प्रमुख समाचार

नदेखिएका महावीरहरू

नदेखिएका-महावीरहरू

नारायण घिमिरे |
फागुन २४, २०७८ १८:६ बजे

यसै हप्ता खोटाङ बडाका पुर्ख्यौली घर भई विराटनगरमा हुर्केबढेका प्रेम तिमिल्सिना ओखलढुङ्गा दूध कोसी सिलौरीघाटमा असला भुराको सिला खोज्दै हिँडेको अवस्थामा भेटिए । एउटा टोली नै लिएर हिँडेको हँसिलो फुर्तिलो लाग्ने युवाको चालचलन अलि फरक लाग्यो । कुराकानी गर्ने क्रममा असला माछाको क्रस ब्रिडिङमार्फत नश्लसुधार गर्न सकिन्छ कि भनेर दूध कोसीको असला माछाको शिला खोज्न कस्सिएको र त्यसपछि सेतीतिर लागिन्छ होला भन्‍ने बताए ।

हाल नदीमा असोज–कात्तिकमा प्रजनन भएका असलाका भुरा भेटिने हुँदा ती भुरा हुर्काउने र क्रस ब्रिडिङबाट रैथाने औद्योगिक गुणस्तरको माछाको विकास गर्न सकिने अनुमानमा आफू कस्सिएको बताउने ती युवाको कुरा सुन्दा मलाई सिलिकन भ्यालीको याद आयो । जति बेला म सिलिकन भ्याली पुग्दछु, त्यहाँको इनोभेसनको छलफलमा भाग लिने गरेको छु । इनोभेसनमा संसार जितेको सिलिकन भ्यालीको इनोभेसन बारेको छलफलमा नागरिकता अमेरिकन बोकेका नेपाल लगायत एसियन मूलको धेरै वैज्ञानिकहरू मुख्य भूमिका देखिनु अब सामान्य कुरा भइसकेको छ । एसियाको लुकेको इनोभेसनको प्रतिभा सिलिकन भ्यालीमा यत्र तत्र पोखिएकाले सिलिकन भ्याली सिलिकन भ्याली हुन सकेकामा कुनै दुई मत रहँदैन ।

एक पटक सिलिकन भ्याली नै पुग्दा नेपालका महावीर पुनले तपाईंहरूले नेपालबाट आएर सिलिकन भ्यालीमा जुन लुकेको इनोभेसन गर्नुभएको छ त्यो सपना पूरा गर्न सहयोग गर्ने हार्वर्ड र ब्रिक्ले जस्ता विश्वविद्यालयको सुरुवातको संरचना नेपालमा सुरु गर्न जरुरी छ भनेका थिए । नेपालमा महावीर पुनले सायद तिमिल्सिना जस्तै चुपचाप इनोभेसनमा लागेका धेरै मान्छे भोगेका र भेटेका हुनुपर्छ । त्यसले नै महावीर पुनलाई सिलिकन भ्यालीमा पुगेर डाक्टर राजन पन्त, डाक्टर आमोद उपाध्याय, डाक्टर तारा सिग्देल, डाक्टर अर्जुन बजाड़े, डाक्टर मनोज कार्की, आइटी डन र उद्यमी शङ्कर उप्रेती जस्ता हस्तीहरूको गुडमै पुगेर त्यो कुरा ठोकेर भन्‍न सक्ने विश्वास र साहस आएको होला भन्‍ने अनुभूति भयो ।

माछाको व्यावसायिक उत्पादनबारे प्रेम तिमिल्सिनाको अनुभव सुन्‍ने मौका मलाई पुनः प्राप्त नहुने निश्चित थियो । मैले थोरै समय निकालेँ। मैले अनुमान गरे जस्तो उनी नेपालका कुनै माछा उद्यमी नभएर ललितपुर गोदावरीको नेसनल फिसरी रिसर्च सेन्टर ललितपुरमा यस–१ वैज्ञानिकका रूपमा कार्यरत वैज्ञानिक रहेछन् । माछापालन गर्ने उद्यमीका लागि नयाँ इनोभेसन गर्ने नियतमा माछाको उत्पादन र बजार व्यवस्थापन सम्बन्धका विभिन्‍न प्रकृतिको रिसर्चमा लागेका रहेछन् तिमिल्सिना । उनको दिमागमा सवार इनोभेसन सम्बन्धका प्रश्न र आत्तुरीको भूतका आधारमा उनको टिमले गरिरहेको काम मेरा लागि भने अत्यन्त आश्चर्यजनक र अकल्पनीय थियो ।

