संसद्

सांसदहरूले भने : समाज कल्याण परिषदको कामकारबाही प्रभावकारी भएन

इकागज |
माघ २९, २०८० सोमबार १७:१३ बजे

काठमाडौँ- सांसदहरूले समाज कल्याण परिषद् अन्तर्गत भइरहेका कामकारबाहीप्रति प्रश्न उठाएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उनीहरूले परिषदमा अनियमिततासम्बन्धी विषय उठेको र संस्थाको कामकारबाही प्रभावकारी नभएको बताएका हुन् । परिषद्ले आफ्नो जिम्मेवारीअनुरूप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत भइरहेका कामको पर्याप्त नियमन र अनुगमन गर्न नसकेको उनीहरूको भनाइ छ ।


समिति सदस्य अर्जुननरसिंह केसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थालाई नियमन गर्न परिषद्को ऐन नै परिमार्जन गर्नुपर्ने अवस्था देखिएको बताए । उनले समाजकल्याण परिषद्को काम प्रभावकारी नहुँदा लक्षित वर्गमा विनियोजित रकम खर्च हुन नसकेको जिकिर गरे ।

त्यस्तै समिति सदस्य मनिष झाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नियमन प्रभावकारी नभएको बताए । उनले १८९ संस्थाको कार्यक्रमको अनुगमन गर्दा त्यसको मापदण्डमा पनि प्रश्न उठेको धारणा राखे ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले समाजकल्याण परिषद् ऐन अनुसार आफ्नै नियमानुसार चल्ने गरेको र मन्त्रालयको कुनै हस्तक्षेप नरहेको बताए । यसलाई समयसापेक्ष सुधार गर्न पुरानो ऐन परिमार्जन गर्नुपर्ने धारणा राखे । परिषद्का कामलाई प्रभावकारी बनाउन कार्यदल नै गठन उनले जानकारी दिए ।

बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमन राज अर्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत हुने खर्चको ठूलो रकम सरकारी कोष र बजेट प्रणालीभन्दा बाहिरबाट भइरहेको बताए ।


Author

थप समाचार
x