संसद्

संसद् अधिवेशन नचलेको बेलामा के गर्दै छ संसद् सचिवालय ?

इकागज |
मंसिर ८, २०८० शुक्रबार १५:४४ बजे

काठमाडौँ- संघीय संसद् सचिवालयले संसद् अधिवेशन अन्त्य भएको अवस्थामा पनि संसदीय समितिहरूले भने निरन्तर काम गरिरहेका जनाएको छ ।

संघीय संसदको दुवै सदनको अधिवेशन गत कार्तिक १६ गते अन्त्य भयो । सो दिन प्रतिनिधि सभाको दोस्रो अधिवेशन र राष्ट्रिय सभाको चौथो अधिवेशन अन्त्य भएको हो । संसद् अधिवेशन अन्त्य भएसँगै नयाँ बानेश्वरस्थित संघीय संसद् भवन सुनसान बनेको छ । यता, सांसदहरू र सांसदलाई भेट्न आउने आगन्तुकहरूले सधैं भीड हुने सिंहदरबार क्षेत्रमा पनि मानिसहरूको चाप निकै कम भएको छ ।


संसदको अधिवेशन अन्त्य भएको यो बेलामा पनि संघीय संसद् सचिवालयले भने प्रशासनिक कामको अलावा पनि संसदीय गतिविधिहरू जारी रहने जनाएको छ । शुक्रबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्य भए पनि संसदीय समितिहरूले भने काम गरिरहेका बताए । उनले यस अवधिमा समितिहरूले समितिमा विचाराधीन अवस्थामा रहेका विधेयकहरूमाथि विस्तृत रूपले छलफल  गर्ने बताए ।

त्यसैगरी समितिहरूले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित मन्त्रालयले गरिरहेका कामहरूको निगरानी गर्ने, कार्य प्रगति बुझ्ने र आवश्यकता अनुसार निर्देशन दिने कामहरू समेत गर्ने उनले जानकारी दिए ।

प्रवक्ता गिरीका अनुसार सचिवालयले यसै अवधिमा सफ्टवेयरहरू अपडेट गर्ने, भिडियो तथा अडियो रेकर्डहरूको व्यवस्थापन गर्ने लगायतका कामहरू गर्ने गर्छ । त्यसैगरी वेबसाइटहरूलाई परिष्कृत गर्ने काम पनि यसै समयमा हुन्छ । उनले यो बेलामा नीतिगत प्रकारका र क्षमता अभिवृद्धिका कामहरू पनि संघीय संसद् सचिवालयले सम्पन्न गर्ने बताए ।

कुराकानी गर्दै राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले समितिहरू सुचारु अवस्थामा रहेको बताए । उनले कतिपय समितिहरूले अधिवेशन अन्त्य भएको समयमा अनुगमनका कामहरू गर्ने गरेको बताए । उनले समसामयिक विषयहरूमा सरकारलाई ध्यानाकर्षण गराउने र निर्देशन गराउने कामपनि समितिहरूले गर्नसक्ने र सोही अनुरूप गरिरहेका पनि बताउए ।

सभापति पन्थले अधिवेशन अन्त्य भएको बेलामा सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा पनि केन्द्रित हुने गरेका बताए । 


Author

थप समाचार
x