पशुपतिमा सुनको जलहरी काण्ड
भण्डारी भन्छन्- ‘हामीलाई खबर नगरी राख्न लागिएको सुनको जिम्मा लिन सक्दैनौँ’
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्न निर्देशन दिएपछि पशुपतिका भण्डारीहरू रुष्ट बनेका छन् । यसअघि शिवलिंगमा चाँदीको जलहरी थियो । प्रधानमन्त्री ओलीले माघ १२ गते पशुपतिमा दर्शन गर्दै शिव लिंगवरिपरि पानी झर्ने ठाउँमा राखिएको चाँदीको जलहरी हटाई सुनको जलहरी राख्न तत्काल ३० करोड रूपैँया दिने घोषणा गरेका थिए ।
त्यसैअनुरुप पशुपति क्षेत्र विकास कोषले आउँदो शिवरात्री (फागुन २७ गते) सम्म सुनको जलहरी राख्ने तयारी गर्न लागेको हो । तर पशुपतिको रेखदेख गर्ने मुख्य जिम्मेवारी पाएका भण्डारीहरूसँगै सल्लाह नगरी सुन राख्ने निर्णय गरेकोले यस विषयमा रुष्ट बनेको भण्डारीमध्येका एक हरिशरण राजभण्डारीले बताए ।
‘पशुपति संरक्षणको जिम्मा हाम्रो हो,’ उनी भन्छन्, ‘तर यो विषयमा भण्डारीहरूसँग सल्लाह नै भएको छैन । भण्डारी नभएको बेलामा सुन राख्न लागिएको छ । त्यसैले हामी विरोधमा छौँ ।’ पशुपतिमा गर्भगृह छ । जसको आधारमा यहाँ दुई घेरा छ । पहिलो पूजारीको र दोस्रो भण्डारीहरूको । गर्भगृहभित्र पूजारी बस्छन् र गर्भगृहभन्दा बाहिर भण्डारीहरू । त्यस्तै पशुपतिमा भण्डारीहरूको चारवटा कबल छ । कबलमा १०४ भण्डारी छन् ।
पशुपतिको भण्डारको रेखदेख गर्ने, पूजाका लागि तयारी गर्ने मुख्य जिम्मेवारी भण्डारीहरूको भए पनि पशुपतिको गर्भगृहमा प्रवेश गर्न पाउँदैनन् उनीहरू । तर पालैपालो उनीहरू मन्दिरको रेखदेखको काम गर्छन् । चारवटा कबलबाट महिनामा चार भण्डारीको मन्दिर संरक्षणको पालो पर्छ ।
तर यिनै भण्डारीहरूलाई जानकारी नै नदिई पशुपतिमा राख्न लागिएको सुनको संरक्षण गर्ने जिम्मा कसको भनेर निक्र्यौल हुनुपर्ने उनीहरूको माग छ । त्यस्तै उनले गुह्येश्वरीमा पनि केही समयअघि सुन हराएको प्रसंग समेत कोट्याए । कोषका कार्यकारी निर्देशक रमेश कुमार उप्रेतीले २०७५ भदौ ६ गते गुह्येश्वरी मन्दिरको अष्टदल मूर्तिमा साविक ३७९ तोला भएकोमा अहिले २९४ मात्रै बाकी रहेको र भैरवको मूर्तिमा साविक ३३४ तोला भएकोमा अहिले २४५.५ तोला रहेको भन्दै पूजारी सुमन कर्माचार्यको नाममा नपुग १७३.५ तोला सुनको सत्यतथ्य खुलाउन पत्र पठाएको थियो । त्यसपछि सुनकै कारण पूजारीहरू र त्यहाँका रेखदेखकर्तामाथि आरोप-प्रत्यारोप सिर्जना भएको थियो ।
यही प्रसंग कोट्याउँदै उनले भने, ‘हामी विकास विरोधी होइन । तर गुह्येश्वरीमा जस्तै यहाँ पनि सुन तल-माथि भयो भने त्यो आरोप हामीमाथि आइपर्छ । खाने विकास कोष अनि त्यसको संरक्षणको जिम्मा चाहिँ भण्डारीको थाप्लोमा थोपर्न पाइँदैन । हामी त्यो सुनको जिम्मा लिन सक्दैनौँ ।'
त्यस्तै प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा १२ ले पनि यस्ता कार्यलाई रोक लगाएको छ । त्यसमा भनिएको छ- ‘कुनै प्राचीन स्मारकलाई नष्ट गरेमा, भत्काएमा, हटाएमा, परिवर्तन गरेमा, विरुप पारेमा वा चोरी गरेमा त्यस्तो प्राचीन स्मारकको बिगो बमोजिम रकम असूल उपर गरी पच्चीस हजार रूपैँयादेखि एक लाख रूपैँयासम्म जरिवाना वा पाँचवर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुबै सजाय’ हुनेछ ।
त्यस्तै ऐनमा संरक्षण शब्दले पनि पुरानो हटाएर नयाँ राख्ने कुरालाई समर्थन गरेको छैन । ऐनमा भनिएको छ- संरक्षण भन्नाले संरक्षित स्मारकलाई बार्ने, ढाक्ने, मर्मत गर्ने, सफा राख्नेसमेतको प्रबन्ध गरी स्मारकलाई मौलिक रूपमा दुरुस्त राख्ने काम सम्झनुपर्छ ।’
त्यस्तै पशुपति विश्व सम्पदा सूचीमा समेत सूचीकृत छ । विश्व सम्पदाको मापदण्डले पनि यस्ता कार्यलाई रोक लगाएको छ । पशुपतिमा मनलाग्दी गर्न नपाउने समेत हरिशरणले बताए । ‘हामी प्राचीन स्मारक संरक्षण ऐन र विश्व सम्पदा सुचीको मापदण्ड भित्र घेरिएका छौँ । त्यसअनुसार शिव लिंग जस्तो थियो, त्यस्तै राख्नुपर्छ,’ उनी प्रश्न गर्छन्, ‘इच्छा लाग्यो भन्दैमा सुनैसुनले ढाकिदिन हुन्छ र ?’
र, यो पनि
- लथालिंग पशुपति, जता हेर्यो उतै विवाद
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया