प्रमुख समाचार

गण्डकी नयाँ सरकार गठन

जसपा विवाद : मन्त्री नपाए सरकारमा नजाने चेतावनी

इकागज |
जेठ २९, २०७८ शनिबार २०:२८ बजे

पोखरा : जनता समाजवादी संसदीय दल गण्डकीकी सचेतक धनमाया लामा पोखरेलले सरकारमा नजाने चेतावनी दिएकी छन् । पूर्व सहमति अनुसार दलका २ जना सांसदले एकसाथ शपथ नखुवाए सरकारलाई साथ नदिने उनले बताइन् । जनता समाजवादीका २ सांसदमध्ये हरिशरण आचार्यले आज शपथ लिने तयारी छ ।
 
कांग्रेस नेतृत्वको गठबन्धनमा जान आफूहरूले २ जना सांसद नै मन्त्री बन्‍ने सहमति गरेपनि अहिले आएर सहमति तोड्न खोजिएको उनले बताइन् । ‘हामीले पहिलाबाट नै २ जना नै सरकारमा जाने सहमति गरेको हो, तर आज उहाँहरू हुन्‍न भन्‍नुभएको छ,’ लामाले भनिन् । 

आफूहरूलाई पृथ्वीसुब्बा गुरुङको सरकारले नै ३ मन्त्रालय दिने अफर गरेपनि गठबन्धनमा भएको सम्झौता नतोडेको उनको दाबी छ । ‘पृथ्वीसुब्बाकै सरकारले ३ मन्त्रालय दिने कुरा थियो तर हामी गएनौं नि, सम्झौतामा अडिग रहनुपर्छ,’ उनले भनिन् ।
 
लिखित सम्झौता नभएसम्म जनता समाजवादी सरकारमा नजाने उनको दाबी छ । प्रदेश समितिको बैठकले आज गरेको निर्णय पनि त्यही रहेको उनले बताइन् । ‘हाम्रो आजको जुम मिटिङको पनि निर्णय त्यही थियो, २ जना नै जानुपर्छ भन्‍ने १ जनामात्रै गएपनि सरकारलाई साथ दिन सकिन्‍नँ,’ लामाले भनिन् ।
 
कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएपछि आज नै केही सांसद लिएर शपथ लिने तयारी छ । माओवादीबाट मधु अधिकारी, जनता समाजवादीका हरिशरण आचार्य र दीपक मनाङेलाई लिएर शपथ लिने मुख्यमन्त्रीको तयारी छ ।



Author

थप समाचार
x