प्रमुख समाचार

गण्डकी प्रदेशसभामा कोभिड-१९ नियन्त्रण गर्न सबै दल एकै ठाउँ

अनिष भट्टराई |
माघ ४, २०७७ आइतबार १९:५१ बजे

पोखरा : गण्डकी प्रदेश सभामा आइतबार कोरोना नियन्त्रणसम्बन्धी सर्वदलीय सहमतिमा संकल्प प्रस्ताव पेस भएको छ । प्रदेशको चालू विशेष अधिवेशनको पाँचौं बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरलेले प्रस्ताव पेस गरेका हुन् । प्रस्तावको जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्य, नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, नेकपा सांसद गायत्री गुरुङ र राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा समर्थक छन् । 

कोरोना नियन्त्रणमा सरकारलाई सकारात्मक सुझाव, दिशा निर्देश गर्ने गरी सबै दलबीच साझा संकल्पको प्रस्ताव ल्याउने निर्णय भएबमोजिम प्रस्ताव ल्याइएको हो । 


प्रस्ताव पेस गर्दै सांसद पोखरेलले गण्डकी प्रदेश सरकार काममा भन्दा आत्मप्रचारमा लागेकाले संकल्प प्रस्ताव ल्याइएको बताए । महामारीमा जनताका समस्याको पहिचान गरी समाधान गर्नुपर्नेमा सरकार गैरजिम्मेवार बनेको उनले बताए । ‘सरकार केबल प्रचारबाजीमा लाग्यो, जनताको समस्यको पहिचानमा लागेन,’ उनले भने, ‘प्रतिपक्षीको सुझावलाई पनि आत्मसात गरिएन, निर्णय गर्ने लागु नगर्ने प्रवृत्तिमात्र देखाइयो ।’
 
पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेशको काम कारबाहीमा उल्झन ल्याएको उनले बताए । कोरोना नियन्त्रणमा प्रयोग गर्ने भनिएको कोरोना कोषको रकम पनि जनताका लागि खर्च हुन नसकेको उनको अर्को आरोप थियो । ‘जनतासँगै रकम उठाएर सबल बनाइयो, करोडौं रकम कोरोना कोषमा राखियो, तर जनताका लागि प्रयोग गरिएन,’ पोखरेलले भने । 

बैठकमा पोखरेलले प्रस्ताव राखेपछि बोल्न रोस्टममा पुगेकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले सरकारले सकेजति काम गरिरहेको र विपक्षीले भनेझैं काम नै नभएको कुरा गलत रहेको सुनाइन् । 
मन्त्री पुनले कोरोना आउने बेला गण्डकीमा अस्पताल, जनशक्ति, बजेट, आइसोलेसन केही पनि नरहे पनि आफूहरुले व्यवस्थापन गर्दै कोरोनासँग लडेको बताइन् । सीमित स्रोत साधनको अधिकतम प्रयोग गरिएको मन्त्री पुनको तर्क थियो । सुरुमा आफूहरुले मुख्यमन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशन समिति, मन्त्रीस्तरीय अनुगमन तथा समन्वय र कोष व्यवस्थापन समितिसँगै ११ समिति बनाएर काम गरेको बताइन् । 

कोभिड खोप व्यवस्थापनका लागि केन्द्रसँग आवश्यक समन्वय गरिरहेको उनले सुनाइन् । पोखरामा भण्डारण गृह बनिरहेको र फ्रिजसहितको ट्रक तयारी अवस्थामा राखिएको मन्त्री पुनले बताइन् । ‘दोस्रो चरणमा आउने खोपका लागि १ वाक इन कुलर र १ वाक इन फ्रिजर सञ्चालनमा ल्याइने छ,’ उनले भनिन् । 

नेकपा प्रमुख सचेतक मायानाथ अधिकारीले ‘हल न चल’ को अवस्थाका सरकारी अस्पताललाई उठाएर प्रदेश सरकारले संयमतासाथ कोभिडसँग लडेको बताए । 

राष्ट्रिय जनमोर्चाकी पियारी थापाले कोभिडबारे संकल्प प्रस्ताव ल्याउन ढिला भएको प्रतिक्रिया दिइन् । कोभिडको पहिलो बिरामी गण्डकी प्रदेशमा २०७६ चैत १८ गते फेला परेकी थिइन् । त्यसलगत्तै गण्डकीमा साझा प्रस्ताव ल्याइनुपर्नेमा १० महिना ढिला गरी प्रस्ताव ल्याइनु बिडम्बनापूर्ण रहेको उनको तर्क थियो । 

नेकपाका राजीव पहारीले सबै भइसकेको काम समावेश गरेर संकल्प प्रस्ताव ल्याइएको टिप्पणी गरे । 

कांग्रेसका विष्णुप्रसाद लामिछानेले संसदीय अनुगमन समितिमार्फत काम गर्दा सरकारझनै जवाफदेही बन्ने र कोरोनासँगको लडाइँमा प्रदेश सभा एक ढिक्का छ भन्ने सन्देश गएको सुनाए । 

नेकपाका दीपक घर्ती मगरले अहिले पार्टीहरू राजनीतिक दोहोरीमा भन्दा कोरोनाविरुध्द लड्न एकजुट हुनुपर्ने बेला आएको बताए । संकल्प प्रस्तावमा सरकार ढृड रहेमा कोरोना नियन्त्रणमा आउन सक्ने उनको तर्क थियो । 

कांग्रेसका प्रकाशचन्द्र दवाडीले कोरोना कोषको खर्चबारे विस्तृत विवरण दिन माग गरे । कांग्रेसकै सांसद मेघराज श्रेष्ठले बल्ल कोरोना नियन्त्रण र संकल्प प्रस्तावबारे सरकारको आँखा खुलेको बताए । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले मुख्य ४ विषयमा छलफल हुनुपर्ने मागसहित विशेष अधिवेशनको माग गरेका थिए । बजेट कार्यान्वयन, बेरोजगारी र महँगी र कोरोना नियन्त्रणका विषयमा छलफल हुनुपर्ने प्रतिपक्षीको माग थियो । तीमध्ये कोरोना नियन्त्रणबाहेक अरु ३ विषयलाई जरुरी सार्वजनिक महत्वको प्रस्तावका रुपमा प्रदेशसभामा छलफल भइसकेको छ । 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x