प्रमुख समाचार

अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न सरोकारवालालाई गृहमन्त्रीको निर्देशन

इकागज |
साउन ३२, २०७८ सोमबार १८:२५ बजे

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले अफनिस्तानमा रहेका नेपालीलाई सुरक्षित स्वदेश फर्काउने पहल थाल्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले सोमबार परराष्ट्र मन्त्रालय, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारी र चार वटै सुरक्षा निकायका प्रमुखलाई मन्त्रालयमा बोलाएर निर्देशन अफनिस्तानमा रहेका नेपालीलाई सुरक्षित स्वदेश फर्काउने पहल थाल्न निर्देशन दिएका हुन् । 
 
गृहमन्त्री खाणले अन्तराष्ट्रिय समुदायसँग समन्वय गरी त्यहाँ रहेका नेपाली नागरिकला स्वदेश फर्काउने कार्ययोजना बनाउँदा उपयुक्त हुने बताए । 'नेपाल फर्काएपछि उनीहरूलाई कोभिड-१९ महामारीको सन्दर्भमा पीसीआर परीक्षण, होल्डिङ सेन्टर, क्‍वारेन्टाइनलगायतको व्यवस्था गरी उनीहरूलाई घरसम्म पुर्‍याउनेगरी कार्ययोजना बनाउनुपर्छ,' खाणले भने । 

मन्त्री खाणले मन्त्रीपरिषद् बैठकले आजै अफगानिस्तानबाट नेपालीको उद्धार गर्ने सन्दर्भमा आवश्यक निर्णय गरेको जानकारी दिए । सबै निकायबीच समन्वय र सूचना आदान प्रदान गरेर तत्काल प्रक्रिया सुरु गर्न उनले निर्देशन दिए । 


बैठकमा परराष्ट्रसचिव भरतराज पौडेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, नेपाली सेनाका उपरथी सरोजप्रताप राणालगायत विभिन्‍न मन्त्रालयका अधिकारीले अफगानिस्तानमा रहेका नेपालीहरूको अवस्था र उद्धारका सन्दर्भमा आवश्यक कामका विषयमा गृहमन्त्रीसमक्ष व्रिफिङ गरेका थिए । 


Author

थप समाचार
x