प्रमुख समाचार

तटबन्ध चार ठाउँमा भत्किएर गाउँमा बाढी पस्यो, ९ सय बढी घर डुबानमा

सुभाष कर्ण |
भदौ १२, २०७८ शनिबार १०:५३ बजे

जनकपुरधाम- तीनदेखि निरन्तर भइरहेको वर्षाले आएको बाढीले प्रदेश-२ का महोतरी र सप्तरी जिल्लाका सयौँ घर डुबानमा परेको छ । पानीले जिल्लाको तिलगढस्थित रातु नदीको तटबन्ध भत्किँदा बलवा नगरपालिकाका विभिन्‍न वडामा गरि ९ सयभन्दा बढी घर डुबानमा परेको छ ।

तिलगढ र रौजासहित नदीको तटबन्ध विभिन्‍न चार ठाउँमा भत्केर गाउँमा पानी पस्दा बाढीले ९ सयभन्दा बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार बाढीको पानी नगरपालिका-४ को तिलगढ, भगवतीपुर र वडा नम्बर ११ रौजा बजार तथा गाउँमा पानी पसेपछि घरहरू डुबानमा परेको हो ।


तिलगढमा करीब ४०० मिटर र रौजा २ सय मिटरभन्दा बढी बाँध भत्केको छ । बाढीले गर्दा तिलगढ र रौजाका कयौँ वस्ती डुबानमा परेको छ । बाढीले बस्ती डुबेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाने काम जारी रहेको डिएसपी विष्टले बताए । तिलगढका केही घरमा अत्यधिक पानीको पसेकाले घरभित्र रहेकाहरुको उद्धार भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय एलर्ट भइसकेको र नेपाली सेना तथा अन्य सुरक्षा निकायको टोली परिचालन गरिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताएका छन् । बुधबार बिहानदेखि लगातार परेको पानीले जिल्लाको रातु, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदी तथा खोलामा बाढी आएको छ । बाढीले तटीय क्षेत्रका करिब दुई दर्जनभन्दा बढी गाउँ जोखिममा रहेका छन् ।

उता भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँसमेत डुबानमा परेको छ । जिल्लाको खाँडोखोलामा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्‍न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ ।

लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताए । पानीले बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ । राजविराज-तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बाढीले समेत क्षति पुर्‍याएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x