प्रमुख समाचार

संस्मरण र अनुभूति : टालिएका झ्यालहरू

संस्मरण-र-अनुभूति-टालिएक

वसन्त लोहनी |
फागुन २४, २०७८ १८:० बजे

व्यक्तिको कथा लेखनमा व्यापक परिवर्तन आइसकेको छ । शासकको कथा इतिहास बन्‍ने र व्यक्तिको कथा आत्मकथामा सीमित रहने दिन गइसके अब । व्यक्तिको कथाले बनाएको कथा नै मुलुकको वास्तविक इतिहास हो । यस्ता कथाहरूलाई विलुप्त हुनबाट जोगाउन सक्नु नै वास्तवमा लेखक तथा इतिहासकारका लागि ठूलो चुनौती हो । मूलत: यही कुरा भनिएको छ एउटा नोबेल पुरस्कार उद्धरणमा ।

विद्याधर सूरजप्रसाद नैपाललाई सन् २००१ मा साहित्यमा नोबेल पुरस्कार दिइएको कारण यसरी उल्लेख गरिएको छ, ‘संवेदनशील कथाको सूक्ष्म अवलोकन र त्यो नाश नहुने गरी जस्ताको तस्तै जोड्न र समेट्न सकेको हुनाले जबर्जस्ती खतम गरिएको या दबाइएको इतिहास टक्रक्क देखिने र हेर्नैपर्ने पारेकाले । नैपालको अत्यन्त चर्चित किताब ‘अ हाउस फर मिस्टर विश्वास’ उनको आफ्नै बाजेको जीवन कथा र त्यसले समेटेको परिवेशको रुपमा लिइन्छ । उनीसँग आबद्ध एउटा रमाइलो कुरा पनि भनी हालौँ । नैपालको आमा पट्टीको पुर्खा नेपाली हुन् । नोबेल पुरस्कार समारोहमा उनले आफैँले बताएको थिए यो कुरा ।


त्यो व्यक्ति– कसको छोरा, कति पढ्यो, कोसँग विवाह गर्यो, के काम गर्यो र कति छोराछोरी जन्मायो भन्‍ने सेरोफेरोभित्र सीमित छैन । न ऊ निर्दिष्ट समय सारिणीभित्र मात्र थन्किएको हुन्छ । मुलुकको इतिहास लेखनको ऊ एउटा अभिन्‍न अङ्ग हो । ऊ बाँचेको समयको प्रवाह मुलुकको परापूर्वकालदेखिको समय प्रवाहमा मिसिएको हुन्छ । यसरी समयका विन्दुहरू अनवरत जोडिएका हुन्छन् त्यसैगरी जसरी जलका कणहरू जोडिएर नदीको प्रवाह बनेको हुन्छ । यसरी बन्छ मुलुकको इतिहास ।

शासकको वर्णनमा इतिहास खुम्चिन अब छोडिसक्यो । यस अर्थमा कि त्यो परिवेशअन्तर्गत व्यक्ति कसरी हाँस्यो र कसरी दु:खी भयो; कस्तो छटपटी बोक्यो, आवाजविहीन रोदन बोकेर कसरी आफ्नै मुलुक छोड्यो या कसरी समाजमा सम्मिलित भयो । माटोसँग कसरी श्वासप्रश्वास ग¥यो । कुन चौतारीमा सुस्तायो, कहाँ सुस्केरा हाल्दै पसिना पुछ्यो । एक राते मेलामा नाचेको रमाइलो होस् या आफैसँग बात मारेको बेलाको उद्वेग होस् । यी सब मिलेर मात्र मुलुकको इतिहास बन्छ । व्यक्तिले कसरी आफ्नो मुलुकमा सम्मिलनको विन्दु फेला पारेको छ र त्यस्तै कसरी ऊ अभिव्यक्त हुन पाएको छ त्यहाँबाट इतिहास लेखिन्छ मुलुकको ।

नेपाललाई सिमेन्ट ढलान युगमा लैजाने वेदप्रसाद लोहनीबारे जे लेखिँदै छ त्यो यस्तै लेखन थालनीको प्रयोग हो । त्यसैले लेखनी नजोडिएको देखिन सक्छ, कतै कमजोर र कतै जोडिएका विन्दुहरूको दुरी धेरै बढी देखिन सक्छ जसरी नदी कहीँ सानो चौडाइमा बगिरहेको हुन्छ धेरै बगर छोडेर । त्यस्तै कतै सानो ठाउँबाट ठेलमठेल गरेर हाम फाल्ने कोसिसमा हुन्छ । जे लेखिँदै छ त्यो प्रणालीकृत नगरिएको प्राकृतिक प्रवाह हो । यसको आफ्नै लय छ, आफ्नै छटा छ अनि एउटा फराकिलो परिवेश छ । दोस्रो कुरो गएको हप्ता एउटा कुरा छुटेछ । त्यो हो वेद प्रसादले ‘सरस्वती सदन’को निर्माणपछि लगत्तै राणाकालमा नेपालभित्र बनाएको करिब आधा दर्जन सिमेन्ट ढलाइका घरहरू मात्र होइनन् नेपालबाहिर एउटा शाही घर पनि बनाएका थिए । त्यो थियो श्री ३ महाराज पद्म शमशेरका लागि महाराज पद्म शमशेरको निर्णयअनुसार नेपाल सरकारको । त्यो भवनको बाहिर अझै छ एउटा पाता जसमा लेखिएको छ– ‘राजा रानी कोठी’ । र, त्यो फैलिएको ठूलो क्षेत्र ‘नेपाल हाउस’ को नामबाट चिनिन्छ ।

दस जना सरकारी कर्मचारी समेटिएको टोलीलाई राँचीमा सो भवन निर्माणगर्न पठाइएको थियो । करिब दस महिना बस्यो त्यो टोली त्यहाँ । र, युद्धस्तरमा काम गरेर निर्माण सम्पन्‍न गर्यो । टोलीमा थिए रुद्र राज पाण्डे, जो पछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति बने, उनी लगायत उच्च पदस्त सरकारी कर्मचारीहरु । अरूको काम निर्माणका लागि प्रबन्ध मिलाउनु रह्यो । वेदप्रसादको काम भने भवनको डिजाइन, रेखदेख र निर्माण सम्पन्‍न गर्नु रह्यो । कमजोर मनस्थितिका थिए, श्री ३ महाराज पद्म शमशेर । उनीलाई ‘रुन्चे महाराज’ पनि भनिन्थ्यो । चन्द्र शमशेरको सन्तानहरूको दबाब थेग्न नसक्ने भएपछि राजपाट त्याग्ने निर्णयमा पुगेका थिए उनी । भारतको एक महिना लामो औपचारिक भ्रमणपश्चात् राँचीको त्यो भवनमा बसेका थिए । उनले आफ्नो पदबाट सन् १९४८ मा राजीनामा पत्र त्यहीबाट पठाएका हुन् ।

हो, त्यो अनकन्टारको समय–मान्यता, चेतना र प्रविधिको । धर्माधिकार र सत्ताधिकार बीचको सुविधापूर्ण सम्बन्धले बनाएको मान्यता । न्यून चेतना । अनि मूलत: सत्ताधारीहरूको सुखसँग आबद्ध प्रविधि । चरम अमानवीयकरणले गर्दा राणाहरूको आमोद प्रमोदका लागि प्रयोग हुने वस्तुसरह थिए, आम नेपाली । लडाइँ लडेर जर्नेल बन्‍ने होइन कि जन्मिँदा जर्नेलको तोप सलामी खान सक्थ्यो रुँदै गरेको शिशुले यदि ऊ श्री ५ महाराजाधिराज र श्री ३ महाराजपट्टिबाट छोरा बन्‍न सकेको छ भने । श्री ३ को मात्र भए कर्णेल ।

जसरी पास्नीको दिन जङ्गबहादुरले जुद्ध शमशेरलाई कर्णेल भएको बोलिदिए । राणाका सन्तानलाई पढाउन खोलिएको मुलुकभित्र एउटै मात्र स्कुल थियो दरबार स्कुल, जसमा अरूले निकै पछि मात्र पढ्न भएका थिए । काठमाडौँभित्र नेपाल समाहित थियो । काठमाडौँ जाने भनेको नेपाल जाने भन्‍ने थियो आम नेपालीका लागि । तराईका नेपालीहरूका लागि यो नेपाल जान शिवरात्रि पर्खनु पर्दथ्यो । मूलत: निर्दिष्ट ठाउँमा मात्र बस्न पाउँथे । त्रिपुरेश्वरमा रहेको अहिलेको नेपाल आँखा अस्पताल भएको ठाउँमा मात्र बस्न दिइन्थ्यो । त्यहाँबाट पनि हप्ता दिन पछि लखेट्न थाल्थे । थानकोट कटाउन सुरु गर्दथ्यो राज्यले ।

भित्ताको पनि कान हुन्छ भन्‍ने डर र दरिद्रताको दोभान बनेर प्रवाहित थियो त्यो समय । कुनै राणा कहाँ चाकरी गर्ने ठाउँ नहुनेको समाजमा इज्जत नहुने अवस्था थियो । कुनै पनि राणाको दरबारको दुई सय फिट सम्मको नेपालीको घरको झ्याल टालिन्थ्यो । यसरी दक्षिणतिरको झ्यालहरू सबै टालिएका थिए एउटा ज्ञानेश्वर गल्लीभित्रको घरको । झ्यालहरू टालिएका त्यो घर नजिकै कुनै राणाको दरबार थिएन । तर दरबार थियो पनि । दरबार थियो सल्यानको राजाको । उनलाई सल्यानी राजा भन्थे । गणतन्त्र आउनु अगाडिसम्म पनि कानुन नै बनाएर राज्यले दर्जा र सुविधा सन्तान दरसन्तानलाई दिएको कारण यिनको सन्तान राजा थिए । यस्तो चार राजामध्ये अरू थिए– बझाङ, जाजरकोट र मुस्ताङको राजा । तर सल्यानी राजाको कुरा अरूको भन्दा अझ फरक छ । अलिकति मात्र भए पनि हेरौँ त्यसलाई ।

जुम्लालाई कर बुझाउनु पर्ने कारणबाट बाइसे राज्यमा गणना गरिएको सल्यानसँग सन् १७६९ मा नेपाल एकीकरण हुनुभन्दा अगाडिदेखिको सम्बन्ध हो पृथ्वीनारायण शाहको । उनको आफ्नी छोरी विलासकुमारीको विवाह सल्यानी राजाको छोरा रणभीमसँग भएको हुनाले सल्यानसँगको सम्बन्ध अझ मजबुत थियो । तर यो सम्बन्ध अनायास रणबहादुरको हत्यापछि दुस्मनीमा परिणत भयो । आफ्नो सौतेलो भाइ शेरबहादुरले हत्या गर्नु अगाडि उनी नेपालको नाबालक राजा आफ्नै छोरा गीर्वाणयुद्धको नायब थिए । बनारसबाट रणबहादुर फर्केर काठमाडौँ आउँदा उनलाई रोक्ने पृथ्वीनारायण शाहको सेनापति कालु पाँडेका छोरा दामोदर पाँडे प्रधानमन्त्री थिए । उनलाई झुन्ड्याएर मारिएको हुँदा रणबहादुर पहिले भागेर बनारस जाँदा उनीसँगै गाएका एउटा अत्यन्त साधारण गुमनाम पात्र त्यति बेला शक्तिशाली बनेका थिए । ती थिए भीमसेन थापा ।

रण बहादुरको हत्यापछि काठमाडौँ आएकी पृथ्वीनारायणको छोरीले सो हत्या भीमसेन थापाले सर्वशक्तिशाली बन्‍नका लागि गराएको मुख खोलेपछि विलासकुमारीलाई सल्यानको फालुबाङ धपाए भीमसेन थापाले । र, सल्यानको राजा रणभीमलाई सत्ताच्युत पनि गरे । अनि सल्यान नेपालभित्र मिलाइयो, पाल्पाले हेर्ने गरी । भीमसेन थापा हटेपछि मात्र १८९४ सालमा तेजबहादुर शाहलाई राजाको उपाधि दिइयो । यिनी रणभीमका सन्तान नभएर उनको भतिजाको सन्तान भएको इतिहासकार बताउँछन् । यसै क्रममा जितेन्द्रबहादुर शाह आइपुगे राजा भएर । मैले पनि सानैदेखि चिनेको थिए उनीलाई । त्यसको कारण थियो मेरो पिता वेदप्रसाद लोहनीको प्रगाढ मित्रता थियो उनीसँग । सात साल पहिले त राजा र साधारण व्यक्तिको बार्दली चोकको संवाद सरहको थियो त्यो सम्बन्ध । पछि दुई मित्रबीचमा रूपान्तरित भयो । तर पनि वेद प्रसादले उनीलाई गर्ने व्यवहार र संवोधनमा कहिले कन्जुसी गरेनन् जबकि नेपाल सरकारमा २०१० साल तिर काम गर्दा खड्ग शमशेरको नाति पार्थिव शमशेर उनको सहायक थिए।

उनी सल्यानी राजा भएर पनि नाति राजा भनेर चिनिन्थे । कारण अहिलेको बेलायतको युवराज चार्ल्सको जस्तै अवस्थामा रह्यो उनको धेरै पछि सम्म । प्रजातन्त्र आइसकेको थियो उनी सल्यानी राजा बन्दा । राणाकालीन डाइरेक्टरेट अफ पब्लिक इन्स्ट्रक्सन्स, जुन अहिलेको शिक्षा मन्त्रालय जस्तै थियो, त्यसको उनी आखिरी हाकिम पनि रहे । र, सन् १९५८ तिर नेपालको महावाणिज्यदूत पनि रहे कलकत्तामा । र, सन् १९७७ मा राजसभाको सदस्यमा राजा वीरेन्द्रले नियुक्त गरेका थिए । श्री ३ चन्द्र चन्द्र शमशेरको साहिलो छोरा केशर शमशेर र श्री ५ पृथ्वी वीर विक्रम शाहको जेठी छोरीबाट शिशु जन्मिन लाग्दा जर्नेलको सलामी दिन सेनाको सम्मान गारत तयार थियो । तर छोरा नभएर छोरी जन्मिइन् । यिनी पछि जितेन्द्रबहादुरको पत्नी बनिन् ।

जितेन्द्रबहादुरको एउटा कुराबाट म प्रभावित र अर्कोबाट अचम्मित भएको थिएँ । प्रभावित भएको थिएँ उनको घोडासम्बन्धी ज्ञानबाट । यो कहिले पनि जानेर नसकिने विषय रहेछ । यो ज्ञानको कारण उनीलाई राजा वीरेन्द्रले घोडा किन्‍न पठाएका थिए । अचम्मित भएको थिएँ म उनको बोल्ने तरिकाबाट । अङ्ग्रेजीमा बोल्न रुचाउँथे तर सँगसँगै नेपालीमा अनुवाद पनि गरिहाल्थे । जस्तो : ‘यु नो ह्वाट आई एम सेइङ’ सँगसँगै भनी हाल्थे – ‘बुझ्नु भो मैले भनेको’ । उनको छोरो गोपेन्द्रलाई पनाति राजा भन्थे जो राजा वीरेन्द्रको शाही फोटोग्राफर थिए र पछि सल्यानी राजा पनि बने । टालिएको घरको पूर्वपट्टि थियो यिनीको दरबार जहाँ सोभियत सङ्घको राजदूतावास पनि बसेको थियो सन् १९५० को दशकको आखिरीतिर ।

जितेन्दबहादुरको आफ्नै भाइ थिए सुरेन्द्रबहादुर शाह जो नेपाली सेनाको प्रमुख बने सन् १९६५ मा । तर जुन बेला राजा महेन्द्रले कू गरे त्यति बेला उनी सेना प्रमुख नीर शमशेरपछिको दोस्रो व्यक्ति थिए । जितेन्द्रबहादुरले मेरो बुबासँग धेरै पछि बताएअनुसार त्यो दिन २०१७ साल पुस १ गतेको दिन बोलाहट भयो अफिस खुल्नेबित्तिकै यी दुबैलाई । भर्याङको तलको लबीमा केही बेर पर्खेपछि यी दुईले देखे राजा महेन्द्र सेनाको पूर्ण परमाधिपतिको पोसाकमा हातमा छडी हल्लाउँदै ओर्लेको ।

सलाम गर्नेबित्तिकै उनले आदेश दिए बीपी कोइरालालाई लगायत मन्त्रीहरूलाई पकडेर थुन्‍ने र स्थिति पूर्ण नियन्त्रणमा लिने । यति भनेर उनी त्यही भर्याङबाट माथि उक्ले । छलफलका लागि थिएन यो भेट । सेनाको परमाधिपतिले आदेश दिन मात्र थियो । यी दुवै फर्के एउटै गाडीबाट । एकले अर्कोलाई हेर्न पनि सकेनन् दरबार स्कुल नआइपुगुन्जेल । त्यसपछि बल्ल हेरे तर अझ बोल्न सकेनन् । हक्क न बक्क भएका यी दुई नातेदार पनि थिए । नीर शमशेर जुद्ध शमशेरको छोरो । सुरेन्द्र बहादुर जुद्ध शमशेरको छोरीको छोरो । जनताको सँगालिएको विश्वासबाट बनेको प्रधानमन्त्रीलाई हिरासतमा लिनु थियो । सैनिक मुख्यालय पुगेपछि नीर शमशेरले सुरेन्द्रलाई आँखामा आँखा मिलाएर भने – सेनामा आदेश भनेको आदेश हो । यति भनेर योजनामा जुटे । बिपीलाई हिरासतमा लिन सुरेन्द्र गएका थिए तरुण दलको भेला स्थलमा । सलाम गरेर गाडीमा बसाएका थिए । तर बिपी अनभिज्ञ थिए । सुरेन्द्रको घर पनि यही सल्यानी राजाको कम्पाउन्डको एक भाग थियो ।

त्यो घर जसका दक्षिण पट्टिका झ्यालहरू टालिएका थिए त्यसमा सुनवा लोहनीका सन्तानहरू वस्थे । सुनवा लोहनी ती व्यक्ति हुन जसले लडेका थिए गेर्खु मोर्चामा । पृथ्वीनारायण शाहले १८०१ साल असोज १४ गते शनिवारको झिसमिसे बिहानीमा काठमाडौँका मल्ल राजाको अधीनमा रहेको र जयन्त रानाले कमान्ड गरेको नुवाकोटमा निर्णायक धावा बोलेका थिए । त्यति बेला तीन मोर्चा मध्ये उत्तरको गेर्खु खोलाबाट उक्लेको मोर्चामा सुनुवा लोहनीले पनि लडेका थिए । तिनको सन्तान राधाकृष्ण हुन् जो नुवाकोटको थानसिङ गाउमा बसे । यिनको छोराको नाम शिव शर्मा लोहनी हो । र, तिनको पनि छोराको नाम हो पशुपति लोहनी जो गृहस्थमा बसेका सन्त थिए।

पशुपति लोहनीले त्यति बेलाको मूल काठमाडौँ जसलाई पछि सहर भनिन्थ्यो त्यहाको किलागलमा दुई छोरा पढाउन घर किनेर त्यही राखेका थिए । उक्त ठाउमा अहिले नयाँ किसिमको घर बनेको छ । दुई छोराहरू मध्ये पद्मनाभको विवाह नेपालको पहिलो बडा गुरुज्यू विजयराजको नातिनी र दोस्रो बडा गुरुज्यू नगेन्द्रराजको छोरी कल्पकुमारीसँग भएको थियो । त्यसपछि किलागलबाट यो दम्पती ज्ञानेश्वरको घरमा सरेका थिए । यिनीहरूको एउटै मात्र छोरा थिए जसको जन्म यो घरमा भएको थियो । छोरा नाम हो– रुद्रप्रसाद लोहनी । पछि उनी गुर्जुको पल्टनको कप्तान बने । पण्डित त उनी थिए नै । अति नै धर्मभिरु र अनुशासनकर्ता ।

सल्यानी राजाको दरबार भएको कारण नुवाकोटको थानसिङे लोहनीको घरको झ्यालहरू टालिएका थिएनन् । टालिएको कारण थियो सल्यानी राजाले जुद्ध शमशेरको छोरी विवाह गरेको कारणले । कल्पकुमारी पनि बडा गुरुज्यूको छोरी थिइन्, जुन बडागुरुज्यूलाई सडकमा गुडेको बग्गीमा देख्दा पनि जुद्ध शमशेर आफ्नो बग्गी रोकेर ढोग्न ओर्लन्थे । तर सत्ता र शक्तिको फरक बेग्लै हुन्छ ।

वेदप्रसाद लोहनी यो घरमा १९७२ साल भाद्र १७ गते तत् अनुसार सेप्टेम्बर २, १९१५ को बिहीबारको दिनमा रुद्रप्रसाद र तोयकुमारीको माहिलो छोरा भएर जन्मिँदा ती दक्षिणका झ्यालहरू टालिएका थिए । चन्द्र शमशेर श्री ३ महाराज थिए त्यति बेला । जुद्ध रोल क्रमको तेस्रो व्यक्ति थिए, भीम शमशेर पछि मात्र महाराज बन्‍ने । अर्को १७ वर्ष पछि १९८९ भाद्र १७ गते वेद प्रसाद जन्मेकै दिनमा जुद्ध शमशेर महाराज बनेका हुन् । वेदप्रसादले बाच्नका लागि सङ्घर्ष गरेर पहिलो पटक रुँदा त्यो आवाजलाई टालिएका झ्यालहरूले घर बाहिर नसुनिने पारेका थिए ।



Author

थप समाचार
ad
x