संसद्

संसद् र समिति सञ्चालन गर्न सरकारले बजेट नियन्त्रण गर्‍यो : सभामुख घिमिरे

इकागज |
मंसिर ११, २०८० सोमबार १७:८ बजे

काठमाडौँ- सभामुख देवराज घिमिरेले संसद् र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्नका लागि सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको बताएका छन् । सोमबार संसदीय समितिका सभापतिहरूसँग समितिको कामकारबाहीलाई अघि बढाउनेबारेमा सिंहदरबारमा छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

सभामुख घिमिरे संसद् र संसदीय समितिको बैठक कार्यालय समयमै राख्न अर्थमन्त्री डा.प्रकाशशरण महतले आग्रह गरेको जिकिर गरे । उनले नियमित समयबाहेक बैठक राख्दा कर्मचारीहरूलाई अतिरिक्त सुविधा नदिएको गुनासो कर्मचारीहरूले गरेको बताए । उनले विगतमा संसदलाई विभिन्न विदेशी एवं दातृ निकायहरूबाट सहयोग प्राप्त हुने भए पनि पछिल्लो समय सहयोग घट्दै गएको र कतिपय सहयोग नेपालका लागि उपयुक्त नभएकाले पनि कम बन्दै गएको बताए ।


सभामुखले संसदीय गतिविधि अघि बढाउन आर्थिक पाटोलाई अर्थमन्त्री डा. महतले नियन्त्रण गरेको भनाइ राखे । बजेटको अभावमा सभा प्रभावकारी हुन नसकेको र सरकारले संसदलाई चलायमान र प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनकाे भनाइ छ ।

सभामुख घिमिरेले विगतका बैठकमा कर्मचारीहरूलाई अतिरिक्त समयको भत्ता दिन नसकेको भन्दै यसलाई व्यवस्थित नगर्ने हो भने संसद् र संसदीय समिति चल्न कठिन रहेको बताए ।


Author

थप समाचार
x