प्रमुख समाचार

सुरक्षाकर्मी र तस्करको सेटिङले अस्तव्यस्त बेलहिया नाका

यी हुन् सुनौली भन्सारमै हजारौँ गाडी रोकिनुका मुख्य कारण

बिक्रम खड्का |
माघ ७, २०७७ बुधबार ८:४३ बजे

बुटवल : आयातको हिसावले रुपन्देहीको बेलहिया भन्सार नाका नेपालकै दोस्रो ठूलो नाका हो । जसको वार्षिक राजस्व असुलीको लक्ष्य मात्रै ९८ अर्र्ब भन्दा बढी छ । जहाँ दैनिक औषतमा ५ सय भन्दा बढी मालवाहक गाडी भित्रिन्छन् । 

तर त्यो भन्दा ठूलो संख्यामा नेपाल आउनु पर्ने गाडी भारतीय भूमि सुनौली नाकामा रोकिने गरेका छन् । नेपाल आउनका लागि लामबध्द सवारीकोे लस्कर झण्डै १० देखि १२ किलोमिटर टाढासम्म लाग्ने गरेको छ । नेपालतर्फ आउने सवारीको लामो लाइनका कारण यात्रासमेत असहज हुने गरेको छ । 


आखिर नेपाल आउनका लागि कानुनी प्रक्रिया पूरा गरेका गाडी भारतीय भूमिमा किन रोकिन्छन् ? भारतीय भूमिमा नेपाली गाडी रोकिनुमा दोष कसको ? यस विषयमा दुवै पक्षले आ-आफ्नै गर्दै आएका छन् ।

नेपाली पक्षकै ढिलासुस्तीका कारण भन्सारमा गाडीको लाइन लाग्ने गरेको भारतीय पक्षको दाबी छ । तर भारतीय भन्सार कार्यालयका प्रतिनिधिहरु भने खुलेर बोल्न चाहदैनन । उनीहरुले यो विषयमा कुरा गर्ने अधिकार आफुहरुसँग नभएको प्रतिक्रिया दिएर टार्ने गरेका छन् । 

यता नेपाली पक्ष पनि भारतलाई मात्रै दोष देखाइरहेको छ । सुनौली नाका अस्तव्यस्त हुनुमा भारतीय पक्षले सधै अवरोध खडा गरिरहेको नेपाली भन्सारका अधिकारीहरुको भनाई छ । जसमध्ये मुख्य चार वटा कारण यसप्रकार छन् :

संयुक्त भन्सार चेकपोष्ट नबन्नु 

नेपाल-भारतबीच २०६४ सालमा भएको सहमतिअनुसार मुख्य भन्सार नाकामा संयुक्त चेकपोष्ट हुनुपर्ने होे । सोही सहमतिका आधारमा वीरगञ्ज र विराटनगरमा संयुक्त चेकपोष्ट निर्माण भएका हुन् । 

नेपालगञ्जको चेकपोष्ट निमार्णको चरणमा छ । तर बेलहियामा चेकपेष्ट बन्ने सुरसार छैन । चेकपोष्ट निमार्णका लागि नेपालले आफ्नोतर्फ ५२ विघा जग्गा अघिग्रहण गरेर राखेको छ । तर भारतीय पक्षले यस विषयमा कुनै गृहकार्य गरेको छैन । गाडी जाँचका लागि राखिने याडहरू प्रयाप्त नहुँदा मालवाहक गाडी सडकमा रोकिनु परेको भन्सारका कर्मचारी बताउँछन् । 

संयुक्त भन्सार चेकपेष्ट निमार्णका लागि आफूहरू तयार रहे पनि भारतीय पक्षले चासो नदिएकोे भैरहवा भन्सार कार्यालयका प्रवक्ता पूर्ण लम्सालले बताए । कर्मचारीहरूले निरन्तर काम गरे पनि साँघुरो चेकपोष्टका कारण सबै गाडी एकै दिन नेपाल प्रवेश गर्न नसकेको उनको तर्क छ । 

