प्रमुख समाचार

जेठ सुरु भएपछि सुदूरपश्‍चिम बढ्योसंक्रमण दर, ४२ प्रतिशतमा कोभिड पुष्टि

नवराज पनेरु |
जेठ ९, २०७८ आइतबार ६:३६ बजे

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ को संक्रमण दर उच्च देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार वैशाखको तुलनामा प्रदेशमा जेठको पहिलो सातामा संक्रमण दर झनै उच्च देखिएको हो । जेठको ८ दिनमा पीसीआर र एन्टिजेन विधिमार्फत प्रदेशका १५ हजार ९१४ को कोभिड–१९ परीक्षण भएको छ । उनीहरुमध्ये छ हजार ६८६ मा संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

यो संख्या परीक्षण गरिएको कुल संख्याको ४२ प्रतिशतभन्दा बढि हो । जेठ १ गते ४८२ जना, जेठ २ गते ८७६ जना, जेठ ३ गते ४८७ जना, जेठ ४ गते ५८३ जना, जेठ ५ गते ८८१ जना र जेठ ६ गते ७९३ जना, जेठ ७ गते ९ सय ३४ जना र जेठ ८ गते ५ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा वैशाख महिनाभरि ४१ हजार १४७ जनाको कोभिड–१९ परीक्षण गर्दा १३ हजार ५३८ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त संख्या परीक्षण गरिएको कुल संख्याको झण्डै ३३ प्रतिशत हो ।


चैत महिनासम्म भने सुदूरपश्चिममा परीक्षण गरिएकामध्ये साढे ८ प्रतिशतमा मात्रै कोरोना पुष्टि भएको थियो । चैत महिनासम्म सुदूरपश्चिममा एक लाख ५२ हजार १६७ जनाको  परीक्षण गरिएकोमा १४ हजार आठ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो । वैशाख महिनामा १३ हजार ५३८ जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या बढेर २८ हजार ४३३ पुगेको थियो । 

स्वास्थ्य निर्देशनालयका अनुसार जेठको ८ दिनमा छ हजार ६८६ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ३५ हजार नाघेको छ । 

गर्मी बढेसंगै कोभिड-१९ को संक्रमण दर पनि बढेको सेती प्रादेशिक अस्पतालमा कोभिड विभाग हेर्दै आएका फिजिसियन डा. निराजन शर्मा पौडेलले बताए । ‘निषेधाज्ञाको अवधिमै कोभिडको संक्रमण दर बढेको पाइन्छ,’ उनले भने, ‘गर्मी मौसम सुरु भइसकेको र सुख्खापनले यस्ता भाइरस सार्ने सम्भावना झनै बढाउने भएकाले संक्रमण दर बढेको हुनसक्छ ।’ उनले पछिल्लो समयमा कोभिड परीक्षण पनि बढि भएकाले संक्रमण दर बढेको हुनसक्ने बताए । 

८ दिनमा १११ को मृत्यु
जेठको ८ दिनमा सुदूरपश्चिम प्रदेशमा एक सय ११ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार जेठ १ गतेदेखि ८ गतेसम्म एक सय ११ जनाको संक्रमितले ज्यान गुमाएका हुन् । जेठ १ गते १६ जना, २ गते २१ जना, ३ गते १४ जना, ४ गते १४ जना र ५ गते १५ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ । 

जेठ ६ गते १० जना, जेठ ७ गते ११ जना र जेठ ८ गते १० जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । यो अवधिमा दुई हजार दुई सय ५८ जनाले कोभिड जितेका छन् । 


Author

थप समाचार
x