सामान्य आँखाले हेर्दा केटाकेटीको खेल जस्तो लाग्ने र साथीभाइ मिली जात्रा मात्रा हिँडे जस्तो अनुभूति गराउने उनीहरूको काम सामान्य मानिसका लागि बेकारको फत्तुरजस्तो लाग्न सक्छ । वैज्ञानिक दृष्टिमा भने हरेक सिडीमा अनिवार्य इनोभेसन गरिनुपर्ने इनोभेसनको अभावको खाडल जेलिएको जन्जिर पार गर्ने र सफल हुने अठोट चानचुने थिएन । गतिलो समात्ने ठाउँ र भरपर्दो टेक्ने ठाउँ सजिलै नभेटिने गन्तव्यमा पुगिने कुनै टुङ्गो नरहेको यात्रा थियो त्यो ।

उनको टिमलाई हर–हालतमा रैथाने असला माछालाई मानव निर्मित पोखरीमा पाल्न सकिने, प्रभावकारी र गुणस्तरीय उत्पादन दिने बनाउनु पर्नेछ । क्रस ब्रिडिङ गरी मानव निर्मित पोखरीमा रैथाने भुरा उत्पन्‍न गर्ने प्रविधिले त्यसो गर्ला नगर्ला कुनै यकिन छैन । रैथाने दाना उत्पादन गर्ने, क्रस ब्रिडमा रैथाने माछाको स्वाद कायम राख्नुपर्ने जस्ता चुनौती छन् । माछा रहने पोखरीको वातावरण माछाको जीवन पद्धतिमैत्री नहुँदा लिखुरे हुने, गान्टे बनिदिने, उचित तौल नदिने समस्या निम्ताउने गरिदिन्छ । नसुनेका रोग जन्माइदिन्छ । माछा मारिदिन्छ । सबै माछा सोतर बन्छ । त्योबाट बच्ने र भएको भन्दा उन्‍नत इनोभेटिब तरिकाको पहिचान गर्नु छ ।

ग्राहकबाट बजारमा माछा खोजिनुको विशेष मनोवैज्ञानिक र स्वास्थसँग सम्बन्धित पक्ष छन् । माछामार्फत पूर्ति हुनुपर्ने न्यूनतम पौष्टिक आहार र जीवन्त शक्ति माछामा कायम राख्न नसक्दा माछा ग्राहकको विश्वास माथि धोका हुन पुग्छ । माछाले दिने मानव संवेदना र आवेग सन्तुलन गर्ने, नियन्त्रण गर्ने टनिकहरू, मनोवैज्ञानिक र प्रजनन स्वास्थका फाइटो–केमिकल्सहरू, बालक, दोजिया र वृद्धहरूको शरीरको आवश्यकता पूर्ति गर्ने थुप्रै बाइलोजिकल आवश्यकताबारे सम्झौता गर्न नसकिने सामाजिक उत्तरदायित्वको नैतिक जिम्मेवारी छ । सानो भूमिकामा, नगण्य साधन स्रोतभित्र खाँदिएको ठूलो जिम्मेवारीको क्याप्सुल निल्न र पचाउनुपर्ने बाध्यता छ । खोलामा, पोखरीमा अत्यन्त धेरै चहार्दा चहार्दा धेरै पटक तन नै हारिदिन्छ । लखत्रान बनिदिन्छ । तैपनि मन र दृढ विश्वासलाई हार्ने छुट छैन । फिसिक्क हाँसेर बोल्ने बानी छुटेको पनि छैन ।