‘हामीले सम्भव भएसम्म त गरेकै छौं । तर भारतीय पक्षकै कारण सिमानाका अस्तव्यस्त हुन गएको छ’ लम्सालले भने । सुनौलीतर्फ नेपालीभन्दा पनि भारतीय पक्षकै बढी कमजोरी रहेको उनको दाबी छ ।

सुरक्षाकर्मी र तस्करको सेटिङ 

भन्सारमा सवारीको लाम भए पनि कतिपय सवारी भने सुटुक्क नेपाल प्रवेश गर्छन् । भारतले नाकाबन्दी गरेका बेला मालवाहक सवारीहरू लुकेर नेपाल आउँथे । सिमानामा तस्करदेखि सुरक्षाकर्मीसँगको सेटिङमा पैसा तिरेर भारतीय गाडीले नेपाल प्रवेश पाउथे । सामान छिटो नेपाल आइपुग्ने लोभमा नेपाली व्यापारीहरूले उनीहरूलाई घुस दिन्छन् । 

उनीहरूको कमाउ धन्दा अहिले पनि जारी रहेको व्यापारीहरू बताउँछन् । अहिले उनीहरूले खुला रूपमा पैसा माग्न थालेको व्यापारीहरूको भनाइ छ । भारतीय सुरक्षा अधिकारी, भन्सार एजेन्ट र तस्करहरूले गाडीको सेटिङ मिलाए वापत पैसा माग्ने गरेको बुटवलका व्यापारी अग्नी बस्नेत बताउँछन् । 

उनकाअनुसार पैसा दिएपछि लस्करमा बस्नै पर्दैन । राति नै नेपाल भित्रिन्छन् । ‘सेटिङ मिलाउन सकिएन भने एक हप्ता लट्काई दिन्छन्, सेटिङ मिलाएर एकै दिनमा पनि गाडी पास गराउन सकिन्छ’ उनले भने । 

सामान आइपुग्दा पनि व्यापारी भन्सारमा नपुग्‍नु

नेपाली व्यापारीहरूले समान भन्सारमा आउने बेलासम्म महसुल लिएर सामान बुझ्न पुग्नु पर्छ ।  कतिपय समान खरिद गर्दाको मूल्यभन्दा भन्सार महसुल दोब्बर बढी हुन्छ । त्यसका कारण पनि उनीहरूले ठूलो रकमको जोहो गर्नु पर्छ । 

क्रणका लागि व्यापारीले बैंक धाउँदा ढिलो हुन्छ । गाडीहरूको हकमा यस्तो अवस्था पनि देखिएको भैरहवा भन्सार क्षेत्रमा कार्यरत भन्सार एजेन्ट विमल पन्थीले बताए । उनले भने, ‘समान लिएर गाडी नाकामा आएको जानकारी गराउँदा व्यापारीले पैसा जुटाउदै छु, केही दिन रोक्नुस् भन्ने गरेका उदाहरण पनि छन् । यसका कारण पनि भन्सारमा गाडीहरू होल्ड हुन्छन् ।’

सिदार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले कोभिडका कारण अस्तव्यस्त बनेको उद्योग व्यवसायलाई भन्सारमा राहत दिनुको साटो आहत मिल्ने गरेको बताउँछन् । बैंैकको आश्वासन लिएर समान अर्डर गरे पनि समयमा पैसा नपाउँदा समस्या आउने गरेको उनको भनाइ छ । 

अव्यवस्थित पार्किङ

भैरहवा भन्सारको अव्यवस्थित पार्किङले सिमानाकामा सवारी जाम बढ्ने गरेको छ । यसै कारण भारतीय सुरक्षाकर्मीले सीमा मालवहाक सवारीसाधन प्रवेशमा अवरोध गर्ने गरेको छ । तर पार्किङ व्यवस्थापन कसैको प्राथमिकतामा छैन् ।

