प्रमुख समाचार

‘भूकम्प र कोभिडले ४ प्रतिशत गरिबी बढ्यो’

इकागज |
फागुन ७, २०८० सोमवार १०:३५ बजे

पोखरा- राष्ट्रिय तथ्याङ्क कार्यालयले केही समयअघि मात्रै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गरिबीको रेखामुनिको जनसङ्ख्या २०.२७ प्रतिशत छ । यसअघि २०६६/६७ गरिबीको रेखा मुनी जनसङ्ख्या २५.२ प्रतिशत थियो । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार १२ वर्षअघिको तुलनामा ५ प्रतिशत विन्दुले गरिबी घटेको देखाएको छ ।

पोखराको फेवाताल किनारमा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ११औँ संस्करणअन्तर्गत तेस्रो दिन ‘अर्थमन्त्री हुनुको अर्थ’ विषयक छलफलमा पुर्वअर्थमन्त्री समेत रहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भूकम्प र कोभिडले गर्दा सोचेअनुरूप गरिबीको प्रतिशत घटाउन नसकिएको बताए ।


‘१५/१६ प्रतिशतमा झर्नुपर्ने हो गरिबी । यो बीचमा दुईवटा ठूला घटनाहरू भए । एउटा २०७२  सालको भूकम्पले गर्दा २ प्रतिशत गरिबी बढाएको थियो त्यतिबेलाको सर्वेमा,’ उनले भने, ‘सन्‌ २०१९ पछिको कोभिडले पनि झण्डै डेढ दुई प्रतिशत गरिबी बढेको देखिन्छ । विशेष परिस्थितिका कारणले ४ प्रतिशत हामीले लस गर्‍यौँ ।’

पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले अन्धाधुन्ध ज्यालादार बढ्दा गरिबी सोचेअनुरूप घट्न नसकेको टिप्पणी गरे । ‘हिजो ज्यालादार एकदमै न्यून थियो कृषिमा, पुँजीको प्रवेश गरेपछि सरकारी योजना गाउँमा गएपछि ज्यालादार अत्यधिक बढ्यो । र किसानले त्यो दिन सकेन । त्यसपछि किसानले त्यहाँ छोडेर बाहिर बजारबाट किनेर फर्किँदा फाइदा भयो,’ उनले भने ।

उनले थपे, ‘कसरी ज्यालादार वृद्धि गरेर नयाँ कमाइको लेबलमाथि उठाउने भन्ने कुरा नहुँदा गाउँको मान्छे सहर आयो, सहरको मान्छेले पनि विदेशको मान्छेसँग तुलना गर्‍यो विदेश हिँड्यो ।’

गरिबी घट्दो भएपनि गरिबीको विषयमा अध्ययन नहुनु गम्भीर संकट भएको पाण्डेले सुनाए । ‘गरिबी निरन्तर घट्दो छ । तर, हाम्रो त्योभन्दा गम्भीर संकट के पैदा भएको छ भने यसतर्फ हाम्रो अध्ययन भइराखेको छैन,’ उनले भने, ‘४६ सालभन्दा अघि हाम्रो स्थिति कस्तो रहेछ भने ठूलो कृषि अर्थतन्त्रमा थियौँ । त्यो कृषि अर्थतन्त्रमा हाम्रो ज्यालादार के थियो भने एक पाथी धान पुरुषलाई, महिलालाई ४ माना । श्रमको विनिमय हुन्थ्यो । एउटाको घरमा अर्कोले काम गर्न जाने हुन्थ्यो ।’

२०६२/६३ पछि गरिबीको प्रतिशत गुणात्मक रूपमा घटेको वर्षमान पुनले दाबी गरे । ‘गरिबी नियन्त्रण गर्ने कुरा सरकारको मुख्य भूमिका हुनुपर्छ जस्तो मलाई । यसरी हेर्दा २०४६ अगाडिको ३० वर्षमा भएको प्रयत्न, त्यसपछि २०४६ देखि २०६२/२०६३ को १५ वर्ष र यताको वर्ष हेर्दा खेरि चाहिँ गुणात्मक रूपमा घटेको देखिन्छ । तर, हामी सन्तुष्ट हुने अवस्था होइन,’ उनले भने ।


Author

थप समाचार
x