प्रमुख समाचार

प्रदेश-१ मा कांग्रेसले अविश्‍वास प्रस्ताव सदनमा टेबल भएपछि निर्णय गर्ने

लीलावल्लभ घिमिरे |
माघ ६, २०७७ मंगलबार १६:७ बजे

विराटनगर : नेपाली कांग्रेस प्रदेश-१ संसदीय दलले सदनमा अविश्‍वासको प्रस्ताव टेवल भएपछि मात्र निर्णय लिने भएको छ । भोली देखि सुरु हुने प्रदेश सभा बैठकमा आफ्नो रणनिति तयार गर्न मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । ‘अहिले निर्णय गर्दा हतार हुन्छ,’ दलका नेता राजिव कोइरालाले भने, ‘सदनमा अविश्वासको प्रस्ताव दर्ता भएपछि मात्र ठोष निर्णय लिन्छौं ।’ 

नेकपाका ३७ जना सांसदलले मुख्यमन्त्री शेरधन राईविरुध्द प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराँउदै दलको नयाँ नेतामा भीमप्रसाद आर्चायको नाम प्रस्ताव गरेका थिए । अविश्‍वासको प्रस्तावमा दर्ता गर्नेमध्ये ५ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् । 


प्रदेश-१ मा अविश्वासको प्रस्ताव पास/फेल जे गर्न पनि कांग्रेसको साथ आवश्यक छ । प्रदेश सभामा रहेको ९३ सांसद छन् । सरकार बनाउन आवश्यक बहुमत पुग्‍न ४७ मत आवश्यक पर्छ । कांग्रेसको प्रदेश सभामा भएको २१ मत निर्णयक हुन्छ । आज कांग्रेस दलको बैठकले निर्णय गर्ने आसमा नेकपाका दुवै समूह थिए । 

दलको बैठकमा नेता राजिव कोइराला र प्रमुख सचेतक केदार कार्कीले अविश्‍वासको प्रस्ताव दर्ता भएपछि अहिलेसम्म दुवै समूहसँग भएका वार्ताबारे जानकारी गराएका थिए । ‘केन्द्रबाट पनि निर्णय आइसकेको छैन,’ नेता कोइरालाले भने, ‘बैठकमा बोल्ने सदस्यहरू पनि बाँकी हुनुहुन्छ । बैठक भोलिपनि बस्छ ।’
 
अविश्‍वासको प्रस्ताव गर्दा गराउने नेकपा (दाहाल-नेपाल समूह)को बैठक जारी छ । बैठकमा ३२ जना सांसदको उपस्थिति रहेको छ । बैठकमा दलका उपनेता टंक आङबोहाङ र उशाकला राई सहभागी छैनन् । आफ्नो रणनिति बनाउन मुख्यमन्त्री शेरधन राई समूह पनि अनौपचारीक छलफलमा छ । प्रदेश-१ को प्रदेशसभा बैठक बुधबार बोलाइएको छ । 
 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x