मलाई माछाको नयाँ ब्रिडभन्दा पनि त्यसको आहार र उक्त आहार तैयार गर्ने रैथाने विधि सम्बन्धमा धेरै चासो थियो । मैले प्रेमजीसँग तिनै जिज्ञासा राखे । उनीहरूले माछाको दानामा सिस्नोको मुना प्रयोग गरेर हेरेका रहेछन् । सिस्नुको मुना र पातले माछाको रोग प्रतिरोधी शक्ति निर्माण गर्ने अनुभव लिएको रहेछन । माछामा कोर्टिसोलको मात्रा घटाउन वा सामान्य अवस्थामा ल्याउन सक्दा माछाले तनाव कम महसुस गर्ने, शारीरिक गतिविधिहरूको सन्तुलित समायोजन हुने हुँदा प्राकृतिक रूपमा स्वस्थ माछा हुर्कने गर्दछ । दानामा सिस्नुको प्रयोगले कर्टिसोलको मात्रा सन्तुलित गर्ने उनीहरूको अन्दाज रहेछ । किनकि त्यसो गर्दा माछाको दैनिक वृद्धि–दर सुध्रेको र तुलनात्मक रूपमा रोगसमेत कम लागेको उनीहरूले अनुसन्धानबाट पत्ता लगाएका रहेछन् ।

माछाको दानामा सयपत्रीको फूल प्रयोग गरी गर्नु सस्तो मूल्यमा प्रभावकारी रङ वृद्धि गर्ने उपायको रूपमा संसारभर उपयोगमा आएको छ । सयपत्री र गोदावरी जस्ता पहेँलपुर फुल्ने फूलको ढुटो हालिएको फिड खुवाइएको माछामा अधिकतम क्यारोटिनोइड, ओमेगा–३ र ६ आदि भेटिने गर्दछ । एकातर्फ भिटामिन–ए पूर्ति गर्ने अर्कोतर्फ माछाको रङ सुनौला र आकर्षक पारिदिन्छ । २०० मिलिग्राम क्यारोटिनोइड पेटल प्रतिकिलो ग्राम आहारमा दिने गर्दा माछाको कत्लामा सुनौला पिग्मेन्टेसन विकास गर्न सकिने, माछाको सन्तोषजनक वृद्धि दर कायम राख्दै पोसिलो मासुको निर्माण गर्न सम्भव हुने अनुसन्धानहरूको निचोड भेटिन्छ ।

सयपत्री, मखमली र गोदावरी जस्ता फूल तिमिल्सिनाको समूहले समेत माछामा प्रयोग गरी नहेरेको भने होइन । तर उनीहरूको ल्याबमा सामान्य रोटरी ड्रायरसमेत नभएको अवस्थामा त्यो हदको निचोड निकाल्न सक्ने अवस्थामा उनीहरू पुगेका रहेनछन् । सूर्यको किरणबाट गरिने सेड–ड्राइङ तरिकाको उनीहरूको अनुसन्धानले त्यो कुरा पुष्टि हुने गरी नतिजा दिन निकै चुनौतीपूर्ण हुने गर्दछ । गाँजर र रातो पहेँलो भेडे खुर्सानीको प्रयोग गर्दा भने उनीहरूले समेत माछामा उल्लिखित अनुरूपको क्यारोटिनोइडको भूमिका भेटेका रहेछन् । उनीहरूको अध्ययनमा समेत माछाको मासु अलि धेरै रातो, उपभोक्ताले मन पराउने, माछाको प्रजनन क्षमता बढेको र धेरै भुरा दिने क्षमतायुक्त रहेको भेटिएको रहेछ ।

विदेशतिर माछाको दानामा सामान्य तय फिस–मिल (६५%), गहुँको पिठो (३३%), कड–लिभर ओइल (१%), विभिन्‍न पातको जडीबुटीको चूर्ण वा विभिन्‍न गेडा गुडी वा दुवै (०.७%) तथा भिटामिन तथा मिनिरल (०.३%) हाल्ने गरिन्छ । यी
कुराहरू मानिस जनावर सबैका खाना हुन् । तसर्थ आज भोलि माछा कुखुराको दाना निकै महँगो बनेको छ । नेपालमा फिस–मिल (सिद्रा माछाको धुलो) त्यसै महँगो छ । कड–लिभर ओइल (कड नामक गडुस जातको साल मन भन्दा पनि स्वस्थवद्र्धक माछाको कलेजोको सारतत्व) त धेरै मानिसले आफैँले किनेर खान पनि सक्ने भन्दा महँगो रहेकाले माछालाई दिने व्यावहारिक रहेन ।

