दल

पूर्वमन्त्री झाँक्री र विष्ट आमनेसामने, कसको पल्ला भारी ?

कमल विष्ट |
असोज २६, २०७९ बुधबार १७:२७ बजे

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि दलहरूले उम्मेदवारको टुंगो लगाएसँगै देशभर चुनावी सरगर्मी ह्वात्तै बढेको छ । लुम्बिनी प्रदेशको गुल्मीमा पनि चुनावी माहोल दिन प्रतिदिन तातिरहेको छ । दुइटा निर्वाचन क्षेत्र रहेको गुल्मीलाई चासोसाथ हेरिएको छ । 

मंसिर ४ को चुनावमा प्रतिनिधिसभा सदस्यका लागि कुनै बेला एउटै पार्टीमा रहेका पूर्वमन्त्री गोकर्ण विष्ट र पूर्वमन्त्री रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुँदैछ । नेकपा एकीकृत समाजवादीकी झाँक्री सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी छन् भने विष्ट नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका छन् । २०७४ को निर्वाचनमा विष्टलाई जिताउन सहयोग गरेकी झाँक्री यसपालि उनैविरुद्ध पाँच दलीय मोर्चासहित चुनावी मैदानमा होमिएकी छन् । 


त्यसो त यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवराज घिमिरेलगायत अन्य दलका उम्मेदवार पनि मैदानमा उत्रिएका छन् । तर, मुख्य प्रतिस्पर्धा भने विष्ट र झाँक्रीबीच हुने देखिन्छ । 

गुल्मी–२ विष्टका लागि पकड क्षेत्र साबित हुँदै आएको छ । मुलुकका पछिल्ला चार निर्वाचनमध्ये २०६४ बाहेक बाँकी सबैमा उनी विजयी हुँदै आएका छन् । २०७४ को चुनावमा उनले नेपाली कांग्रेसका चन्द्र केसीलाई पराजित गरेका थिए । विष्टले वामगठबन्धनको सहयोगमा ३४ हजार ६ हजार ६ सय १८ मत प्राप्त गरेका थिए । केसीले २० हजार १ सय ५७ मत प्राप्त गरेका थिए । 

यता, गठबन्धनकी उम्मेदवारी झाँक्रीको यो पहिलो निर्वाचन हो । उनी २०७४ को निर्वाचनमा तत्कालीन नेकपा एमालेका तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् । 
झाँक्री र विष्टमा कसले बाजी मार्ला भन्ने धेरैको चासो छ। 

यस्तो छ चुनावी अंकगणित 

गत वैशाख ३० को स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धन एमालेभन्दा अगाडि देखिन्छ । गठबन्धन पालिका र वडागत मतमा बलियो देखिन्छ । यसलाई विस्तृत रुपमा हेरौँ । 

जिल्लाका १२ मध्ये ६ पालिका गुल्मी–२ मा पर्छन् । गत स्थानीय निर्वाचनमा ६ मध्ये कांग्रेसले समान तीन पालिकामा प्रमुख र उपप्रमुख जितेको छ । कांग्रेस पहिलो दल बन्दा माओवादीले दुई पालिकाको प्रमुख जितेर दोस्रो बन्यो । एमालेले १ प्रमुख र ३ उपप्रमुखसहित तेस्रो भएको छ । 

यस क्षेत्रमा मालिका, मदाने, धुर्कोट र ईस्मा गाउँपालिकाका सबै वडा पर्छन् । यस्तै, मुसीकोट नगरपालिकाका सबै र रेसुङ्गा नगरपालिकाका १, २, ३, ४, ५, ६ वडा यहाँ पर्छन् । कुल ४३ वडामा कांग्रेसले २५ वडा जितेर पहिलो दल बनेको छ भने एमाले १७ वडा जितेर दोस्रो बनेको छ । माओवादीले भने १ वडामात्र जितेको छ

वडागत मतमा पनि एमाले शीर्ष स्थानमा छ । उसले कुल ४३ वडाबाट ३० हजार ९ हजार ७२ मत पाएको छ । कांग्रेस ३० हजार ६ सय २१ मत प्राप्त गरेको छ । त्यस्तै, माओवादी केन्द्रले १ हजार ८ सय ४१ मत ल्याएको छ । एकीकृत समाजवादी ६ सय ६६ र जनमोर्चा ५६ मत ल्याएर क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । एमाले पहिलो स्थानमा भए पनि गठबन्धनका सम्पूर्ण घटकको मतसँग तुलना गर्दा एमाले पछाडि नै छ । गठबन्धनको मत ३३ हजार १ सय ८४ छ । गठबन्धन एमालेभन्दा २ हजार २ सय १२ मतले अगाडि छ । 

