प्रमुख समाचार

पाँच वर्ष अन्धभक्त भएर जनताका काम गरेँ, मलाई मतदाताले फेरि पनि जिताउँछन्

'वडा नम्बर तीनलाई विभाजन गरेर दुईटा वडा बनाउनुपर्छ'

इकागज |
बैशाख २२, २०७९ बिहीबार ७:२१ बजे

मोहन्याल गाउँपालिका वडा नम्बर ३ मा नन्दराम गिरी (नविन)ले पुनः वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । पाँच वर्षे कार्यकालमा प्रतिबद्धताअनुरूप काम गरेको बताउँदै फेरि जनसेवा गर्न उम्मेदवार बनेको उनको भनाइ छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गिरी हाल चुनाव प्रचारमा व्यस्त छन् । विगतमा गरेका कामको फेहरिस्त सुनाउँदै घरदैलोमा रहेको गिरी भन्छन्, ‘मैले पाँच वर्ष जनताको सेवाबाहेक अरु केही देखिनँ । अन्धभक्त भएरै जनसेवामा लागेँ । पाँच वर्ष गरेको जनसेवा र समयको फल यो चुनावमा पाउँछु ।’ चुनावी सन्दर्भमा गिरीसँग इकागजले गरेको कुराकानीः 

पाँच वर्षे कार्यकालमा के–के काम गर्नुभयो ?
म निर्वाचित भएर आउनुअघि वडा नम्बर ३ मा फलेबिसौनाबाहेक कतै यातायातको व्यवस्था थिएन । त्यो पनि बर्खामा बाटो चल्दैन थियो । अहिले फलेबिसौनामा कालोपत्रे बाटो छ । बाटै नपुगेका गाउँ/ठाउँमा ट्रयाक खुलेका छन्। कच्ची बाटा पुगेका छन् । थुप्रै गाउँमा खानेपानीको व्यवस्था थिएन । अहिले त्यो समस्या टरेको छ । राजिरेक्ता, राँगा मलेखा, ताम्चा, भत्कुरी, फलेबिसौनामा नै पनि खानेपानीको व्यवस्था गरिएको छ । धेरै ठाउँमा सिचाईंको व्यवस्था गरिएको छ । राजिरेक्चा, मलेखास्तो ठाउँमा पनि लिफ्टमार्फत सिँचाईंको काम अगाडि बढिसक्या छ । असार मसान्तसम्म सम्पन्न हुन्छ । फलेबिसौनामा पनि सिचाईंका काम भइरहेका छन् । अन्तिम चरणमा छन् । 


स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि थुप्रै काम भएका छन् । मोहन्यालको वडा नम्बर ३ सबैभन्दा बढी विद्यालय भएको वडा हो । भौतिक संरचनादेखि व्यवस्थापनका काम भएका छन् । बालशिक्षाका कामहरू भएका छन् । नयाँ स्कुलदेखि टाँढा रहेको बस्तीमा पनि बालशिक्षा स्थापना गरेका छौँ । चार/पाँच वटा थप गरेका छौँ । मठमन्दिरका कुरा पनि भएका छन् । सन्चार क्षेत्रमा एउटा टावर बनेर सन्चालनमा आइसक्यो । अर्को बन्दै छ । सुगरखालमा टेलिकम टावर बन्दै छ । फलेबिसौनामा सम्पन्न भएर सन्चालनमा आइसक्यो । 

अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धता कति पूरा गर्नुभयो ? 

अघिल्लो निर्वाचनमा मैले गरेका अधिकांश प्रतिबद्धता पुरा गरेको छु । केही-केही वडाबाट सम्भव नहुने कामहरू सकिएन । किनकी मैले प्रदेश र संघीय सरकारबाट सहयोग पाइनँ । अन्य वडाको तुलनामा बजेटको सिलिङ हेर्ने हो भने प्रदेश र केन्द्रबाट आउने बजेट तीन नम्बर वडामा एकदमै न्यून छ । शून्य बराबर छ । त्यो कारण कतिपय काम गर्न सकिएन । अब मलाई लाग्छ आउने निर्वाचनमा कांग्रेसको बहुमत आउँछ । प्रदेश सरकार पनि बन्ने सम्भावना छ । संघीय सरकार पनि बन्छ भन्ने लाग्छ । संघ र प्रदेशमा कांग्रेस सरकार भएको खण्डमा बाँकी केही ठूला काम गर्नुछ । गर्न सकिन्छ ।

गाउँपालिका कार्यालयको टुंगो नलाग्ने सबैभन्दा ठूलो समस्या छ । आफ्नै स्थायित्व छैन । गाउँपालिकाको कार्यालयको समस्या छ । यदि मोहन्यालमा कांग्रेसको बहुमत आएको खण्डमा एक वर्षभित्रै सबै जनतालाई पायक पर्ने र सहज हुने ठाउँमा गाउँपालिका कार्यालयको टुंगो लगाउँछौँ ।

