प्रमुख समाचार

भाेलि मेलम्चीको पानी बागमतीमा बग्‍ने

इकागज |
फागुन २१, २०७७ शुक्रबार १७:२३ बजे

फाइल तस्बिर

काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणपछि त्यहाँ जम्मा भएका पानीलाई वागमतीमा शनिबार बिहान छोडिने भएको छ । खानेपानी मन्त्री मणिचन्द्र थापा र सचिव माधव बेल्वासेसहितको टोलीले आयोजनास्थल मेलम्ची पुगेर फागुन १० मा सुरुङमा पानी भर्ने कार्यको थालनी गरेका थिए । त्यसयता सुरुङमा जम्मा भएको पानी वागमतीमा छोड्न लागिएको हो ।

साढे २६ किलोमिटर लामो सुरुङमा पानी भरिएर सफल परिक्षणपछि उक्त पानी वागमतीमा छोड्न लागिएको हो । यो सफल परीक्षणपछि अव तीन महिना नकटाई काठमाडौँ बासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजना सरकारको छ । सुरुङमा पानी पठाउने काम सफल भएकाले त्यहाँ आएका फोहोरसहितको पानी वागमतीमा छोड्न लागिएको हो । 


वागमतीमा छोडेपछि दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइने र उक्त पानी त्यहाँबाट उपत्यकाबासीको धारामा वितरण गर्ने काम हुनेछ । सुरुवाती चरण भएकाले सुरुङको क्षमता भन्दा कम पानी छाडिएको छ । सुरुङमा प्रति सेकेन्ड २ सय ५० लिटर देखि ३ सय लिटरसम्म पानी पठाउने काम भएको थियो । सुरुङमा १३ करोड लिटर पानी भरेपछि दुई सातासम्म परीक्षणका लागि राखिएको हो । अव सबै पानी वागमतीमा छोडेपछि एक पटक पुन परीक्षण गरेर पानी छोड्दै प्रसोधन केन्द्रमा पठाइने जानकारी खानेपानी मन्त्रालयका अधिकारीले बताए ।  

मेलम्चीको पानी सुन्दरीजलमा तयार गरिएको दुई प्रशोधन केन्द्रबाट वितरण प्रणालीमा पठाइने छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा आउनेछ । गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको अडिटको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो । गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । जसका कारण सुरुङ, मुहान स्थल र संरचनाको पुनः जाँच गर्दै अहिले पुन पानी पठाइएको हो । आज रातीसम्म भरिने हुनाले शनिबार छोड्ने र त्यसले फोहोरसफा हुनेछ । पानी वागमतीमा छोड्दा त्यहाँ सुख्खा या मभनेर ओहोर दोहोर गर्नेलाई स्थानीय निकाय मार्फत जानकारी समेत दिइएको छ । 


Author

थप समाचार
x