प्रमुख समाचार

पोखराको मणिपाल अस्पताल बतास समूह र अटोवेजले किन्यो

इकागज |
भदौ १०, २०७८ बिहीबार १६:५७ बजे

पोखरा- मणिपाल मेडिकल कलेज बिक्री भएको छ । निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो मेडिकल कलेज मणिपाल बिक्री भएको हो । मणिपाललाई पोखराका दुई व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले किनेका छन् । आनन्दराज बतासले बतास समुह चलाएका छन् भने नारायण पौडेलको अटोवेज ग्रुप छ । भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा मणिपाल सञ्चालन गरेको थियो ।

नेपाल सरकार र मणिपाल कर्मचारी युनियनले कलेज सञ्चालनमा सहयोग नगरेपछि आफ्नो लगानी झिकेर मणिपाल बाहिरिएको हो । मणिपाललाई पोखराका व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले संयुक्त लगानीमा किनेका हुन् । करिब सवा ३ अर्ब रुपैयाँमा यी दुई व्यवसायीले मणिपाल खरिद गर्ने प्रारम्भिक सम्झौता भएको थियो । अस्पताललाई ३ अर्ब २२ करोड ६० लाख रुपैयाँमा किनिएको हो ।


बतासले ६० प्रतिशत र पौडेलले ४० प्रतिशत लगानी गरेर अस्पताल किनेको पौडेलले बताएका छन् । कलेज र अस्पताल दुवैको मूल्यांकन गर्दा अस्पतालको मूल्य २ अर्ब २५ करोड छ । यसका साथै अस्पतालको ४० रोपनी जग्गा र ९७ करोड दायित्व गरेर सवा ३ अर्बमा अस्पताल बिक्री भएको हो । शुक्रबार भर्चुअल माध्यमबाट सेयर खरिद सम्झौता (एसपीए) हुँदैछ । स्वामित्व हस्तान्तरण एक महिनामै भइसक्ने पौडेल बताउँछन् ।

अस्पताल सञ्चालनका लागि आनन्दराज बतासको अध्यक्षतामा ४ सदस्यीय बोर्ड बन्ने छ । उपाध्यक्षमा नारायण पौडेल रहनेछन् भने सदस्यमा शान्ता बतास र बिपेन बतास हुनेछन् । मणिपाल ग्रुपले १९९२ मा नेपाल सरकारसँग सम्झौता गरेर मेडिकल कलेज स्थापना गरेको थियो । ७५० शड्ढयाको अस्पतालमा ११ सय कर्मचारी कार्यरत छन् । कलेजबाट वर्षेनी १ सय जना विद्यार्थीलाई एमबीबीएस पढ्ने अनुमति छ ।

मेडिकल कलेजलाई किनिसकेपछि प्यारामेडिकल कोर्स, बीडीएस अध्यापन गराइने जनाइएको छ । एक वर्षभित्रमा मणिपालमै मुटु र न्युरोको सेवा विस्तार गरिने पौडेलले बताए । पोखरा र पश्चिमका बिरामीलाई काठमाडौं जान नपर्ने गरी मणिपालमा पूर्वाधार विकास गरिने उनले उल्लेख गरे ।


Author

थप समाचार
x