संसद्

सांसदहरुले भने: एनसेलको ६ अर्बको सेयर किनेर अर्को टेलिकम बनाऔं

इकागज |
मंसिर २०, २०८० बुधबार २०:४४ बजे

फाइल फोटो

काठमाडौँ - एनसेलको सेयर खरिद बिक्री प्रकरणको सुक्ष्म अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । 

बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बोल्दै सांसदहरुले एनसेलको सेयर खरिद बिक्री प्रकरणको गहिरोगरी अनुसन्धान गर्नुपर्नेमा सांसदहरुले जोड दिएका हुन् । एनसेलले आफ्नो ८० प्रतिशत सेयर बेच्दा कर छलि गरेको भन्दै यसको अनुसन्धान गर्नुपर्ने सांसदहरुको भनाई छ । बैठकमा बोल्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नेपालमा आम्दानी गरेर विदेशमा लगेर कम्पनी बेचेको भन्दै यसप्रति सरकारले ध्यान दिनुपर्ने बताए । उनले एनसेलको कारोबार शंकास्पद र जालझेलपूर्ण रहेको बताए । 


उनले भने, ‘कारोबार नेपालमा गर्ने, आम्दानी नेपालमा गर्ने, अनि बिक्री गरेर विदेशमा लग्ने ? यसको लगाम कसले लगाउने त ? नेपाल सरकारको ध्यान यसमा जानु पर्दैन र ? नेपालमा आम्दानी गरेर विदेशमा बसेर विक्री, वितरण गर्ने ? दुई महिना पछि प्रेस विज्ञप्तीबाट जानकारी गराउने ? सबै कुरा नै, सबै कारोबार नै शंकास्पद छ । जालझेल छ । प्रपञ्च रचिएको छ । यसमा ठूला–ठूलाहरुको संलग्नता बुझिरहेका छौँ ।’

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले एनसेल प्रकरणमा राजनीतिक व्यक्तिहरुको संलग्नता पनि हुन सक्ने आशंका व्यक्त गरे । उनले छानविन समिति बनाउँदा राजनीतिक रंग पर्न नदिइ न्यायिक आयोग बनाउनुपर्ने र त्यसले छानविन गर्नुपर्ने बताए । 

नेकपा(एमाले)का सांसद योगेश भट्टराईले एनसेल डुब्दा बैंक डुब्ने र बैंक डुब्दा नेपाली जनता समेत डुब्ने भन्दै यसप्रति सचेत हुनुपर्ने बताए ।  उनले एनसेलले ६ अर्बमा आफ्नो सेयर बेच्ने हो भने सेयर किन्ने पहिलो अधिकार नेपाल सरकारलाई हुने बताए । उनले सरकारले ६ अर्बमा सेयर किनेर अर्को टेलिकम बनाउन सक्ने बताए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले एनसेलले नेपालको दूरसञ्चार क्षेत्रलाई नै आफ्नो नियन्त्रणमा राख्न योजनावद्ध ढंगले लागेको भन्दै यसप्रति गम्भिर हुनुपर्ने बताए । उनले छानविन प्रक्रिया अगाडी बढाउनुपर्ने बताए । 

उनले भने, – ‘उसले अर्को के षड्यन्त्र गरिराखेको छ भने टावर कम्पनी खडा गर्ने । त्यो टावर कम्पनीलाई कुनै संयन्त्रले, सरकारी निकायले मान्यता दिने । त्यो टावर पनि बेचिदिने । यो ६ वर्षभित्र टावर त्यो कम्पनीलाई बेचिदिने त्यो कम्पनीपनि आफ्नै मान्छेको हुनेछ । अनि एनसेलसँग ६ वर्षपछि नाम मात्रै हुन्छ । यस प्रकारको योजनावद्ध ढंगले जसरी नेपालको राजश्व, दूरसञ्चार प्रदायकहरुलाई नियन्त्रणमा राख्ने योजनावद्ध ढंगले लागेको छ । हामीले गम्भिरतापूर्वक लिनुपर्छ । छानविन प्रक्रिया अगाडी बढाउनुपर्छ ।’

नेकपा(एकीकृत समाजवादी)का सांसद प्रेम आलेले सरकार दह्रो रुपमा प्रश्तुत भएर एनसेल प्रकरणको छानविन गर्नुपर्ने बताए । 

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एनसेललाई कर नतिरुञ्जेल र बैंकको ऋण नतिरुञ्जेल कुनै निर्णय गर्न दिनु नहुने बताए । उनले एनसेलले सेयर खरिद बिक्रीमा सरकारको अस्तित्वलाई समेत अस्वीकार गरेको भन्दै एनसेलप्रति छानबिन हुनुपर्ने बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पनि एनसेलको सेयर प्रकरणमा स्वतन्त्र छानबिनको माग गरे । उनले सर्वदलीय, उच्चस्तरीय नाम दिएर छानबिन समिति नबनाइ स्वतन्त्र र निष्पक्ष ढंगले छानविन गर्नसक्ने समिति बनाउनुपर्ने बताए । 

बैठकमा बोल्ने अन्य सांसदहरुले पनि एनसेलको सेयर किनबेचमा आर्थिक घोटाला भएको भन्दै छानविनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।


Author

थप समाचार
x