प्रमुख समाचार

‘देश विकासमा इञ्जिनियरहरुको हस्तक्षेपकारी भूमिका स्थापित गर्न हाम्रो जित आवश्यक’

देश-विकासमा-इञ्जिनियरहर

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:६ बजे

आगामी फागुन २७ गते हुन गइरहेको आसन्न नेपाल इञ्जिनियर्स एशोसियसन (एनइए) को ३३ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा लोकतान्त्रिक समूहबाट उपाध्यक्ष पदको उम्मेदवार रहेका डा. नारायणप्रसाद अधिकारीको विचारमा इञ्जिनियरिङ क्षेत्रलाई परम्परागत सार्वजनिक प्रशासनले थिच्दा विकास प्रशासन ओझेलमा परेको छ । डा. अधिकारी इञ्जिनियरहरुमाझ प्रष्ट भिजन, स्पष्टवक्ता तथा कुशल नेतृत्व क्षमता भएका व्यक्तित्वको रुपमा परिचित छन् । नवीकरणीय ऊर्जा र इञ्जिनियरिङ क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा लामो अनुभव भएका डा. अधिकारी इञ्जिनियरिङ्ग अध्ययन संस्थानबाट मेकानिकल इञ्जिनियरिङमा स्नातक तथा नवीकरणीय ऊर्जा इञ्जिनियरिङ्गमा एम.एस.सी. अध्ययन गरेका छन् । जर्मनीको बोन विश्वविद्यालयबाट नवीकरणीय ऊर्जा विषयमा विद्यावारिधी उपाधी हासिल गरेका डा. अधिकारील थापाथली इञ्जिनियरिङ क्याम्पसमा केही समय अध्यापन पेशामा समेत संलग्न थिए । डा. अधिकारी नेपाल इञ्जिनियर्स एशोसियसनको ऊर्जा व्यवस्थापन समितिको सभापति समेत रहिसकेका छन् । आफ्नो अनुभव, योग्यता, क्षमता, ऊर्जा तथा इञ्जिनियरिङ क्षेत्रमा गरेको योगदान नै आफ्नो जितका सशक्त आधारहरु भएको उनी दाबी गर्छन् । उनै डा. अधिकारीसँग एन.इ.ए. को आसन्न चुनाव, इञ्जिनियरिङ्ग क्षेत्रको वास्तविक अवस्था, लोकतान्त्रिक समूहको घोषणा पत्र तथा प्रतिबद्धतामा आधारित रहेर इकागजले गरेको कुराकानीको सारसंक्षेप :

लामो समयको प्रतीक्षापछि अन्ततः नेपाल इञ्जिनियरिङ्ग एशोसियसनको निर्वाचन हुने मिति नजिकिँदो छ । एशोसियसनको निर्वाचनको इतिहास हेर्दा अधिकांश चुनावी नतिजा लोकतान्त्रिक इञ्जिनियरहरुको पक्षमा भएको देखिन्छ । यहाँ लोकतान्त्रिक प्यानलबाट उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ । चुनावी माहौल कस्तो पाउनु भएको छ ?

नेपालमा इञ्जिनियरहरुको छाता संगठनको रुपमा ‘नेपाल इञ्जिनियर्स एसोसियसन’ रहेको छ । सन् १९६२ मा स्थापना भएको यस एसोसियसनले स्थापनाकालदेखि नै इञ्जिनियरहरुको हकहितको विषयमा आवाज उठाउँदै आएको छ । गत वैशाख २५ गते हुनुपर्ने निर्वाचन विविध कारणले सर्न पुगे पनि अन्तत ः निर्वाचन हुने निश्चित भएपछि इञ्जिनियरिङ समुदायमा खुसीको सञ्चार भएको छ । हामीले चुनावको लागि देश व्यापी प्रचार अभियान सञ्चालन ग¥यौं । देशभर लोकतान्त्रिक प्यानलको पक्षमा व्यापक सद्भाव र समर्थन पाएका छौं । यो अवधिमा हामीले २÷३ पटक मतदाता इञ्जिनियरहरु समक्ष पुग्ने अवसर पायौं । यसले पनि उम्मेदवार र मतदाताबीचको चिनजानलाई फराकिलो बनाएको छ भने आफ्ना प्रतिबद्धताहरु मतदाता इञ्जिनियरमाझ पु¥याउन पनि पर्याप्त समय रह्यो । यद्यपि चुनाव पटक–पटक सर्नु आफैंमा सुखद भने थिएन । यसपालि हामी ३३ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा इ. डा. हरि बहादुर दर्लामीले नेतृत्व गर्नुभएको प्यानलबाट चुनावी प्रतिस्पर्धा गर्दैछौं । निश्चय नै लोकतान्त्रिक समूहले नेपाल इञ्जिनियरिङ एशोसियसनको इतिहासमा सबैभन्दा धेरै एशोसियसनको नेतृत्व गर्ने अवसर पाएको छ । यस पटक पनि हाम्रो प्यानल विजयी हुने विश्वास रहेको छ ।

के छन् तपाईंको प्यानलका चुनावी प्रतिबद्धताहरु ?

लोकतान्त्रिक समूहले विगतमा थुप्रै लोकप्रिय कामहरु गरेका छन् र ती कार्यहरुलाई हामीले विस्तृत रुपमा हाम्रो घोषणापत्रमा व्यवस्थित ढंगले लिपिबद्ध गरेका नै छौं । जहाँसम्म यहाँले उठाउनुभएको प्रतिबद्धताको कुरा छ, संक्षेपमा भन्नुपर्दा देशमा संघीय संरचना कार्यान्वयनमा आइसकेपछि संघीयताको मर्मअनुरुप तीनै तहका सरकारलाई इञ्जिनियरिङ क्षेत्रका अधिकारहरु प्रदान गरिएको छ । सर्वप्रथम ती अधिकारहरुलाई स्थापित गराउन तथा अधिकारको कार्यान्वयनको लागि उच्च मनोबलका साथ कार्य गराउन नेपाल इञ्जिनियरिङ एशोसियसनले भूमिका खेल्नेछ । दोस्रो कुरा, राज्यको विकास निर्माणमा इञ्जिनियरिङ क्षेत्रलाई मूल प्रवाहीकरण गर्ने अर्थात् सबै प्राविधिक संस्थाहरुमा इञ्जिनियरहरु संस्थाको प्रमुख हुने व्यवस्था मिलाउने प्रतिबद्धता रहेको छ । सार्वजनिक प्रशासन र विकास प्रशासनबीचको भिन्नतालाई व्यवहारमै लागू गराई इञ्जिनियरहरुलाई विकास प्रशासनको अगुवाई गर्ने वातावरण सिर्जना गर्ने योजना रहेको छ । प्रस्तावित निजामती विधेयकमा इञ्जिनियरहरुलाई अनुकूल हुने गरी नीतिगत व्यवस्था गर्न पहल गरिनेछ ।

औधोगिक तथा निजी क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको लागि न्यूनतम पारिश्रमिक, हकहित, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता सुनिश्चित गर्ने तथा औधोगिक क्षेत्रमा विदेशी लगानी आइरहेको सन्दर्भमा सो क्षेत्रमा नेपाली इञ्जिनियरहरुले नै काम गर्ने वातावरण तयार गरी ‘ब्रेन ड्रेन’ रोक्ने गरी कार्य गरिनेछ । इञ्जिनियरहरुको व्यावसायिक क्षमता अभिवृद्धिको लागि इञ्जिनियरिङ स्टाफ कलेजको व्यवस्था गरिनेछ । इञ्जिनियरिङ क्षेत्रमा ५५ वटा विधाहरु रहेका छन् । सबै विधाहरुलाई सबै क्षेत्रमा उत्तिकै सम्मान गरिनुपर्ने हाम्रो माग रहेकोले सो मागलाई पूरा गर्न ठोस पहल थालिनेछ ।

भ्यालुएटर एशोसियसनमा हालसम्म सरकारको सपष्ट कार्यविधि छैन । यसलाई व्यवस्थित गर्न लोकतान्त्रिक समूहले प्रभावकारी भूमिका निर्वाह गर्नेछ । इञ्जिनियरिङ क्षेत्रभित्रका विविध उपविधा (सव सेक्टर) हरुलाई नीतिगत रुपमा एकीकृत गर्ने तथा क्षेत्रगत तवरमा स्पष्ट खाका ल्याउने सोच रहेको छ । जस्तै नेपाल भ्यालुएटर एशोसियसनमा पेशागत हक, हित तथा सुरक्षाको लागि आवश्यक नीति नियमको व्यवस्था गर्ने लक्ष्य रहेको छ । त्यसैगरी नेपाल इञ्जिनियरिङ परिषदलाई इञ्जिनियरिङ गुणस्तरको क्षेत्रमा ठोस कार्य गर्न अभिप्रेरित गरी देशका पूर्वाधार क्षेत्रमा भए गरेका कार्यहरुसम्बन्धी राष्ट्रिय बहसमा दर्बिलो उपस्थिति जनाइनेछ ।

इञ्जिनियरिङ क्षेत्रमा के कस्ता समस्या तथा चुनौतिहरु रहेका छन् ?

निश्चय नै यस क्षेत्रमा प्रशस्त समस्या तथा चुनौतिहरु रहेका छन् । देशको विकास निर्माणमा योगदान पु¥याउने महत्वपूर्ण जनशक्ति मानिने इञ्जिनियरिङ क्षेत्रको समाजमा उच्च पेशागत प्रतिष्ठा कायम रहँदै आएको छ । तथापि देशको प्राविधिक जनशक्तिहरु राज्यको नीति–निर्माण तहमा मूलप्रवाहीकरण हुन अझै सकेका छैनन् । नेपालको सार्वजनिक प्रशासनमा विकास प्रशासनको अवधारणा सैद्धान्तिक रुपमा रहेको पाइए पनि कार्यान्वयन भएको आभास हुन सकेको छैन । देशको शिक्षा, स्वास्थ्य, न्याय जस्ता क्षेत्रहरुमा छुट्टै ऐनको व्यवस्था भए पनि इञ्जिनियरिङ क्षेत्रको छुट्टै ऐन हालसम्म नभएको अवस्था छ ।

विकास निर्माण सम्बन्धी कार्यहरुको आफ्नै ‘परियोजना चक्र’ (प्रोजेक्ट साइकल) रहेको हुन्छ । परियोजना चक्रका प्रमुख क्रियाकलापहरुमा आयोजनाको आवश्यकता निर्धारण, आयोजनास्थल छनौट, आयोजनाको जग्गा प्राप्ति, वातावरणीय मूल्यांकन (वन, नदिनाला, जैविक विविधतायुक्त क्षेत्र आदिबाट स्वीकृति लिनुपर्ने), आयोजना कार्यान्वयन आदि रहेका हुन्छन् । विकास निर्माणका कार्यहरु कार्यान्वयन गर्दा, सम्बन्धित सरोकारवाला निकायहरुबाट पूरा गर्नुपर्ने दायित्व समयमै पूरा नहुनु, समयमै बजेट उपलब्ध नहुनु, आवश्यक समन्वय तथा सहकार्य नहुनु जस्ता कारणहरुले कार्यान्वयनमा ढिलासुस्ती हुने गर्दछ । तर यसको सिंगो जवाफदेहिता इञ्जिनियरिङ समुदायले व्यहोर्नुृपर्ने अवस्था छ । तसर्थ इञ्जिनियरिङ समुदायले भोग्नुपरेका यी र यस्तै यावत समस्या तथा चुनौतिहरुको सम्बन्धमा सशक्त आवाज उठाउन लोकतान्त्रिक प्यानलको जित अपरिहार्य रहेको छ ।

नेपालमा प्राविधिक जनशक्तिको संख्या दिन प्रतिदिन बढ्दो छ । तथापि विकासका लक्ष्यहरु हासिल गर्न इञ्जिनियरिङ क्षेत्रको उच्चतम उपयोग गर्न नसकिएको भन्ने बुझाइ रहेको छ । यस क्षेत्रको उच्चतम उपयोग गर्ने के कस्ता योजनाहरु रहेका छन् ?

नेपालमा इञ्जिनियरिङ कलेजहरुको वृद्धिसँगै इञ्जिनियरिङ शिक्षा हासिल गर्न चाहनेहरुको संख्या बढ्दो क्रममा छ । नेपाल इञ्जिनियरिङ काउन्सिल ऐन, २०५५ बमोजिम स्थापित संस्था नेपाल इञ्जिनियरिङ काउन्सिलको २०७८ आश्विनसम्मको तथ्यांक अनुसार हालसम्म विभिन्न ४४ विधाका ६४ हजार ६ सय २० जना इञ्जिनियरहरु काउन्सिलमा दर्ता भइसकेका छन् । काउन्सिलमा हालसम्म आबद्ध भएका ५० वटा इञ्जिनियरिङ्ग कलेजहरुले वार्षिक सरदर तीन हजार पाँच सयजना इञ्जिनियर उत्पादन गर्ने अनुमान रहेको छ । एसोसियसनमा हाल ३६ हजार भन्दा बढी इञ्जिनियरहरु आबद्ध छन् । राष्ट्र विकासमा सबै क्षेत्रहरुको योगदान उत्तिकै महत्वपूर्ण रहने र सोही बमोजिम कार्य गर्ने वातावरण तथा मूल प्रावहीकरण हुनु अनिवार्य शर्त हो । तसर्थ विकास निर्माणमा अग्रणी भूमिका रहने इञ्जिनियरिङ क्षेत्रको हालको अवस्थाको यथार्थ चित्रण गरी देशले लिएका विकासका लक्ष्यहरु हासिल गर्न कसरी इञ्जिनियरिङ क्षेत्रको उच्चतम उपयोग गर्ने भन्ने सवालमा माथि भनिए झैं हाम्रा प्रतिबद्धताहरुमा प्रष्टै उल्लेख गरिएको छ ।

चुनावी मैदानमा विभिन्न राजनीतिक पार्टीसँग सम्बद्ध प्यानलहरु रहेका छन् । नेपाली कांग्रेसको भातृ संगठन सिडेनको लोकतान्त्रिक प्यानललाई नै भोट किन ?

एकदमै महत्वपूर्ण प्रश्न हो यो । लोकतान्त्रिक मूल्य र मान्यता, इञ्जिनियरिङ आदर्श एवं पेशागत स्वतन्त्रताप्रति प्रतिबद्ध हाम्रो समूहले प्रभावकारी रुपमा कार्य सम्पादन गर्न सक्छ भन्ने कुरा विगतको उपलब्धिले नै प्रष्ट पारिसकेको छ । नयाँ संविधानको कार्यान्व्यनबाट लोकतन्त्र, मौलिक हक तथा नागरिक अधिकार संस्थागत हुन लागेको वर्तमान अवस्थामा पेशागत मर्यादा र हकहित दुवैलाई एक अर्काका परिपूरकका रुपमा लिई सन्तुलित रुपमा नेपाल इञ्जिनियर्स एशोसियसनका केन्द्रीय तथा प्रादेशिक एकाइलाई प्रभावकारिताका साथ अगाडि बढाउन इञ्जिनियरहरुलाई केन्द्रमा राखी अगाडि बढेको समूह भएकोले लोकतान्त्रिक प्यानललाई भोट दिनु आवश्यक छ ।

ज्ञान नै शक्ति, श्रम नै भक्तिको मर्मलाई आत्मसात गर्दै स्थापित यस एशोसियसनको लोकतान्त्रिक समूहमा रहेर नेतृत्व प्रदान गरेका विगतका कार्यकारिणी समितिले गरेका इञ्जिनियरिङ परिषदको स्थापनादेखि वृत्ति विकास, विपद व्यवस्थापन लगायतका क्षेत्रमा गरेका हस्तक्षेपकारी भूमिकाको सम्मानको लागि पनि लोकतान्त्रिक प्यानललाई भोट दिनु आवश्यक छ । त्यसैगरी हाम्रो मूलभूत लक्ष्य देशको समग्र विकास निर्माणमा इञ्जिनियर÷आर्किटेक्टहरुको योगदानलाई मर्यादित रुपमा स्थापित गर्दै कार्य सम्पादनमा नैतिकता, निर्माणमा गुणस्तरीयता र पेशागत कार्यमा इमान्दारिता कायम गर्नु हो ।

यसको प्राप्तिका लागि विगतका कार्यकारिणी समितिले प्रारम्भ गरेका प्रयासहरुलाई निरन्तरता दिंदै हालसम्म प्राप्त गरेका उपलब्धिहरुलाई सुदृढ गर्न स्तरीय इञ्जिनियरिङ शिक्षा, इञ्जिनियरहरुको सेवा, सुविधा तथा क्षमता अभिवृद्धि, इञ्जिनियरहरुको सम्मानजनक रोजगारी एवं नवप्रवर्तन प्रवद्र्धन, इञ्जिनियरिङ सम्बद्ध निजी क्षेत्रको विकास, इञ्जिनियरहरुको हकहितको संरक्षण , इञ्जिनियरिङ पेशा र समाजबीच मर्यादित सम्बन्ध जस्ता बृहत्तर उद्देश्यमा अन्तरनिहित रही विभिन्न कार्यक्रमहरु गर्न संकल्पकृत समूह भएकोले लोकतान्त्रिक समूहलाई आफ्नो अमूल्य मत प्रदान गर्न आवश्यक ठान्छु ।

अन्त्यमा यहाँको भन्नु केही छ कि ?

हामी लोकतान्त्रिक प्यानलबाट चुनाव लडे पनि विना पक्षपात समग्र इञ्जिनियरिङ क्षेत्रकै विकासको लागि खुला हृदयले लाग्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं । लोकतान्त्रिक प्यानल एशोसियसन सञ्चालन र प्रतिबद्धता कार्यान्वयन गर्ने पूरानो र अनुभवी संगठन भएकोले केन्द्रीय कार्यकारिणी समिति, प्रदेश कार्यकारिणी समिति र नेपाल इञ्जिनियरिङ परिषदका सदस्य लगायत देशभरका सम्पूर्ण उम्मेदवारहरुलाई आफ्नो अमूल्य मत दिएर विजयी गराउनुहुन सम्पूर्ण इञ्जिनियर महानुभावहरुलाई अनुरोध गर्दछु ।



Author

थप समाचार
x