प्रमुख समाचार

बुटवलमा नेकपा (ओली समूह)को शक्ति प्रर्दशन

महासचिव पौडेलले भने–पार्टीमाथि शीर्ष नेताहरूले धारिलो हतियार प्रहार गरे

बिक्रम खड्का |
पुस १९, २०७७ आइतबार १६:३२ बजे

बुटवल : नेकपा (ओली समूह)ले आइतबार बुटवलमा शक्ति प्रदर्शन गरेको छ । ओली समूहले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरूको उपस्थितिमा बुटवलमा शक्ति प्रदर्शन गरेको हो । 

शक्ति प्रदर्शनपछिको सभालाई महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, स्थायी समिति सदस्य एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेल, छविलाल विश्वकर्मालगायतका नेताहरूले सम्बोधन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले वाध्यताबस प्रतिनिधि सभा विघटन गरेको उनीहरूले बताए । 


सभामा महासचिव पौडेलले भावनामा बगेर केही नेताहरूले बाटो विराएको बताए । बाटो बिराएकाहरू केही समयमै मुल घरमा फर्किने उनको दाबी थियो । उनले पार्टीमाथि शीर्ष नेताहरूबाटै धारिलो हतियार प्रहार गभएको भन्दै त्यसको प्रतिवाद जनताबाट खोजिने बताए । 

उनले पुष्पकमल दाहालका कारण पार्टी एकीकरण भएर पनि लामो समय टिक्न नसकेको बताए । सहमतीको मसी सुक्न नपाउँदै उल्टाउने काम दाहालले गरेको पौडेलको आरोप छ । नेताहरूमा देखिएको पदीय मोहका कारण नेकपा विभाजनको अवस्थामा पुगेको उनले बताए । 

उर्जामन्त्रीसमेत रहेका स्थायी समिति सदस्य रायमाझीले दाहाललाई पार्टी संचालन गर्न कार्यकारी अधिकार दिंदा पनि प्रधानमन्त्री पदमाथि आँखा गाडेको बताए । दाहालले पार्टी एकीकरणको काम पूरा गर्नतर्फ भन्दा प्रधानमन्त्री बन्ने तर्फ ध्यान दिएकाले समस्या भएको उनको भनाइ थियो । 

आफ्नै पार्टीको सरकारलाई असहयोग गर्ने प्रतिनिधि सभा भंग गर्नु अग्रगमन भएको दाबी उनको छ ।  दाहाललाई ३३ वर्ष सम्म टिका लगाएर अध्यक्ष बनेको आरोप लगाउंदै रायमाझीले जनयुध्दमा बन जङ्गलमा भेटेका जस्लाई पनि टिका लगाएर केन्द्रीय सदस्य बनाइएको बताए । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दाहाल-नेपाल समूहलाई कार्यकर्ताबिनाको नेताहरूको झुण्ड भएको आरोप लगाए । पोखरेलले पार्टी निर्माण गर्ने कार्यकर्ता आफुहरूसँग रहेको दाबी गरे । 
पोखरेलले दाहाल–नेपाल समूह निर्वाचनसँग डराएर हामी यहाँ छौ भनेर सडकमा बसेको आरोप लगाए । 

पोखरेलले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा २ तिहाई भएकै बेला विघटनको सिफारिस गरेकाले वैधानिक रहेको दाबी गरे । 


 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x