प्रमुख समाचार

संवैधानिक परिषद् बैठकमा देउवा नजाने

इकागज |
मंसिर २७, २०७७ शनिबार १५:२३ बजे

काठमाडौँ : आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित नहुने भएका छन् । संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको बैठकमा देउवा नहुने जानकारी परिषद्लाई गराइएको हो । देउवाका तर्फबाट कांग्रेस नेता रमेश लेखकले २९ गते पार्टीको आन्दोलन तय गरिएको अवस्थामा त्यसको अघिल्लो दिन बोलाइएको परिषद् बैठकमा देउवा उपस्थित हुन नसक्ने जानकारी गराएका हुन् । 

केही समय अगाडि देउवा र प्रधानमन्त्री ओलीबीच भएको छलफलमा रिक्त संवैधानिक निकायमा नियुक्तिमा सहमति गर्न सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र कांग्रेसका तर्फबाट नेता लेखकलाई जिम्मेबारी दिइएको थियो । लेखकले बैठकमा देउवा उपस्थित हुन नसक्ने जानकारी शनिबार प्रधानमन्त्री ओलीलाई गराएका हुन् । 


कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले २९ गते प्रदर्शन राखेकाले २८ गतेको संवैधानिक परिषद् बैठक स्थगित गर्न आग्रह गरिएको बताए । ‘उहाँकै पार्टीको पनि बैठक छ, प्रतिपक्षी दलले २९ गते प्रदर्शन गर्ने कार्यक्रम यसअघि नै तय गरिसकेको छ । कार्यक्रमबारे योजना बनाइरहेका बेला परिषद् बैठक बोलाउने नियत सफा देखिँदैन,’ प्रवक्ता शर्माले इकागजसाग भने, ‘त्यसकारण परिषद बैठक स्थगन गर्न आग्रह गरिएको हो ।’

देउवाले स‌वैधानिक परिषद् बैठकमा जाने कि नजाने भन्‍ने विषयमा केही नेताहरूसँग छलफल गरेका थिए । कांग्रेस नेताहरूले २९ गते सरकारविरूद्ध देशव्यापी प्रदर्शन गर्न लागेको पूर्वसन्ध्यामा ओलीले परिषद बैठक बोलाएर लेनदेन गराई प्रदर्शनलाई प्रभावित पार्न खोजेकोले बैठकमा नजान सुझाएपछि देउवाले बैठकमा उपस्थित नहुने जानकारी गराएका हुन् । 

प्रवक्ता शर्माले प्रतिपक्षी दलको देशव्यापी कार्यक्रमलाई लक्षित गरी परिषद बैठक बोलाउने प्रधानमन्त्रीको नियत सफा नदेखिएको बताए । 

आइतबार प्रधानमन्त्री ओलीको पार्टी नेकपाकै पनि स्थायी समिति बैठक छ । उनले पार्टीको बैठक छल्नका लागि पनि बैठक बोलाएको हुनसक्ने शंका पनि कांग्रेस नेताहरूले गरेका छन् । 
संवैधानिक परिषद् बैठकमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४६ पद खाली छन् । 

लामो समय पदाधिकारीविहीन भएपछि ओलीले परिषद बैठक बोलाउन देउवासँग शुक्रबार छलफल गरेका थिए । 

याे पनि :

संवैधानिक अंगका उम्मेदवारको सूची प्रधानमन्त्रीको खल्तीमा, कसले मार्ला बाजी ?


Author

थप समाचार
x