प्रमुख समाचार

जसपा विवाद

आयोगले पत्र खारेज गरेपछि यादवको प्रतिक्रिया : अनुसूचीको फाराम बुझाउन छुटेको हो

इकागज |
जेठ १९, २०७८ बुधबार १७:५ बजे

फाइल तस्बिर

काठमाडौँ : जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूहरूले निर्वाचन आयोगमा बुझाउन बाँकी राजनीतिक दलसम्बन्धी नियमावलीको अनुसूची अनुरुपको फाराम बुझाउने बताएका छन् । 

अध्यक्षद्वय ठाकुर र यादवले मंगलबार पठाएका पत्र राजनीतिक दलसम्बन्धी नियमावलीको अनुसूची अनुरुप फाराम नभरिएकाे भन्दै खारेज गरेको थियो ।  त्यसपछि अध्यक्ष यादवले नियमावलीको अनुसूची अनुरुपको फाराम आफूहरूले नबुझाएको स्वीकारेका हुन् । 


‘अरु सबै कागजात हामीले कानुन अनुरुप आयोगमा बुझाएका छौं । नियमावलीको अनुसूची अनुरुपको फाराम नबुझाएको सत्य हो । हामीले फाराम ल्याइसकेका छौं । आयोगले हामीलाई पत्र पठाए पनि/नपठाए पनि हामीले छिटै बुझाउँछौं,’ अध्यक्ष यादवले इकागजसँग भने । 

यादवले आयोगमा अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो तथा कार्यकारिणी समिति सदस्यद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको पत्र मंगलबार पठाएका थिए । पत्रसहित यादवले पार्टीबाट कारबाही गर्न आवश्यक पर्ने केन्द्रीय कार्यकारिणी समितिको ८ र १७ जेठको बैठकका निर्णयको माइन्यूट, ११ र १५ जेठमा पठाइएका स्पष्टीकरण पत्रका प्रतिलिपि र स्पष्टीकरण पत्रको जानकारी इमेल र ह्वाट्सएपमार्फत पठाएको प्रमाणित स्क्रिनसट पठाएका थिए । 

‘हाम्रो तर्फबाट छुटेको नियमावलीको अनुसूची अनुरुपको फाराम मात्रै हो । हामीले आधिकारिक रूपमा आवश्यक पर्ने माइन्यूटसहितका कागजात पठाएका छौं । कानुनी रूपमा हामी आधिकारिक छौं । फाराम भरेर पठायौं भने सदर हुन्छ भन्‍नेमा हामी ढुक्क छौं,’ अध्यक्ष यादवले भने । 

आयोगका सचिव सुरेश अधिकारीले यादवले पठाएको पत्रमा अन्य सबै कागजात भए पनि नियमावलीमा उल्लेख अनुसूची अनुरुपको फाराम नभरिएकाले खारेज गरिएको बताएका थिए । 

आयोगले अनुसूची अनुरुप फाराम भरेर पत्र पठाउन भन्दै पत्र पठाएको बताएको छ । 
 


Author

थप समाचार
x