प्रमुख समाचार

लुम्बिनी प्रदेश सभा सदस्य रमा घर्तीले रोजिन् नेकपा (एकीकृत समाजवादी)

इकागज |
भदौ १५, २०७८ मंगलबार १८:२० बजे

बुटवल - लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रमा घर्ती मगरले नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् । उनी यसअघि पनि नेपाल समूहमा खुलेकी थिइन् ।  नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले नयाँ पार्टी रोजेकी हुन् । घर्ती समानुपातिकतर्फ पाल्पा सांसद भएकी हुन् ।

मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय दाङ पुगेर घर्तीले आफूले नेकपा (एकीकृत समाजवादी)पार्टी रोजेको जानकारी गराएकी छन् । आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर सनाखत भएको छ । आयोगले लुम्बिनी प्रदेश सभा सचिवालयलाई यसबारे पत्राचार गरेपछि प्रदेश सभामा कायम राजनीतिक दल र प्रदेश सभा सदस्यको अभिलेख अद्यावधिक गर्नेछ ।


योसँगै नेकपा (एकीकृत समाजवादी)ले लुम्बिनी प्रदेश सभामा खाता खोलेको छ । यसअघि पाँच दल रहेकामा अब प्रदेश सभामा प्रतिनिधित्व राजनीतिक दलको संख्या ६ पुगेको छ । घर्तीले एमालेका अरु केही सांसद पनि एकीकृत समाजवादीमा आउने दाबी गरिन् ।

एमालेबाट विभाजन भई नेकपा एकीकृत समाजवादीले दल दर्ताको प्रमाणपत्र पाएपछि एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म दल रोज्न पाउने व्यवस्था निर्वाचन आयोगले मिलाएको छ ।

पार्टी विभाजनपछि दुवै दलले जनप्रतिनिधिहरूलाई आफूतिर तान्ने कसरत गरिरहेका छन् । ८० सदस्यीय प्रदेश सभामा एमालेका ३७ सांसद थिए । घर्तीले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ भएको छ ।


Author

थप समाचार
x