प्रमुख समाचार

संसद् विघटनपछि प्रधानसेनापति थापा जुटे छलफलमा

इकागज |
पुस ५, २०७७ आइतबार १५:४९ बजे

काठमाडौँ :  नेपाली सेनाले प्रमुख सैनिक अधिकृतहरू (पीएसओज) को बैठक बोलाएर  सुरक्षा चुनाती र प्रभावबारे छलफल गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद् विघटन गरेलगत्तै मुख्यालय जंगी अड्डा भद्रकालीमा उक्त कदमपछि मुलुकमा पर्न सक्ने सुरक्षा चुनौती र प्रभावहरूको विषयमा छलफल भएको सैन्य अधिकारीले जानकारी दिए । राष्ट्रपति सेनाका परमाधिपति समेत हुन् ।

जंगी अड्डामा बैठकसँगै प्रधानसेनापति पूर्णचन्द्र थापाले उपत्यका बाहिर रहेका सात पृतनपतिसँग भिडियो कन्फरेन्समार्फत् र उपत्यकाकासँग प्रत्यक्ष छलफल गरेका  छन् । उपत्यका पृतनाका प्रमुख ज‌ंगी अड्डामै सहभागि भएका थिए । सेनालाई प्रधानमन्त्रीको तयारी बारेमा जानकारी रहेकाले नै सिफारिसलगत्तै बैठक बसेका हो । प्रधानसेनापतिले आवश्यक परे नेपाल प्रहरी र सशस्त्र प्रहरी वलका प्रमुखसँग पनि छलफल गर्नेछन् । 


सबै  स्थानको सुरक्षाबारे जानकारी लिने सेना प्रमुखको दायित्व पनि हो । सैनिक प्रवक्ता एव‌ं सहायक रथी सन्तोषवल्लभ पौडेलले उक्त बैठक सेनाको नियमित भए पनि अहिले भएको घटना र मुलुकको सुरक्षाको विषयमा समेत प्रमुख सैनिक अधिकारीहरूबीच छलफल भएको बताए । ‘जंगीअड्डाको यो नियमित बैठक नै हो । यसलाई नियमित प्रक्रियाको रूपमा लिन सकिन्छ । आन्तरिक नीति र नियमहरूकै बारेमा छलफल हुन यी बैठक नियमित रूपमा हुने गर्छन्,’ उनले भने, ‘विकसित घटनाक्रमको बारेमा पनि छलफल स्वभाविक हो । नयाँ घटनाक्रमबाट उत्पन्‍न हुनसक्ने सुरक्षा चुनौती नै हाम्रो चासो हो ।’

नयाँ घटनाक्रमसँग मुलुकमा आउन सक्ने सुरक्षा चुनौतीकालागि नेपाली सेनाले सार्वजनिक सुरक्षा ऐन-२०२८ अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सहयोग गर्नेछ । प्रधानसेनापतिले यसअघिको विभिन्‍न पृतनाहरूको भ्रमण गरेका थिए । त्यो समयमा पनि उनले सहकार्य गर्ने विषयमा त्यहाँका स्थानीय अधिकारीसँग छलफल गरेका थिए ।  


Author

थप समाचार
x