प्रमुख समाचार

हेटौंडाको दिव्य पार्क तोडफोड : जीवराजको प्रतिमा उखेलेर फालियो, मदनको शिर भाँचियो

सरिता दाहाल |
बैशाख ९, २०७९ शुक्रबार ८:८ बजे

मकवानपुर- हेटौंडा-९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा तोडफोड भएको छ । गएराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको प्रतिमा तोडफोड गरेका हुन् ।

आज बिहान पार्कमा मर्निङ वाक गर्न गएका स्थानीयले शालिक तोडिएको देखेपछि पार्क व्यवस्थापन समितिलाई जानकारी गराएका थिए । समितिले प्रहरीलाई जानकारी गराउँदै अहिले ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारीसहितको टोलीको घटनाको अनुगमन सुरु गरिसकेको छ ।


आसन्‍न स्थानीय निर्वाचन नजिकिँदै गर्दा यस किसिमको घटनाले नियोजित रुपमा राजनीतिक पुर्वाग्रह राखेर नै तोडफोड गरिएको हेटौंडा-९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले आरोप लगाए । पार्कमा अन्य कुनै संरचनालाई क्षति नगरी मदन-आश्रितको मात्र प्रतिम तोडिनुले वडाको गौरवको योजनाको रुपमा रहेको पार्क निर्माणको लक्ष्यमा ठेस पुगेको उनको भनाई छ ।

जीवराज आश्रितको प्रतिमा पुरै उखेलेर फालिएको छ भने मदन भण्डारीको शिर भाँचेर लगभग ५० मिटरको दुरीमा लगेर फालिएको अवस्थामा भेटिएको छ । गत असार १४ गते तत्कालिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबाट मदन-आश्रितको अर्धकदको प्रतिमा अनावरण गरिएको थियो । दीव्य बाल उद्यानमा बागमती प्रदेश सरकार, तथा स्थानीय सरकारको लगानीमा पर्यटनकीय गन्तव्यको रूपमा विकास गरिँदै छ । यहाँ मदन-आश्रीत, गौतम बुद्धलगायतको प्रतिमा स्थापना गरिसकिएको छ भने विभिन्न आकर्षक संरचनाहरू निर्माण कार्य जारी छ । 


Author

थप समाचार
x