हाम्रोमा कतै ५०% भटमास र ५०% कड–लिभर ओइल मिश्रित तेल हालिने रहेछ । कसैले फर्मुलाको ६% भटमासको तेल हाल्ने रहेछन् । माछा कुखुराको दानामा प्रयोग हुने कच्चा भटमासको तेल पनि नेपालको रैथाने हैन । विगत आठ महिनामा मात्र २.४ अर्ब रुपैयाँको भटमासको तेल नेपाल भित्रिएको देखिन्छ । जुन अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इजिप्ट, टर्की र युक्रेनबाट आएको हो । हामी न त दानामा, न त खानामा नै आत्मा निर्भर देखिन्छौँ । गहुँ पनि युक्रेनबाटै आउँछ । फिस मिल प्रायः चाइना, पेरु र रसियाबाट भारत हुँदै नेपाल भित्रन्छ ।

माछा, कुखुरा, जनावर जस्ता चिज हामीले मात्र हैन हाम्रा पुर्खाले पनि पालन गरेकै हुन् । उनीहरूको उत्पादन हाम्रो भन्दा गुणस्तरीय रहेको डाटाबाट पुष्टि हुन्छ । आज हामी न त हाम्रै खाना, न त पशु तथा चरा र माछाको दाना आदिमा नै आत्मा निर्भर रहन सकेका छाँै । यसको विकल्प के त ? के हामी जीवन भर विदेशीको एकाधिकार बजार भएर डल्लिएको, कहिल्यै स्वावलम्बी हुन नसकेको नेपाल, टुलटुल हेरेर मर्ने भइयो त ? कुनै विकल्प देख्नुहुन्‍न प्रेमजी भन्‍ने मैले जिज्ञासा राखे । उनले मलाई अचम्मको कुरा सुनाए । त्यस्तो उत्तर आउला भन्‍ने मैले कल्पना समेत गरेको थिइनँ ।

तिमिल्सिना विराटनगरमा रहँदा एउटा सप्ताहमा सहभागी भएका रहेछन् । श्रीमद्भागवत गीताको प्रवचनका क्रममा वाचकले तीजको समयमा नारीहरूले चपाउने दतिवनको प्रसङ्ग निकालेका रहेछन् । तपाईं नारीहरू वर्षको एक छोटी ३६५ वटा दतिवनले दाँत माझ्नुहुन्छ । त्यो ठीकै छ । तर याद गर्नु होला दैनिक रूपमा एउटा ठुन्का चपाउँदा र दाँत माझ्ने गर्दा दाँत सफा हुने, दाँत–मुखको दर्द कम हुने, मासिक धर्म नियमित हुने, डिम्बाशय बलिष्ठ हुने कुरा वेदमा उल्लेख छ ।

त्यस्तै उनले एउटा राष्ट्रिय दैनिकमा प्रकाशित वैज्ञानिक आलेख पनि पढेका रहेछन् । जसमा उल्लेख भएको रहेछ कि भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइने तिजको ऋषि पञ्चमीको दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर गाइको गोबर र माटोको अपमार्ग (योनि लेपन) स्नान गर्ने परम्परागत वैदिक चलन हो । कुरम कुइनचिङ तरिकाबाट गरिएको अनुसन्धानले दतिवन चपाउँदा दाँत र दाँतका क्याबिटी तथा गिजाहरूमा हुर्केर मानिसलाई दुःख दिने विभिन्‍न थरीका स्टेपट्रोकोकस नामका ब्याक्टेरियाहरूलाई मार्ने, दतिवनमा हुने ओलिनोइक एसिड जस्ता ट्राइटरपिन तथा जेनिन ग्लाइकोसाइडले दाँत सफा बनाउँछ ।

