प्रमुख समाचार

सत्ता गठबन्धन अवसरवादी र अनैतिक : एमाले महासचिव पोखरेल

इकागज |
भदौ ३१, २०७८ बिहीबार १८:३२ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले दश बुँदे सुझावलाई रचनात्मक ढंगले लागू गर्ने बताएका छन् । बिहीबार काठमाडौं जिल्ला समितिले आयोजना गरेको जिल्ला स्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा पोखरेलले पार्टीको एकतालाई मजबुद बनाउन तयार पारिएको दश बुँदे सुझावलाई पार्टीले सिर्जनात्मक र रचनात्मक ढंगले लागू गर्ने बताए ।

दश बुँदे कार्यान्वयनबाट पार्टी पछि नहट्ने उनको भनाइ थियो । एमालेलाई कानुनी अर्थ र मर्मका आधारमा २०७५ साल जेठ २ गतेको एमाले भए पनि वर्तमान एमाले भनेको एकतापछि बनेको विकसित एमाले नै रहेको उनले बताए । आजको आवश्यकता एकतापछि बनेको एमाले कै रहेको पनि उनले बताए । 


उनले भने, ‘पार्टी भित्रको एकतालाई बजबुद बनाउने उद्देश्यका साथ तयार पारिएको दश बुँदे सुझावलाई पार्टी केन्द्रले यिनै मान्यताका साथ स्वीकार गरेको हो । त्यहाँ उल्लेख भएका सुझावलाई सिर्जनात्मक ढंगले, रचनात्मक ढंगले लागु गर्ने हाम्रो प्रतिबद्धता हो । त्यो प्रतिवद्धताबाट पार्टी नेतृत्व किञ्चित मात्रै पनि पछि हट्दैन ।'

महासचिव पोखरेलले पार्टी एकताको प्रमुख सर्त पार्टीको पक्षमा दृढतापूर्वक उभिनु रहेको बताए । कुनै पनि शर्त राखेर पार्टीको पक्षमा नउभिने कुरा एकताको पक्षपाती हुन नसक्ने उनले बताए । उनले गुटबन्दीमा संलग्‍न भएर पार्टीलाई कमजोर बनाउने, पार्टीप्रति अनास्था फैलाउने तथा फुट र विभाजनकारी गतिविधिलाई सहयोग पुर्‍याउने कुरालाई कुनैपनि हालतमा स्वीकार गर्न नसकिने बताए । 

उनले भने, ‘एकताको लागि प्रमुख शर्त भनेको के हो भने, एकताको कुरा भनेको एउटै कुराले निर्धारण गर्दछ । पार्टीको पक्षमा दृढतापूर्वक हामी उभिन्छौ कि उभिदैनौँ । इफ, बट लगाएर पार्टीको पक्षमा दृढतापूर्वक नउभिने कुरा हुन्छ भने हामी एकताको पक्षपाती हुन सक्दैनौँ । हामीले जब एकताको कुरा गरेको छ भने पार्टीको पक्षमा दृढतापूर्वक उभिनु पर्दछ ।'

महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धन अवसरवादी र अनैतिक भएको बताए । गठबन्धन संविधान, कानुन, लोकतान्त्रिक मूल्य मान्यताको विपरीत गएको उनको भनाइ छ ।

उनले एमालेलाई आगामी दिनमा सुदृढ बनाउनविचारमा स्पष्टता हुनुपर्ने, पार्टी संगठन राज्यको संरचनासँग मिल्नेगरी बनाउनुपर्ने, पार्टीलाई विधिसम्मत् ढंगले चलाउनुपर्ने, पार्टी सदस्यको वृद्धि र गुणस्तरीयता साथै आर्थिक सामाजिक विकासमा अगुवाइ गर्ने पार्टी बनाउनुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x