संसद्

'झट्केलो छोरो' शब्द रेकर्डबाट हटाउन अध्यक्ष तिमल्सिनाको निर्देशन

इकागज |
बैशाख २६, २०८० मंगलबार ११:४४ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वैशाख २४ गतेको सभाको बैठकमा सत्तापक्षका सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको शब्द रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएका छन् । 

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले सत्तापक्षका सांसद रमेशजंग रायमाझीले प्रयोग गरेको उनको झट्केलो छोरो हो, टोपबहादुर रायमाझी भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् । 


वैशाख २५ गतेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले रमेशजंग रायमाझीको शब्दप्रति नियमापत्ति जनाएका थिए् । एमालेले नियमापत्ति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले आफूले एक पटक सुनेर आजको बैठकमा निर्णय लिने बताएका थिए । सोही अनुसार आजको बैठकमा अध्यक्ष तिमिल्सिनाले सदस्य रायमाझीले प्रयोग गरेको राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ को घको व्यवस्थासँग मेल नखाने भएकाले २०८० वैशाख २४ गतेको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए । 

उनले भने, ‘माननिय सदस्यहरु, हिजो मिति २०८०,१ २५ गतेको बैठकमा प्रमुख प्रतिपक्षका माननीय सदस्य भैरवसुन्दर श्रेष्ठले उठाउनुभएको विषयमा सभाको ध्यानाकर्षण भएको छ । माननीय सदस्यले ध्यानाकर्षण गराउने सन्दर्भमा २०८० वैशाख २४ गतेको बैठकमा दलका नेताहरुले आफ्ना भनाइ राख्ने क्रममा माननीय रमेशजंग रायमाझीबाट प्रयोग भएको शब्द रेकर्डबाट हटाइयोस् भनि माग गर्नुभएकोले उहाँले बोल्दा प्रयोग गर्नुभएको उहाँको झट्केलो छोरो हो, टोपबहादुर रायमाझी भन्ने शब्द राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ को घको व्यवस्थासँग मेल नखाने भएकाले २०८० वैशाख २४ गतेको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।’

अध्यक्ष तिमिल्सिनाले सदस्यहरुले सभामा बोल्दा राष्ट्रिय सभाको हाल सम्मको अभ्यासलाई समेत मध्यनजर गरी राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ को व्यवस्था बमोजिम शिष्ट र मर्यादित शब्दहरु प्रयोग गर्न आग्रह गरे । 


Author

थप समाचार
x