के अब स्वास्थ्य मन्त्रीले चिसै पानीले नुहाउन लागेका हुन् ?
काठमाडौँ : सरकारले खरिद सम्झौता गरेर पहिलो चरणमा खोप आइसकेपछि कमिसन एजेन्टले सिरम इन्स्टिच्यूट अफ इण्डियाले पठाउनुपर्ने बाँकी १० लाख डोज खोप नेपाल आउन रोकेको साथै थप खोप खरिद गर्न समेत नदिएको बताउँदै आएका मन्त्री हृदयेश त्रिपाठीको अभिव्यक्तिकै विपरित हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।
खोप खरिदमा कमिसन एजेण्टको विवाद सतहमा आएपछि अहिले मन्त्रालयमा समेत मन्त्री त्रिपाठीको भूमिका खुम्चिएको देखिन्छ । मन्त्री र कमिसन एजेन्टबीचको विवाद सतहमा आएपछि बुधबारदेखि नै उपप्रधानमन्त्री ईश्वर पोखरेलले खोप खरिदको नेतृत्व लिएका छन् । त्यसलगत्तै औषधी व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिशिल्ड र भारत बायोएनटेकले उत्पादन गरेको कोभ्याक्सिन खरिद गर्न अनुमति दिएको थियो । मन्त्री त्रिपाठीले सरकारले अघि बढाएको खोप खरिद भाँड्न सक्रिय भएको बताउँदै आएका हुकम डिस्ट्रिब्यूटर्स एण्ड लजिस्टिक्सलाई खोप आयात गरी सरकारले खरिद गरेको भन्दा साढे तीन गुणा बढी मूल्यमा बिक्री गर्न सहमति दिएको छ ।
आज पनि उनले नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग आज भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट पाउने कोभ्याक्स अन्तरगतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
मन्त्री त्रिपाठीले आफ्नो मन्त्रालय मातहतकै विभागबाट आफैंले आरोपित गर्दै आएका कमिसन एजेण्टको जालो तोड्न सकेको देखिदैंन । यसले स्वास्थ्य मन्त्रालय उनले नै चलाइरहेका छन् वा छैनन् भन्ने प्रश्न उठेको छ । आज स्वास्थ्य मन्त्रालयबाटै ५० लाख खोप आपूर्ति नहुनुमा सिरमको कारखानामा आगलागी भइ उत्पादन क्षमता विस्तार हुन नसक्नु मुख्य कारण भन्दै विज्ञप्ति जारी भएको छ । यसले स्वास्थ्य मन्त्री त्रिपाठीलाई स्वास्थ्य भूमिकामा रहीरहन गम्भीर नैतिकताको प्रश्न खडा गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
सरकारले माघ १४ मा देशव्यापी खोप अभियान घोषणा गरेको थियो । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्रै सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप लगाइसक्ने बताएका थिए । मन्त्री त्रिपाठीले भने बिचौलियाहरू नरोकेको भए सरकारले भारतमा कोभिड-१९ महामारीको दोस्रो लहर आउनु अगावै नेपालले सिरमसँग ७० लाख डोज कोभिशील्ड भित्र्याइसक्ने अभिव्यक्ति दिदैं आएका छन् । सिरमबाट भुक्तानी दिइसकेको २० लाखमध्ये बाँकी १० लाख डोज खोप समेत आपूर्ति नहुँदा पहिलो डोज कोभिशील्ड भ्याक्सिन लगाएकालाई समेत दोस्रो डोज खोप लगाउन ढिलाइ भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया