प्रमुख समाचार

भागरथी हत्या प्रकरण : अभियुक्तले बयान फेरे

नवराज पनेरु |
चैत ८, २०७७ आइतबार १९:२९ बजे

धनगढी : बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणका अभियुक्त दिनेश भट्टले आफ्नो बयान फेरेका छन् । जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधार गृहमा रहेका दिनेशले बयान फेरेको उनका बुवा दीपकप्रसाद भट्टले दाबी गरेका हुन् । ‘सुधार गृहमा पुगेपछि फोनमा कुराकानी गर्दा मैले हत्या गरेको होइन् भन्यो,’ उनले भने, ‘शनिबार दीपायल गएर भेटेको थिएँ । त्यसबेला डरले भनेको हुँ मैले हत्या गरेको होइन भन्यो ।’

आफूले हत्यारालाई देखेको र कसैलाई बतायो भने मारिदिन्छु भनेका कारण हत्या स्वीकारेको बताएको अभियुक्तका बुवा भट्टले बताए । उनले अगाडि भने, ‘विद्यालयबाट घर फर्कने बेला भागरथीलाई मारेको देखेको र कसैलाई भनेमा तिम्रो बुवा र भाईलाइसमेत मारिदिन्छु भन्‍ने धम्की दिए अनि झुटो बोलेको भन्यो ।'  भागरथीको हत्या गर्ने एकजनालाई आफूले चिनेको समेत दिनेशले दाबी गरेको उनका बुवाले बताएका छन् । 


यसअघि भने दिनेशले आफूले हत्या स्वीकार गरेको भन्दै प्रहरीले फागुन ४ गते उनलाई सार्वजनिक गरेको थियो । सरकारी वकिलको कार्यालय बैतडीमा बुवा दिपकराज भट्टकै अगाडि उनले भागरथीको बलात्कार गरेर हत्या गरेको स्वीकार गरेका थिए । यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले अनौपचारिक रुपमा सार्वजनिक भएका कुराहरुको अर्थ नरहेको बताए ।

घटना दिनेशले नै घटाएको हो भन्ने प्रमाण प्रहरीसंग रहेको दाबी उनको छ । सनातन धर्म मावि खोचलेकबाट माघ २१ गते घर फर्किने बेला हराएकी भागरथीको २२ गते शव भेटिएको थियो । पोष्टमार्टमपछि भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । 


Author

थप समाचार
x