प्रमुख समाचार

‘अक्सिजन सिलिण्डर बोकेर टोलटोलमा पुग्‍ने नगर प्रमुख’

लीलावल्लभ घिमिरे |
बैशाख २५, २०७८ शनिबार १६:५६ बजे

विराटनगर : आज भोली विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीको दैनिकी फेरीएको छ । बिहान बेलुका मात्र हैन मध्य रातमासमेत प्रमुख पराजुली अक्सिजनको सिलिण्डरबोकेर टोलटोलमा पुग्छन् । गम्भीर प्रकृतिका कोभिड-१९ संक्रमितका लागि घर-घर अक्सिजन पुर्‍याउने कामलाई पहिलो चरणको कोभिड संक्रमणकालदेखि नै सुरु गरेका प्रमुख पराजुलीले दोस्रो संक्रमणमा पनि निरन्तरता दिएका छन् ।
 
अक्सिजनको आवश्यक पर्ने संक्रमितका लागि पराजुली पराजुली आफै सिलिन्डर बोकेर घर-घर पुर्‍याउने गर्छन् । आफ्नो गाडीमा अक्सिजन पीपीईलगायत स्वास्थ्य सामग्री बोकेर हिड्ने पराजुलीले शुक्रबारबाट आफू चड्ने गाडीसमेत कोरोना संक्रमितहरूलाई उपचारका लागि अस्पताल पुर्‍याउन एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिएका छन् ।
 
पहिलो चरणको कोभिडमा समेत प्रमुख पराजुलीले घर–घरमा अक्सिजन पुर्‍याएका थिए । पहिलो चरणमा करिब ४० जनाको घरमा अक्सिजन पुर्‍याएको पराजुलीले बताए । दोस्रो चरणको कोभिड संक्रमण सुरु भएपछि पराजुलीले करिब ३५ जनालाई घरमा नै अक्सिजन पुर्‍याइसकेका छन् । ‘हाम्रो महानगरको स्वास्थ्य टिम छ । त्यो टिमले पहिलो बिरामीको अवस्था हेर्छ । अक्सिजनको लेबल ९० भन्दा माथि छ भने मात्र घरमा बस्न दिन्छ । नत्र अस्पताल पुर्‍याउँछ,’ प्रमुख पराजुलीले भने, ‘घरमा बसेर उपचार गर्ने अवस्था र अक्सिजनको आवश्यक परेको हो भने उपलब्ध गराउने गरेका छौं ।’
 
शनिबार प्रमुख पराजुलीले एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिएको गाडीले ६ जनालाई अस्पताल पुर्‍यायो । ‘अब मेरो गाडी छैन्, तर घर-घरमा अक्सिजन पुर्‍याउने काम जारी छ,’ उनले भने, ‘नगरको स्वास्थ्य टिम र नगर प्रहरीले आवश्यक परेको स्थानमा पुर्‍याउने काम गरी रहेका छन् ।’ 

महानगरले यो कामलाई २४ सै घण्टा जारी राख्‍ने बताएको छ । महानगरमा अहिले सम्म २ हजार भन्दा बढी संक्रमीत पुगिसकेका छन् । विराटनगर-१९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहितको १९ बेडको आइसोलेसन केन्द्र महानगरले सुरु  गरेको छ ।
 
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएका दुई वटा गाडी बिरामी बोक्न प्रयोग गर्ने निर्णय गरेको छ । बराहक्षेत्र नगरपालिकाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकासँग रहेको सवारी साधन नागरिकको सेवामा समर्पण गरेको जनाएको छ । बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनाल र प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोखरेलले प्रयोग गर्दै आएका गाडीहरू बिरामी बोक्ने प्रयोजनमा महामरी अवधिभर प्रयोग गरिने भएको छ ।
 
नगरपालिकाले सप्तकोशी बहुमुखी क्याम्पस बराहक्षेत्र-७ मा अक्सिजनको सुविधासहितको ५० बेडको आइसोलेशन तयार गरेको र नगरको सीमा नाकाहरूमा हेथ्थ डेस्क स्थापना गरेर संक्रमित पहिचानको काम सुरु गरेको पनि जनाएको छ । नगरपालिकाले फ्रन्टलाइनमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्की सुरक्षाकर्मीसमेतको सम्पर्क नम्बर सार्वजनिक गरेर आवश्यक परे सम्पर्क गर्न अनुरोध गरेको छ ।



Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x