नयाँ योजना के छन् ?
वडा नम्बर ३ मा यातायातको पहुँच बढाउने योजना छ । १२ महिना चल्ने बाटाहरू बनाउने योजना छ । यो वडा भौगोलिक हिसाबले अलि ठूलो छ । जनसंख्या पनि छ ।  यसलाई विभाजन गरेर दुई वडा बनाउन सकियो भने अझैं बढी विकास गर्न सकिन्छ । दुई वडा बनाउनु पर्छ भन्ने मेरो एजेण्डा हो । जनतालाई पनि भनिरहेको छु । यो नगरी नहुने काम पनि हो । 

कर्णाली भेगतिर नदी कटानका समस्या छन् । तटबन्धनको व्यवस्था पनि नगरी नहुने छ । कर्णाली नदीमा वारपार गर्न समस्या छ । ढुंगा चढेर जानुपर्ने बाध्यता छ। यहाँ झोलुङ्गे पुलको आवश्यकता छ । ताम्चामा पुलको आवश्यकता छ । राजिरेक्चा र सोल्टा जोड्ने पुल आवश्यक छ । यो पनि गर्नुपर्छ । आगामी कार्यकालमा निर्वाचित भए भने यी काम गर्छु । 

घरदैलोमा गइरहदा जनताले के भन्छन्, मतदाताका गुनासा, सुझाव र अपेक्षा कस्ता छन् ?

म जनताको घरघरै पुगिरहेको छु । यो मेरा यो लागि नयाँ र नौलो त होइन । पाँच वर्षे कार्यकालमा प थुप्रै पटक जनताको घरमा पुगेको छु । जनता एकदम खुसी छन् । सरकार पाएको महसुस गर्‍यौँ भन्छन् । नेपालमा पनि सरकार रहेछ । विकास गर्न सम्भव रहेछ । नेताहरूले चाहे हुँदो रहेछ भन्ने जनताको प्रतिक्रिया छ । कर्णालीको पानी खाने मान्छे घरनिर धारमा पानी पाएका छौँ । सिचाईं पाएका छौँ । टाउँकोमा भारी बोक्ने ठाउँमा गाडीमा हिँडिरहेका छौँ भन्छन् । 

मतदाताले फेरि तपाईंलाई नै भोट दिन्छन् त ?
मतदाताले तपाईबाहेक विकल्प सोच्न सक्दैनौँ भन्छन् । अझैं केही समस्या छन् ती समस्या समाधान गर्नुपर्छ भन्छन् । माओवादी र एमालेका साथीहरू पनि पार्टी आफ्नो ठाउँमा छ । व्यक्तिगतरूपमा हामी नविनबाहेक अरुलाई भोट दिन सक्दैनौँ भन्छन् ।

चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ ? 
म एकदमै विश्वस्त छु । किनभने मैले पाँच वर्षे कार्यकालमा जनताको सेवाबाहेक अरु केही देखिनँ/गरिनँ। एकदमै अन्धभक्त भएरै जनसेवामा लागेँ । त्यो सेवा र समयको अहिले फल पाइरहेको छु । जित्नेमा ढुक्क छु ।

वडा नम्बर तीनमा तपाईंका प्रतिद्वन्द्वीलाई कसरी हेर्नुभएको छ ?

त्यति कमजोर हिसाबले चाहिँ हेरेको छैन र बलियो रूपमा पनि हेरको छैन । उहाँहरू पनि लागिराख्नु भएको छ । उहाँहरूको बारेमा पनि प्रत्येक गाउँमा बुझ्छु । उहाँहरूकै पार्टीका मान्छेका घरमा जाँदा सोध्छु । उहाँहरूले ‘उहाँ(प्रतिद्वन्द्वी उम्मेदवार) पार्टीको उम्मेदवार हो । व्यक्तिगत उम्मेदवार तपाईं हो,’ भन्नुहुन्छ । विशेषगरी एमाले र माओवादीसँग प्रतिस्पर्धा छ । 

विगतको पाँच वर्षे कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ? यदि पाँच वर्षे कार्यकाललाई १० पूर्णाङ्क मान्ने हो भने कति नम्बर दिनुहुन्छ ?

मैले गरेको कामको मूल्यांकन जनताले गर्ने हो । मतदाताले गर्ने हो । उहाँहरूले गर्नुभएको छ जस्तो लाग्छ । उहाँहरूकै कुरा सुन्दा मैले राम्रो गरेको छु । मतदाता खुसी छन् । गत चुनावमा मैले गरेको वाचा र प्रतिबद्धताअनुसार काम गरेको छु । मैले आफ्नो तर्फबाट सतप्रतिशत काम गरेको छु । नम्बर दिने जिम्मा मतदातालाई नै छोड्दिऊ ।


Author

थप समाचार
x