दतिवन चपाउँदा दाँतमा पुग्ने झोल ‘किरा र परजीवी’ प्रतिरोधी हुने, त्यसको मुखमा ¥याल तथा धेरै पानी निकाल्ने तत्त्व सजिलै मुखको भित्री भागसमेत सफा गर्न सहयोगी बन्‍ने प्रमाणित बनेको लेखिएको रहेछ । लेखले भनेअनुसार डिएनए सिक्वेन्सिङ प्रविधिमार्फत अध्ययन गर्दा गोबरमा हुने कार्बन र नाइट्रोजनको अनुपात, गोबरमा हुने ब्याक्टेरोइड्स, फिर्मिकुट्स र प्रोटियोब्याक्टेरिया तथा माटोको लिगानिन, सेलुलोज, चिटिन, जाइलन आदि जस्ता अर्गानिक तत्त्वहरूलाई सानो सानो पारी टुक्राउन सहयोग गर्छ । त्यस माथि ट्राइटरपिन तथा जेनिन ग्लाइकोसाइडले मूत्र द्वारका हानिकारक रोगाणु भगाइदिने गर्दछ ।

श्रीमद् भागवत गीताको प्रवचन र नेपाली रैथाने चाडबाडको वैज्ञानिक महत्त्वबारेको चर्चा सुन्दै र पढ्दै गर्दा तिमिल्सिनाको दिमागमा भने अर्कै भूत सवार भएको रहेछ । जब माछा पोखरीमा रहन्छ त्यसलाई तनाव दिने फोहर पानी, फोहर पानीका कारण माछाको अङ्ग प्रत्यङ्गले भोग्नुपरेको रोगाणु र परजीवीको सास्ती तथा माछाको शरीरमा जरुरी हुने सबैभन्दा अहम् तत्त्व अक्सिजन पूर्ति गर्ने उपायबापत, त्यसो भए, के माछाको आहारमा जाने जडीबुटी सिस्नोको स्थानमा दतिवन ठेलिदिए प्रभावकारी होला ? उनको विचारमा सिस्नो त मानिसको लागि समेत महँगो तरकारी हो । प्रशोधन गाह्रो छ । दतिवन त जता ततै पाइन्छ । यस विषयको सैद्धान्तिक पक्ष र सम्भाव्य व्यावहारिक उपयोगिताबारेको सोचको भूतले उनको दिमागमा डेरा जमाएको पनि वर्षौं वर्ष भएको रहेछ ।

यथार्थमा संसारमा दतिवनको बीउ, पात र जरा सबै माछाको पोषणयुक्त दाना बनाउने कच्चा पदार्थको रूपमा प्रयोग हुन्छ । दतिवनको बीउमा प्रोटिन र चिल्लो पदार्थको मात्रा बढी हुन्छ भने पातमा मिनिरल्सहरू अधि मात्रामा रहन्छ । दतिवनको बीउमा लगभग प्रोटिन ३०%, तेल ४.४% र फाइबर ३% हुन्छ । जबकि पातमा लगभग प्रोटिन २३%, तेल २.५% र फाइबर १५.५% हुन्छ । माछाको दानामा भिटामिन र मिनिरल्सका लागि दतिवनको पात र अत्यावश्यक एसेंसियल एमिनो एसिडका लागि दतिवनको बिउ गतिलो कच्चा पदार्थ हो ।

दतिवनका बीउहरूमा १८ प्रकारका उपयोगी एमिनो एसिडहरू भेटिन्छ । पातमा १७ प्रकारका माछा र मानिस दुवैलाई चाहिने एमिनो एसिडहरू पाइन्छ । बीउमा प्रशस्त भिटामिन–ए, डि–२, ई , बि– १, २, ६, १२ र सी पाइन्छ भने पातमा भिटामिन–ए, डि–२, ई, बि–२, १२ भेटिन्छ । त्यसका अतिरिक्त बीउ र पात दुवैमा चार म्याक्रो, नौ ट्रेस र चार अल्ट्रा–ट्रेस खनिजहरू हुने गर्दछ । बीउ र पात दुवै आइरनको अत्यन्त समृद्ध स्रोत रहेकाले माछाको दानाका लागि राम्रो पोषण तत्त्व दिने कच्चा पदार्थ बनेको हो दतिवन ।

