संसद्

नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाई सभाको गरिमा कायम राख्न सुझाव

इकागज |
फागुन २४, २०८० बिहीबार १७:११ बजे

काठमाडौँ- राष्ट्रियसभा सदस्यहरूले सभाका नवनिर्वाचित सदस्यलाई सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर सभाको गरिमा राख्न सुझाव दिएका छन् । 

आज बसेको सभाको बैठकमा नवनिर्वाचित सदस्यहरूलाई शुभकामना दिँदै सांसद देवेन्द्र दाहालले प्रतिपक्ष र सत्तापक्ष नभनी सभाको गरिमा उच्च राख्नुपर्ने विषयप्रति सचेत रहन आग्रह दिए । राष्ट्रियसभा प्रतिनिधिसभाको छायाँ बन्न नहुने उनको धारणा थियो ।  


'गठबन्धनहरू फेरिरहन्छन् । तर यो स्थिर र स्थायी सभा हो । यो सभाले खेल्ने भूमिका बेग्लै हुन्छ । कहिलेकाही हामी पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्छ,' उनले भने । 

सांसद गोपीबहादुर सार्की अछामीले नवनिर्वाचित सदस्यलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै सभाले स्थापित गरेका मान्यताका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले राष्ट्रियसभा समयमै चल्छ भन्ने मान्यता स्थापित भएको बताए । सांसद अछामीले सभाका सबै सदस्यले साझा सहमतिको संस्कार विकास गरेको धारणा राखे । 

सांसद कमलादेवी पन्तले पनि राष्ट्रियसभाको गरिमा कायम राख्न सांसदहरूलाई सुझाव दिइन् । उनले संविधानको पूर्ण कार्यान्वयनको सन्दर्भमा आवश्यक कानुन निर्माण नभएकोप्रति पनि ध्यानाकर्षण गराइन् । विधायिकालाई विश्राम गर्ने छुट नभएको उनको भनाइ थियो । 'स्थायी व्यवस्थापकीय अङ्गका रूपमा स्थापित सभाले निर्वाह गर्ने भूमिका कायम राख्ने गरिमा र ओजलाई गहिरो नजरमा हेरिएको छ,' उनले भनिन्, 'त्यसैले पनि हामी जनताको विशेष निगरानीभित्र छौँ ।'

सांसद बेदुराम भुसालले पुनर्गठित मन्त्रिपरिषद्लाई मुलुकको प्रगतिको दिशामा अघि बढाउनु शुभकामना दिए । उनले मुलुकको अर्थतन्त्रमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराए । 'सत्ता समीकरण बदलिएको छ । पटक-पटक समीकरण परिवर्तन हुँदा मुलुकले अस्थिरता भोग्नु परेको गुनासो छ,' उनले भने, 'पुनर्गठित मन्त्रिपरिषद्लाई मुलुकमा देखिएका चुनौतीको सामना गर्दै अघि बढ्नका लागि म शुभकामना दिन चाहन्छु ।'

सांसद मोहम्मद खालिदले राष्ट्रियसभा सदस्यको भूमिका स्मरण गराउँदै जनसरोकारका विषयमा एकजुट र साझा मत कायम गर्नुपर्ने धारणा व्यक्त गरे । 'हामी संविधानका रक्षक पनि हौँ र मुलुक र जनताको हितका लागि कानुन निर्माणसँगै सरकारको निगरानीका लागि यहाँ छौँ,' उनले भने, 'पिछडिएका समुदाय र वर्गका लागि यस सदनमार्फत आवाज उठाउने प्रतिबद्धताका लागि आग्रह गर्दछु ।'

सांसद तुलप्रसाद विश्वकर्माले परिवर्तित सत्तासमीकरणप्रति असन्तुष्टि व्यक्त गरे । सांसद शेखरकुमार सिंहले जनताको विश्वासलाई कायम राख्न सुझाव दिए । 

बैठकमा नवनिर्वाचित सदस्य आनन्दप्रसाद ढुङ्गानाले सभामा आफ्नो पहिलो अनुभव सुनाउँदै जनताको अपेक्षाअनुसार काम गर्ने विश्वास व्यक्त गरे । नवनिर्वाचित सदस्यहरू किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, घनश्याम रिजाल, झक्कुप्रसाद सुवेदी, पदमबहादुर परियार र पुजा चौधरीलगायतले सभाको गरिमा कायम राख्ने प्रतिबद्धता जनाए ।


Author

थप समाचार
x