दुवैको आआफ्नै दाबी 

विष्ट आफूलाई नागरिकहरूको साथ भएकाले जित सुनिश्चित भएको बताउँछन् । आमजनता, दाजुभाइ तथा दिदीबहिनीको विश्वास नै आफ्नो जितको मुख्य आधार भएको उनको जिकिर छ । उनले विगतमा आफ्नो पहलमा जिल्लामा थुप्रै काम भएको पनि दाबी गरे । ‘विगतमा उहाँहरूले राखेका विचारहरूलाई पूरा गर्न हामीले थुप्रै प्रयत्न गरेका छौँ । केही अगाडि बढाएका छौँ । कतिपय कामहरू सम्पन्न भएका छन्, कतिपय कामहरू अधुरै छन् भने कतिपय नयाँ कामहरू गर्नुपर्ने छ,’ इकागजसँगको संक्षिप्त कुराकानीमा विष्टले भने, ‘यी सबै कामलाई समृद्ध पार्ने सन्दर्भमा दाजुभाइ तथा दिदीबहिनीहरुले माया दिनुहुन्छ । यो मेरो जितको आधार हो ।’

नागरिकहरूले विगतमा आफूलाई काम गर्ने मौका दिएको र फेरि पनि काम गर्ने मौका दिने उनको विश्वास छ । ‘यसै कारण हामी विजयका लागि आशावादी छौँ । दृढ विश्वस्त छौँ,’ उनको भनाइ छ । 

तर, झाँक्री भने चुनावताका वाचा मात्रै गर्ने जनप्रतिनिधिहरूसँग नागरिकहरू आजित भइसकेको दाबी गर्छिन् । घरदैलोका क्रममा गुल्मेलीहरू पुराना वाचा मात्र गर्ने प्रतिनिधिबाट आजित भएको गुनासो गर्ने गरेको सुनाउँछिन् । पछिल्ला २५ वर्ष खेर गएकोप्रति दुःखी भएको उनले बताइन् । ‘उहाँहरू यसपालि विकल्प खोजिरहनुभएको छ । यही नै मेरो जितको प्रमुख आधार हो,’ उनले भनिन् । 

यसबाहेक उनले आफ्नो जितका थप ३ आधार प्रस्तुत गरिन्–

१. दोस्रो आधार गठबन्धन हो । मलाई प्रमुख शक्ति कांग्रेस र माओवादीको साथ छ । हाम्रो आफ्नै संगठन पनि अहिले धेरै विस्तार भएको छ । देशका विभिन्न स्थानमा छरिएर रहनुभएका गुल्मेलीहरू एकताबद्ध भएर यसपालि हामी परिवर्तनको पक्षमा छौँ, यथास्थितिको पक्षमा छैनौँ, जालझेलको पक्षमा छैनौँ, सत्य र निष्ठाको पक्षमा छौँ विभिन्न अभियान गरिरहनुभएको छ । 

२. साढे चार वर्ष प्रतिनिधि हुँदा मैले केही काम गरेकी छु । त्यसो त पहिले पनि मैले थुप्रै काम गर्थेँ, तर त्यसको क्रेडिट अरुले पाउँथे । अहिले भने पहिला गरेका कामको पनि क्रेडिट जोडिएर आए । छोटो समयका लागि मन्त्री हुँदा अर्बौंका योजना ल्याउने, स्वीकृत गराउने, खरिद प्रक्रियामा जाने, निर्माणमा लाने पहल भएको छ । यसको अनुभूति हुने गरी काम भएको छ । यसले ममा आशा जागृत भएको छ । 

३. म ३० वर्ष एमालेमा रहेँ । गुल्मीको पश्चिम भेगतिर नपसेको–नबसेको कुनै घर छैन, स्कुल छैन । यसबीचमा पुरानो पुस्ताको शारीरिक अवस्था फेरियो, एउटा नयाँ पुस्ता आयो । शारीरिक अवस्था फेरि पनि उहाँहरूले मलाई बिर्सिनुभएको छैन । 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x