दतिवनलाई आयुर्वेदमा रातो अपमार्ग भनिन्छ । अपमार्गको अर्थ कुमार्ग अर्थात् अङ्ग परिमार्जन भन्‍ने लागे तापनि सिधै योनि शब्दको प्रयोग अप्रिय लाग्ने स्थानमा तथा प्रवचन गर्दा नारी यौनाङ्गको फोहोर सफा गर्ने, त्यहाँ वास गर्ने रोगाणु निर्मूल गर्ने जडीबुटीको रसका रूपमा दतिवनको डाँठलाई प्रयोग गर्न तिजको स्नानको क्रममा अपमार्ग (रातो अपमार्गले योनि लेपन) गर्न सल्लाह दिने गरिन्छ । आयुर्वेदमा अपामार्गलाई एन्टी–इन्फ्लेमेटरी वा दर्दनाशक, काटेको ठाममा रगत रोक्ने, अपच, खोकी, दम, रक्त अल्पता, जन्डिस र सर्पको टोकाइ जस्तो उपचारमा प्रभावकारी हुने ओखतीका रूपमा व्यापक रूपमा प्रयोग गरिएको छ । कानको दुखाइमा स्थानीय प्रभावकारी ओखती दतिवनको गेडाको तेल नै हो ।

वैदिक कालको योनि लेपन अर्थात् रातो अपमार्गका लागि गोबर र गौँतको अर्क (उमालेर आएको बाफ चिस्याएर जम्मा गरी बनेको तरल गौँत) उपयोग गरिन्थ्यो । धेरै तातोमा पोलेर बनाएको मुल्तानी मिट्टी जस्तै माटोको मसिनो धुलो र दतिवनको डाँठको रस वा चूर्ण अपमार्ग लेपन बनाउने धुलो वा पाउडर हुने गर्दथे । स्नानको बेलामा अर्क र गङ्गा जल मिसाएर घुल्दा १५ असारको गोरुले दाएको हिलो जस्तो लयालो अपमार्ग लेपन तयार हुन्थ्यो । उक्त अपमार्ग लेपनको क्रिमबाहिर र भित्र दलेर कम्तीमा दस मिनेट रहन दिई यौनाङ्गको, अनुहारको, शरीरको फोहर सफा गर्ने गरिन्थ्यो । आजको बजारका आधुनिक क्रिम र लेपन भन्दा यो विधि छालाको स्वस्थको लागि अत्यन्त प्रभावकारी हुने गर्दछ । समय क्रममा यसको सार पक्ष नहेरिने र सबै कुरा मात्र चलनको रूपमा एक पुस्ता वाट अर्को पुस्तामा जाने क्रममा स्नानको उत्कृष्ट उपाय निकृष्ट सल्लाहमा परिवर्तन भएको सजिलै अनुभूति गर्न सकिन्छ ।

आफ्नो जीवन कालमा कम्तीमा एकपटक हरेक दसमा नौ जना नारी योनिमा हुने क्यान्डिडा इस्टको सङ्क्रमणको सिकार बनेको बुझिन्छ । योनि मार्गबाट बाहिरिने एसिडिक झोल पदार्थ ताजा रहँदा आफैँमा एन्टी–ब्याक्टेरियल हुने गर्दछ । तर सुकिसकेपछि यसको राम्रोसँग सफा हुन नसक्दा योनिमा भजेनल इस्ट उम्रने गर्दछ । समयमै त्यसतर्फ ध्यान नपुग्दा छिटो बढ्ने इस्टको संक्रमण नियन्त्रण गर्नसमेत हम्मेहम्मे पारिदिने हदमा पुग्न सक्छ । मानिसको मुख, पाचन नली, गुदद्वार र योनि मार्गमा उम्रने ढुसीसमेत मार्ने दतिवनको जरा, पात, डाँठ र गेडा माछा (दानामा ०.७%) को दानामा प्रयोग गर्दा माछालाई पोखरीमा पैदा हुने फोहोर पानीका रोगाणु र परजीवीबाट जोगाउन र पानीमा अक्सिजन घुल्न सहयोग पु¥याउने कुरा भारतमा भएको अनुसन्धानहरूले पुष्टि गर्दछ ।

रहू माछाको सन्दर्भमा पूरक आहारको रूपमा दिइएको दतिवनको जराको एक्स्ट्र्याक्टले इम्युनोस्टिमुलन्टको काम गर्ने, मृत्युदर घटाउने र रोग प्रतिरोधी क्षमता बढाउने तथा हानिकारक जीवाणु रोहिता स्यूडोमोनास फ्लोरोसेन्सको सङ्क्रमण विरुद्ध प्रभावकारी भूमिका खेलेको देखाउँछ ।

बङ्गलादेशमा भएको प्रमाणित अनुसन्धानकाले पूरक आहारको रूपमा दतिवनको जराको सारतत्व खुवाइएको (१.५%) माछाको शरीरमा सीरम एन्टिबडी उल्लेखनीय रूपमा बढेको, रगतमा पुगेको हानिकारक रोगाणु मार्ने क्षमतामा उल्लेखनीय वृद्धि गराएको देखाएको छ । दतिवनको जराको सारतत्व पोखरीको पानी सफा राख्न र माछाको वृद्धिदर बढाउन सहयोगी हुने समेत यकिन भएको छ । यथार्थमा घरेलु जनावर, घोडा, खरायो आदिको दानका प्रोप्राइटरी फर्मुलामा समेत दतिवनको बिरुवा सम्पूर्ण भाग फर्मुलाअनुसार प्रयोग भएको भेटिएको छ । दतिवन मानव जडीबुटी र कतिपय स्थानमा मानिसले परम्परागत रुपमै सागको रूपमा समेत खाने गरेको भेटिएको छ ।

२०१४ को सेप्टेम्बरमा पाकिस्तान जर्नल अफ फार्मास्युटिकल साइन्सेजले दतिवनको सागको सेवनले शरीरको वजन घटाउन, हेमोग्लोबिन र प्लेटलेटसको सङ्ख्या सुधार गर्न मद्दत गर्दछ । दतिवनको जरा मुखका कीटाणुहरू मार्न हुँदा टूथब्रसका रूपमा प्रयोगमा ल्याइएको छ । दतिवनको जराको धूलो, मरीचको धुलो र मह मिसाएर खाँदा खोकी निको हुन्छ । दतिवनको पात र प्याज मिलाएर बनेको पेस्ट छालाको रोग निको गर्ने राम्रो ओखती हो भने दहीसँगै खाएमा यसले पखालाको उपचार गर्ने जर्नलको दाबी छ । दतिवनको पातको पेस्ट कीरा वा माहुरीको टोकाइको विषाक्तताको उपचार गर्दा उपयोग गरिन्छ ।

समग्रमा हाम्रा रैथाने जडीबुटी आयुर्वेदिक ओखती, एलोपेथिक ओखती, हिलिङ खाना, किरा तथा रोगाणु नियन्त्रणमा मात्र नभएर जनवार, चराचुरुङ्गी र माछा आदिको उत्कृष्ट दाना बनाउने विकल्प समेत हुन् । हामीसँग ती सामग्री बनाउने प्रविधि र टेक्नोलोजीको परम्परागत ज्ञान समेत छ । ती सबैलाई संयोजन गरेर इनोभेसन गर्ने क्षमता बोकेका प्रेम तिमिल्सिना जस्ता हजारौँ हजार नचिनिएका महावीर पुनहरू समेत हाम्रा टोल टोलमा यत्रतत्र भेटिन्छन् । हामीलाई खड्केको वा कुनै कुराको कमी छ त मात्र मुलुकको विकास मैत्री नियम, कानुन तथा योजना बनाउने इच्छाशक्तिबाट च्युत नबनेको सामूहिक राजनैतिक नेतृत्व ।

(लेखक घिमिरे खाद्य तथा औषधि विज्ञ हुन् ।)



Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
ad
x