दल

‘कांग्रेसले पार्टी र संसद्मा श्रमिकको प्रतिनिधित्व गराउन सकेन’

इकागज |
भदौ २, २०७९ बिहीबार १५:३१ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष लक्ष्मणबहादुर बस्नेतले नेपाली कांग्रेसले पार्टीका विभिन्न संरचना र संसद्मा श्रमिकको प्रतिनिधित्व गराउन नसकेको गुनासो गरेका छन् । 

उनले आज पत्रकार सम्मेलन गरी देशभर चार लाखभन्दा बढी श्रमिक आवद्ध रहेको नेपाल ट्रेड युनियन कांग्रेसलाई पार्टीले बुझ्न नसकेको गुनासो गरेका हुन् । `पार्टीका निर्वाचन र संसद्को निर्वाचनमा मजदूरलाई परिचालन गरे पनि कांग्रेसले पार्टी र संसद्मा श्रमिकको प्रतिनिधित्व गराउन सकेन`, उनले भने । उनले संविधानमा व्यवस्था भएअनुसार नीतिनिर्माण तहमा युवा, किसान र श्रमिकको प्रतिनिधित्व गराउनुपर्ने बताए । 


आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई आफ्नो मताधिकारको सुनिश्चितता गर्नुपर्ने उनको भनाइ थियो । कांग्रेसका महासमिति सदस्यसमेत रहेका बस्नेतले पार्टीले १४औँ महाधिवेशन सम्पन्न भएको लामो समय बितिसक्दा पनि नीति अधिवेशन गर्न नसकेको भन्दै नीति अधिवेशन चाँडो बोलाएर पार्टीभित्र र मुलुकभित्र देखिएका वर्तमान समस्या समाधान गर्न आग्रह गरे । 

पूर्वअध्यक्ष बस्नेतले नेपाल ट्रेड युनियन कांग्रेसले दुई दशक पहिलेदेखि उठान गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम केही हदसम्म लागू भए पनि असङ्गठित र स्वरोजगारका लागि उक्त कार्यक्रम लागू हुन नसकेको गुनासो गरे । 

उनले पार्टीका तत्कालीन सभापति सुशील कोइराला र नेपाल ट्रेड युनियन कांग्रेसले विसं २०७० भदौ ९ गते गरेको समझदारी कांग्रेसले पूरा गर्न लाग्नुपर्ने बताए । सहमतिपत्रमा पार्टीका सबै संरचनामा कम्तीमा एक महिला र एक पुरुष श्रमिकको प्रतिनिधित्वका लागि वैधानिक प्रबन्ध मिलाउने, राज्यको नीति निर्माण र निर्णय प्रक्रियाको सबै तहमा १० प्रतिशत श्रमिक प्रतिनिधित्व सुनिश्चित गर्न संवैधानिक प्रबन्ध मिलाउने, वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई मताधिकारको प्रबन्ध मिलाउने, राज्यको स्रोत र साधनमा श्रमिकको निश्चित् स्वामित्व सुनिश्चित् गर्नेलगायत सात बुँदे रहेको थियो ।

पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुस्कर आचार्य, उपाध्यक्ष अजयकुमार राई, महासचिव योगेन्द्रकुमार कुँवरलगायतको सहभागिता रहेको थियो ।रासस


Author

थप समाचार
x