प्रभाव पारेको छ । यस पटकको बैठकले यस नीतिलाई अझ प्रभावकारिताकासाथ अगाडि बढाउने छ ।

१८औँ केन्द्रीय समितिदेखि पार्टी महासचिव सी चिनफिङले पार्टीको अगुवाई गर्दै पूरा पार्टी तथा सबै जातीय समूहलाई एकताबद्धसँगै राष्ट्रका प्रमुख लक्ष्यहरू हासिल गरी चिनियाँ विशेषतायुक्त समाजवादको शक्ति प्रदर्शन गरेको छ । 

नयाँ युगमा पार्टीलाई बलियो बनाउँदै, पार्टी सुशासनको अनुपालन गरी जनता केन्द्रीत भावना र विकास विचारधारालाई लागु गर्दै आममानिसको हितको संरक्षण र एकताबद्ध गर्दै चिनियाँ जनतालाई सुन्दर जीवन बाँच्ने पथमा डोर्याउनु नै पार्टीको मुख्य उद्देश्य हो । यो नै पार्टीको प्रतिबद्धता पनि हो । यस पटकको छैटौँ पूर्ण बैठकमा अघिल्लो बैठकमा सार्वजनिक गरिएको महान चीनलाई आधुनिक र शक्तिशाली बनाउने पन्ध्र वर्षे रोडम्याप सम्बन्धमा थप चर्चा हुने छ । जलवायु परिवर्तनको सामना तथा इको-फ्रेण्डली वातावरणमा पनि चीनको नयाँ योजना सार्वजनिक हुने छ ।

यस बाहेक परराष्ट्र नीति, छिमेक नीति सम्बन्धमा पनि केही नयाँ धारणाहरू प्रस्तुत हुनसक्छ । आधुनिक चीनको निर्माणकालागि अनुकूल अन्तर्राष्ट्रिय वातावरणको सिर्जना गर्नसक्छ । चिनियाँ कम्युनिस्ट पार्टीले सदा शान्तिपूर्ण परराष्ट्र नीतिको अवलम्बन गर्दैआएको छ । स्वतन्त्र र स्वावलम्बी, पूर्ण समानता, आपसी सम्मान र एक अर्काका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने आधारमा चिनियाँ कम्युनिस्ट पार्टीले विश्वका विभिन्‍न देशका पार्टीहरूसँग मैत्रीपूर्ण सम्बन्ध स्थापना गरेको छ । 

यसैको आधार तथा सहअस्तित्वका पाँच सिद्धान्तमा अडिग रहेर विश्वमा शान्ति संरक्षकको रूपमा परिचय स्थापना गरेको छ । सुधार र खुलापन नीति र बहूपक्षीयवादलाई अपनाउँदै प्रभुत्ववाद, एकपक्षीयवादको विरोध गर्दैआएको छ । सम्पूर्ण मानवजातिको साझा उज्ज्वल भविष्यको खोजमा हातेमालो गर्न आह्वान गरिरहेको छ । 

चीनले विश्वमा आर्थिक तथा सामाजिक विकासमा पुर्याउँदैआएको योगदान तथा कोभिड-१९ विरूद्धको लडाइँमा विश्वलाई खोप र चिकित्सकीय सामग्रीको सहयोग सरहानीय छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले हालै चौथो अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहलाई गरेको सम्बोधनमा चीनले अन्तर्राष्ट्रिय समुदायलाई १.६ अर्ब डोज खोप, ४ अर्ब सुरक्षात्मक पोशाक, ६ अर्ब परीक्षण किट्स तथा ३५० अर्ब मास्क उपलब्ध गराएको बताएका छन् । 

कोभिड-१९ लाई सफलतापूर्वक नियन्त्रण र विश्वलाई यसविरूद्ध चिकित्सकीय तथा आवश्यक सामग्रीसहित खोप सहयोग गर्न सक्षम चीनप्रति विश्वको ध्यानाकर्षण हाल चुलेको छ । यसबाहेक, चमत्कारझैँ लाग्ने करोडौँ गरिब जनतालाई पूर्ण गरिबीबाट मुक्त गरी राष्ट्र संघको दिगो विकास एजेण्डालाई दश वर्षअघि पूरा गर्नु र चौतर्फि रूपमा सम्पन्‍न समाजको लक्ष्यलाई भेट्टाउनु प्रशंसनीय कामहरू हुन् । नयाँ चीनको स्थापनापछि चिनियाँ कम्युनिस्ट पार्टीले चीनभरिका विभिन्‍न जातजातिको नेतृत्व गरी नयाँ जनवादबाट समाजवादमा सफलतापूर्वक रूपान्तरण गरेको छ । 

दूरदर्शी नेतृत्व क्षमता र योजनाबद्ध ढंगले चालेका कदमबाट चीनले आर्थिक, सामाजिक क्षेत्रमा अनुपम सफलता हात पारेको हो । उ आफू मात्रै होइन आफूसँगै संसारलाई पनि उन्‍नतिको मार्गमा डोर्याउन चाहन्छ । विश्वलाई एउटा साझा डुङ्गाको रूपमा चित्रण गर्दै मिलेर भाइचारामा बस्‍न आग्रह गर्दछ ।

चीन र चिनियाँ जनताले इतिहासमा दुःख कष्ट भोगे तापनि चिनियाँ कम्युनिस्ट पार्टीको शासन सत्तामा शान्ति र स्थिरता पाएको छ, जनताले समृद्ध तथा सुखद जीवन बाँच्ने वातवारण पाएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको यो यात्रा विश्वभरका राजनैतिक पार्टीका लागि उदाहरणीय छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व चयनदेखि कार्यकर्ता छनौट, भर्ती, पार्टी सञ्चालन, छलफल र समीक्षा, नीति निर्माण, कार्ययोजना र कार्यान्वयन, लक्ष्य र उद्देश्य, अनुभव र सफलता यी सबैको सूक्ष्म अध्ययन विश्वको कुनै पनि राजनैतिक पार्टीलाई लाभदायी हुने छ । जनताबाट पाँच वर्षकालागि पाएको अधिकारलाई आन्तरिक कलहमा लत्याउने नेपाली कम्युनिस्ट पार्टीहरूलाई चिनियाँ कम्युनिस्ट पार्टी एउटा ठूलो शिक्षा बन्‍नसक्छ ।


Author

थप समाचार
x