संसद्

पत्रकारहरु बिक्रीमा रहेको सभामुख घिमिरेको टिप्पणी

इकागज |
चैत ३, २०७९ शुक्रबार १६:१७ बजे

फाइल फोटो

काठमाडौँ - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गरेका छन् । शुक्रबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेको बताएका हुन् । 

सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर 'विग हाउस'हरुले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरूलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे । मुलुकमा पीत पत्रकारिता निकै डर लाग्दो गरी देखा परेको सभामुख घिमिरेको बुझाई छ । उनले पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए । 


सभामुख घिमिरेले सरकार र पत्रकारहरुबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताए । उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरुले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराए । 

सभामुख घिमिरेले भने,  ‘पत्रकारहरू जति जिम्मेवारीसाथ पत्रकारिता गर्नुपर्थ्यो । अन्यथा नलिनुहोला । यो पत्रकार महासंघ हो । त्यो खालको छैन । पीत पत्रकारिता अहिले पनि निकै डर लाग्दो गरी छ । जेजे कारणले भएपनि तिनीहरू प्रभावित छन । अझ अर्को भन्ने हो भने त बिक्रीमा छन पत्रकारहरू । अव पत्रकारहरू बिक्रीमा छन । संघ बिक्रीमा छ भन्यो सभामुखले भन्लान कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन । र, त्यो भन्नु पनि हुँदैन तपाईहरुले । किन यो त हाम्रो आफ्नो भित्री कुरा हो नि । त्यसको प्रभावचाँही कुनै न कुनै रुपमा परिरहेको छ । विग हाउसहरुले प्रभावित पारेको छ । थर्काएर गरेको छ । किनेर गरेको छ । फकाएर गरेको छ । अनेक ढंगबाट गरेको छ । त्यसको प्रभाव हाम्रो सोसाइटीमा निकै परेको छ । यसबाट मुक्त भएर पत्रकारिता र सरकारको बीचमा कसरी सम्बन्ध राम्रो बनाएर लैजाने होला । चाहे त्यो ऐन ल्याउने सन्दर्भमा होस् वा कार्यान्वयन गर्दा विनियमहरु बनाउने, नियमावली बनाउने, तिनीहरूको तल कार्यान्वयन गर्ने सन्दर्भमा होस् । यी र यस्ता समस्याहरूलाई कसरी हल गर्ने ? यो चाँही अलि समस्या हो । यो समस्याको समाधान गर्नु तपाई हाम्रो कर्तव्य हो जस्तो लाग्छ । र, यसलाई हामीले हल गरेको गयौं भने पत्रकारहरू पनि यस्तो प्रभावितबाटकसरी मुक्त हुने त ? यो समस्याको हल गर्नु पर्छ । किनभने यी हाम्रा समस्या हुन । तर अव राज्यले कुनै पनि ऐन, कानुन ल्याउँदा खेरी लुकेर, छिपेर एकैचोटी ल्याउनुपर्ने त होइन नि ।’

सभामुख घिमिरेले कानुनको अभावमा मुलुकमा ठगीहरु बढिरहेकाले त्यसलाई नियन्त्रण हुने गरी कानुन निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरुलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने बताए । उनले कानुन निर्माणमा, राष्ट्र निर्माणमा र मुलुकलाई सही बाटोमा अघि बढाउन पत्राकारहरुको भूमिका महत्वपूर्ण हुने भएकाले पत्रकारहरुले सोही अनुसार सञ्चारका कामहरु गर्नुपर्ने बताए । 

सभामुख घिमिरेले भने,  ‘कानुनको अभावमा धेरै नराम्रा कुराहरु भइरहेका छन । नयाँनयाँ परिस्थिति तथा परिवेशहरु सञ्चार क्षेत्रमा देखा परिरहेका छन । ठगहरु देखा परेका छन । कन्ट्रोल गर्ने समस्याहरू पनि देखा परेका छन । यी जस्ता कुराहरुमा राजनीतिक पार्टीहरुको चेतना पुग्नु पर्‍यो । नेताहरु चेतना त्यहाँ पुग्नु प¥यो । अनि, ती समस्या समाधान हुने गरी विधेयकहरू सरकारमार्फत आउनु पर्‍यो । त्यसका लागि पत्रकारहरुको भूमिका होस् ।  पत्रकारहरूको कानुन निर्माणमा, राष्ट्र निर्माणमा, के ठीक, के बेठीक हो भन्नेमा त्यसमा ठूलो भूमिका छ ।’

त्यस अवसरमा महासंघका अध्यक्ष विपुल पोखरेलले भने मिडियामैंत्री कानुन निर्माणमा नेतृत्वदायी निर्वाह गर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए ।  


Author

थप समाचार
x