आवश्यक कागजात पूरा गरेका मालवहाक सवारीसाधनलाई नेपाल प्रवेशमा कुनै अवरोध नहुनु पर्ने हो । तर भारतीय सुरक्षाकर्मीका कारण सवारी आवागमन असहज हुने गरेको छ । भारततर्फको भन्सार कार्यालयले पनि निर्यातको बिल बनाउन दिनभरी समय लगाइदिन्छ । अहिले पनि नेपालतर्फ पार्किङको समस्या देखाउँदै अतिरिक्त रकम उठाउने गरेको एजेण्टहरूको आरोप छ । 

पाँच वर्षअघि बेलहिया नाकाबाट करिब तीन सय मालबाहक सवारीसाधन नेपाल प्रवेश गर्थे । अहिले संख्या दोबर बढेको छ । संख्या बढेपनि पार्किङ विस्तारको काम कसैको प्राथमिकतामा परेको छैन । बिहान ६ बजे सीमाको छेकाबार खुलेपछि भारतबाट गाडी प्रवेश सुरु हुन्छ । बिहानैबाट गाडी भित्रिए पनि नेपालमा एक बजेपछि मात्र काम गर्न सुरु हुन्छ ।

भन्सारको पार्किङ एक हजार क्षमताको हो । याडमा करिब दुई हजार बढी गाडी रोकेर राखिन्छ । यसमाथि भित्रिएका नयाँ सवारीसाधन समयमा जाँचपास हुँदैनन् । क्षमता भन्दा बढी सवारीसाधनले पार्किङ अस्तव्यस्त बनेको छ । भारतमा हुने अवरोध र नेपालमा प्रज्ञापनपत्र पास गर्न गरिने ढिलाइले उद्योगी व्यवसायीले विलम्ब शूल्क वापत् करोडौँ रकम गुमाएका छन् । 

यसले ढुवानी गरिएका सामानको लागत बढाएको छ । भैरहवा भन्सारले दैनिक ३० करोड बढी राजश्व संकलन गर्छ । जसरी सरकारले राजश्व संकलनलाई प्राथमिकतामा राखेको छ, त्यसरी नै सीमा नाकामा हुने गैर भन्सार क्रियाकलाप रोक्न पनि पहल थाल्नुपर्ने देखिन्छ ।

करोडौ नोक्सानी 

मालवाहक गाडी सीमामा रोकिदा ठूलो आर्थिक नोक्सानी हुने गरेको छ । कोरोना महामारीपछि राहत महसूस गर्न थालेका व्यवसायीले यहीँ कारण दैनिक करोडौँ रकम गुमाउनु परेको गुनासो गरेका छन् । 

एक दिन समय लम्बिदा बिलम्ब शूल्क वापत् एउटा सवारीले १० हजार रुपैयाँसम्म रकम बुझाउनु पर्छ । यसरी रोकिएका गाडीहरू भारततर्फ करिब एक हजार छन् । भारतमा हुने अवरोधका कारण व्यवसायीहरूले दैनिक एक करोड बराबरको क्षति व्यहोर्दै आएका छन् । 

लक्ष्य असुलीमा सफलता 

कोभिड महामारीमा पनि भैरहवा भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्ने देखिएको छ । ९८ अर्ब राजस्व उठाउने लक्ष्य लिएको भन्सार कार्यालय पछिल्लो ६ महिनाको असुली हेर्दा लक्ष्य प्राप्तिकै दिशामा देखिएको छ ।

प्रवक्ता लम्सालले ६ महिनाको अवस्था हेर्र्दा १ सय ६ प्रतिशत लक्ष्य असुली भएको बताए । उनले पछिल्लो समय उद्योगका सामानहरू तथा गाडीहरूको आयात अनपेक्षित रूपमा बढिरहेको पनि बताए । सरकारले गाडीलगायतका समाग्रीको आयातमा उच्च भन्सार शूल्क तोकेको छ । जस कारण लक्ष्य भेटाउन भैरहवा भन्सार कार्यालय सफल हुने देखिएको छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x