संसद्

प्रतिनिधि सभा शून्य समय

विविध समस्याबारे सरकारको ध्यानाकर्षण, कसले के भने ?

इकागज |
फागुन १४, २०८० सोमबार १४:५० बजे

काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले लघुवित्त, सहकारी र मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा उनीहरूले सरकारले कानुन कार्यान्वयन गरेर लघुवित्त, सहकारी र मिटरब्याजी पीडितलाई न्याय दिलाउन माग गरे ।

बैठकमा सांसद अनिसा नेपालीले पीडित किसानका कुरा सरकारले सम्बोधन गर्न नसकेको भन्दै समस्या समाधानको माग गरिन् । सांसद अब्दुल खानले बालकुमारी घटना जस्तै मधेसमा पछिल्लो समयमा मृत्यु भएका घटनाका सन्दर्भमा पनि छानबिन गरी न्यायको माग गरे ।  


सांसद अम्बिका बस्नेतले सहकारीमा बदमासी गर्नेलाई कारबाही गरेर पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरिन् । साथै उनले मिटरब्याज पीडित र दूधको मूल्य नपाएका किसानका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसदद्वय अमृतलाल राजवंशी र अमरबहादुर थापाले लघुवित्त र मिटरब्याज पीडितका समस्या समाधानमा सरकारको ध्यान पुगोस् भने ।

सांसद अमरबहादुर रायमाझीले बजेटअन्तर्गत लागू भएका योजना बजेटको कमीले कार्यान्वयनमा कठिनाइ भएको भन्दै उचित बजेट विनियोजनको व्यवस्था गर्न माग गरे ।

सांसद अमृतादेवी अग्रहरीले सर्वसाधारणलाई सुरक्षाको अनुभूति दिलाउन र विवादित मन्त्रीलाई मन्त्रिपरिषदबाट हटाउन माग गरे । सांसद अर्जुननरसिंह केसीले एनसेल प्रकरणको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न र दोषीलाई कारबाहीको माग गरे ।

सांसद अशोककुमार चौधरीले नेपाली खेलाडीले विभिन्न खेलकुदमा कीर्तिमान राखिरहेको अवस्थामा सरकारले ती खेलाडीलाई आवश्यक प्रोत्साहन गर्न नसकेको उल्लेख गरे । साथै उनले पुरुष र महिला खेलाडीबीच विभेद गर्न नहुने धारणा व्यक्त गरे ।  

सांसद आस्माकुमारी चौधरीले स्वर्गद्वारीमा गुठीको समस्याले किसान धर्नामा बसेकाले उनीहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद असिम शाहले नक्कली सवारी साधन चालक अनुमतिपत्रका सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाहीको माग गरे ।

सांसद डा आरजु राणाले गत कात्तिक १५ गते आफू नेतृत्वको संसदीय समितिले दुग्ध किसानका समस्या समाधानका लागि सरकारलाई दिएको निर्देशनबारेमा जवाफ माग गरिन् । सांसद ईश्वरबहादुर रिजालले दोलखामा अवस्थित जलविद्युत् आयोजनाअन्तर्गत बाँकी रहेको सडकमा कालोपत्र गर्न माग गरे ।

सांसद ईश्वरी घर्तीले आविष्कार केन्द्रसँग विगतमा भएका सम्झौता कार्यान्वयनको माग गरिन् । सांसद ईश्वरी देवी न्यौपानेले संसदमा सांसदहरू आरोप प्रत्यारोपभन्दा सहकारी, लघुवित्त र मिटरब्याज पीडितको समस्या समाधानमा लाग्नुपर्ने बताइन् ।

सांसद उदयशम्शेर जबराले सवारी साधन चालक अनुमति पत्र स्मार्ट बनाउने नाममा नयाँ र नवीकरण गर्न २१ महिना लाग्ने गरेको अवगत गराउँदै ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद उर्मिला थेबेले गत वर्षको वर्षायाममा आएको बाढीपहिरोबाट पीडित ताप्लेजुङका बासिन्दाका समस्या सुनाउँदै समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् । सांसद उर्मिला माझीले विगतको सशस्त्र युद्धलगायत विभिन्न पहिचानका आन्दोलनले नै पिछडिएका जाति, वर्ग र समुदायले अधिकार पाएको उल्लेख गर‍िन् ।

सांसद ऋषिकेश पोखरेलले लोप हुने खतरामा रहेको ताजपुरीया जातिको विशेष संरक्षण गर्न माग गरे । सांसद एकनाथ ढकालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर भएको टिप्पणी गर्दै विशिष्ट व्यक्तिको नेपाल भ्रमण गराउन माग गरे ।

सांसद कल्पना चौधरीले राष्ट्रिय गौरवको आयोजना कार्यान्वयनमा प्रभावकारीताका लागि ध्यानाकर्षण गराइन् । सांसद कान्तिका सेजुवालले कर्णालीमा यस वर्ष हिउँदमा पानी नपर्दा कृषिमा समस्या भएको र खडेरी हुने भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद डा कालुराम राईले अर्थतन्त्रको आधार बैंक तथा वित्तीय संस्थाप्रति केही व्यक्ति र समूहले गरेको अराजकता नियन्त्रण गर्न सरकारसँग माग गरे । सांसद किरणकुमार साहले स्वास्थ्य क्षेत्र सेवाभन्दा पनि बढी व्यापारिक भएको, सरकारी सेवा झन्झटिलो भएको र शिक्षा व्यावहारिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद कुसुमदेवी थापाले दूध किसानका समस्या समाधान गर्न र किसानलाई लम्पी स्किन रोगको क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराइन् । सांसद गगनकुमार थापाले आरोप प्रत्यारोप मात्र गरेर संसद् बैठक प्रभावकारी नहुने भन्दै अख्तियारमा उजुरी परेका, सरकारी जग्गा विवादमा मुछिएका, सहकारी ठगीमा परेका, दुई वटा नागरिकता राखेकाहरूका सन्दर्भमा  संसद् बैठक बाहिर अनुसन्धान गर्न माग गरे ।

सांसद गणेश पराजुलीले सरकारले प्रभावकारी काम गर्न नसकेका कारण नै सहकारी र मिटरब्याज पीडितका समस्या भएको उल्लेख गर्दै यसमा आवश्यक छानबिन गरी कारबाहीको माग गरे ।

सांसद गोमा लाभ (सापकोटा) ले सरकारी कार्यालयमा घुस र पहुँचबिना जनताको काम समयमा नहुने गरेको आरोप लगाउँदै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद गङ्गाप्रसाद यादवले सिराहाका विभिन्न क्षेत्रमा खानेपानीको अभाव देखिन थालेको बताउँदै समाधानका लागि ध्यानाकर्षण गराए । सांसद गङ्गाराम चौधरीले विकास निर्माणका योजना वितरणमा पक्षपात देखिएको भन्दै आगामी दिनमा त्यस्तो हुन नहुने बताए ।

सांसद चन्दा कार्की भण्डारीले मुलुकमा पछिल्लो समयमा भ्रष्टाचार र अनियमितता बढेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराइन् । सांसद चन्द्रबहादुर विश्वकर्माले सरकारले सुशासन कायम गर्न नसक्दा जनताले सहज रूपमा सरकारी सेवा प्राप्त गर्न नसकेको बताए । सांसद छिरिङ डम्डुल लामाले सिमकोट जोड्ने सडकका लागि आवश्यक बजेटको माग गरे ।

सांसद छिरिङ ल्यामु लामाले कृषि क्षेत्रलाई प्राथमिकता दिन नसक्दा कृषि सामग्रीको आयात पछिल्लो समय बढ्दो दरमा रहेको बताउँदै समाधानका लागि माग गरे । सांसद जीवन परियारले सिक्लेस हुँदै मनाङ जोड्ने सडक निर्माणका लागि सरकारसँग माग गरे ।


Author

थप समाचार
x