अनुसन्धानमा दोषी देखिए गृहमन्त्री रविमाथिको कारबाही कसैले रोक्न सक्दैन् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रवि लामिछाने सहकारीको कुनै पदमा नरहेको बताएका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोधेको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरूले उठाएका विषयमा प्रधानमन्त्री प्रचण्डले भने, 'हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन ।'
प्रधानमन्त्री प्रचण्डले सहकारीमा रवि लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फर्छ्योट भएको देखिन आएकाले उनको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ‘ब्रिफिङ्ग’ भएको सदनलाई जानकारी गराए । उनले अनुसन्धानमा दोषी देखिए गृहमन्त्री रविमाथिको कारबाही पनि कसैले रोक्न नसक्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने बताएका हुन् ।
'सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ' प्रधानमन्त्री प्रचण्डले भने, 'यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन ।'
सुशासनको सङ्कल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया