संसद्

सोमबार प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिन सभामुखको निर्देशन

इकागज |
फागुन १८, २०८० शुक्रबार १२:५ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निर्देशन दिएका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै एमालेका सांसद सूर्य थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा उठाइएका प्रश्न र जिज्ञासाको जवाफ दिन सरकारले आनाकानी गरेकाले यथास्थितिमा बैठक अघि बढ्न नसक्ने बताए । यसपछि सभामुख घिमिरेले यसअघि जारी गरिएको रुलिङ स्मरण गराउँदै आउँदो सोमबार (२१ फागुन)मा जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई निर्देशन दिएका छन् ।


उक्त निर्देशनपछि प्रतिपक्षी दलका सांसदको विरोध रोकिएपछि बैठक अघि बढेको छ । 

बालकुमारी घटनामा छानबिन आयोगको प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ । साथै टेरामक्स प्रकरण मुछिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनी विकास कोषले ९९ वर्षका लागि जग्गा भाडामा दिएको प्रकरणमा मुछिएका संस्कृतिमन्त्री सुदन किराँतीले राजीनामा दिनुपर्ने एमालेसहितका प्रतिपक्षी दलले माग गर्दै आएका छन् ।

उनीहरूले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनीहरूको माग छ । तर, यसबारे पटक पटक सभामुख घिमिरेले जवाफ दिन सरकारको नाममा रुलिङ जारी गरिसकेका छन् । तर, प्रधानमन्त्री संसद छलेर हिँडेपछि प्रतिपक्षी दल आक्रोशित भएका हुन् ।


Author

थप समाचार
x