दल

मधेस झरेर प्रचण्डले भने- नागरिकता समस्या समाधान गर्न पाएकोमा निकै उत्साहित छु

इकागज |
साउन ७, २०७९ शनिबार १३:५८ बजे

जनकपुरधाम- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता समस्या समाधान गर्न पाएकोमा आफु निकै उत्साहित भएको बताएका छन् । जनकपुरधाम विमानस्थल सञ्‍चारकर्मीहरूसँग कुरा गर्दै  प्रचण्डले यस्तो बताएका हुन् ।

नागरिकता ऐन संशोधनबारे सञ्‍चारकर्मीको जिज्ञासामा उनले भने 'नागरिकता समस्या समाधान गर्न पाएकोमा आफु निकै उत्साहित भएको छु ।' उनले मधेसमा वर्षौँदेखि व्याप्त रहेको नागरिकता समस्या समाधान भएकोमा मधेशी जनतासँगै आफू पनि उत्साहित र खुशी रहेको प्रतिक्रिया दिए । हिजो प्रतिनिधि सभाबाट नागरिकता ऐन संशोधन पारित भएको थियो ।


गठबन्धनभित्रका वाम दलहरूबीच एकताको प्रयास जारी रहेको बताए । गठबन्धनभित्रका वाम दलहरूको समाजवादी केन्द्र बनाउन एकताका लागि छलफल भइरहेको बताए ।

उनले वामपन्थी दलहरूबीचको एकता वा चुनावी मोर्चाका लागि छलफल भइरहेको जानकारी दिँदै सोही अनुरुप जसपाबाट अलग्गिएका बाबुराम भट्टराईसँग पनि कुराकानी भइरहेको बताए । 'बाबुरामजी जसपाबाट अलग भइसकेका छन्, उनले नयाँ पार्टी बनाए पनि गठबन्धनभन्दा बाहिर जानु हुन्‍न' प्रचण्डले भने ‘जसपा रुपमा फुटिसकेको अवस्था छ , यस अवस्थामा बाबुरामजी, माधवकुमार नेपाल जी र उपेन्द्र यादवसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ ।'

उनले थप्दै भने ‘औचापरिक रुपमा कुनै टुंगोमा पुगेको छैन तर छिट्टै चुनाव अघि नै यस विषयमा कुनै ठोस निर्णय हुनेछ ।

दिल्ली भ्रमणको क्रममा प्रधानमन्त्री पत्नी एवं कांग्रेस नेतृ आरजु देउवासँग सम्झौता भएको चर्चाबारे प्रचण्डले  दिल्लीमा कांग्रेस नेतृ आरजु देउवा र आफूबीचमा कुनै पनि प्रकारको सम्झौता नभएको स्पष्ट पारे । उनले केही षडयन्त्रकारीहरूले यसलाई तन्काएर षडयन्त्रपूर्ण तरिकाले उठाउन खोजेको बताउँदै यसमा कुनै पनि प्रकारको सत्यता नरहेको दाबी गरे ।


Author

थप समाचार
x