दल

कञ्चनपुर–३ मा रमेश लेखकलाई निरु पालको चुनौती, कसको पल्ला भारी ?

कमल विष्ट |
असोज ३१, २०७९ सोमबार १८:४ बजे

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुर–३ मा प्रत्यक्षतर्फ १२ जनाले उम्मेदवारी दिएका छन् । तर, मुख्य प्रतिस्पर्धा भने रमेश लेखक र निरु पालबीच नै हुने विश्लेषण गरिएको छ । लेखक सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार हुन् भने पाल नेकपा एमालेको तर्फबाट उम्मेदवार हुन् । लेखक र पालबीचको चुनावी भिडन्तलाई निकै चासोका साथ हेरिएको छ । 

२०४७ देखि कांग्रेसबाट राजनीतिमा सक्रिय लेखक यसअघि कञ्चनपुर–३ बाट तीन पटक चुनाव लडिसकेका छन् । उनी २०५६, २०७० र २०७४ को निर्वाचनमा उम्मेदवार बनेका थिए । लेखक २०५६ र २०७० को चुनावमा निर्वाचित भएका थिए भने २०७४ को निर्वाचनमा भने एमालेका दीपक भट्टसँग २ सय ५८ को झिनो मतान्तरले पराजित भएका थिए । भट्टले २६ हजार ३ सय ६४ मत ल्याउँदा लेखकले २६ हजार १ सय ६ मत पाएका थिए । 


गत निर्वाचनमा वाम गठबन्धनका कारण एमालेसँग पराजित लेखक यसपालि एमालेसँग बदला लिने दाउमा छन् । त्यतिबेला माओवादीले एमालेलाई सहयोग गर्दा उनी पराजित भएका थिए । यसपालि उनलाई माओवादी केन्द्रको साथ हुनेछ । 

यता, कञ्चनपुरकी एमाले इन्चार्ज तथा पोलिटब्युरो सदस्य पाल दोस्रो पटक प्रत्यक्ष निर्वाचन लड्दैछिन् । गत निर्वाचनमा एमालेबाट समानुपातिक सांसद बनेकी उनी २०६५ को उपनिर्वाचनमा हारेकी थिइन् । यसपालि उनी प्रत्यक्षबाट चुनाव जित्ने दाउमा छन् । 

पटकपटक सांसद् तथा मन्त्रीसमेत भइसकेका लेखकलाई यसपालि ५ दलीय गठबन्धनको साथ छ । तैपनि उनलाई बागी उम्मेदवारले चुनौती थपिदिएका छन् । उनीविरुद्ध कांग्रेसकै महाधिवेशन प्रतिनिधि दीपक सिंह र शारदा चन्दले बागी उम्मेदवारी दिएका छन् । लेखक भने बागी उम्मेदवारले आफूलाई कुनै फरक नपार्ने जवाफ दिन्छन् । ‘कांग्रेसभित्र नअटाएका मान्छेले कांग्रेस बाहिर गएर उम्मेदवारी दिँदाखेरि त्यसको कुनै प्रभाव हुँदैन,’ उनले भने । 

पाललाई बागी उम्मेदवारको चुनौती त छैन । तर, एमालेको एउटा पंक्ति उनीसँग रुष्ट छ । टिकट वितरणमा असमानता भएको भन्दै उम्मेदवारका आकांक्षीहरू उनी विरुद्ध देखिएका हुन् । त्यो असन्तुष्टि निर्वाचनमा पोखिने आँकलन छ । त्योबाहेक पालका लागि पाँच दलीय गठबन्धनको चुनौती छँदैछ । 

यस्तो छ स्थानीय चुनावको मतपरिणाम 

कञ्चनपुर–३ मा जिल्लाका ९ मध्ये तीन पालिका पर्छन् । भीमदत्त र दोधारा–चाँदनी नगरपालिकाका सबै वडा र बेदकोट नगरपालिकाको वडा–८ यो क्षेत्रभित्र पर्छन् । गत वैशाख ३० गतेको स्थानीय निर्वाचनमा कांग्रेस तीनमध्ये २ प्रमुख र ३ उपप्रमुख जित्दै पहिलो दल बनेको छ । एमालेले एक मात्र पालिकाको प्रमुखमा जित हात पारेको छ । 

वडामा पनि कांग्रेस एमालेभन्दा धेरै अगाडि छ । यस क्षेत्रका कुल ३० वडामध्ये कांग्रेसले १४ वटा जितेको छ । दोस्रो हुने एमालेले ८ वटा जितेको छ । त्यस्तै, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समान ३ वटा जित्दै तेस्रो बनेका छन् । नेकपा एकीकृत समाजवादीले र स्वतन्त्रले समान एक–एक वडा जितेका छन् । 

त्यसैगरी, वडागत मतमा पनि कांग्रेस एमालेभन्दा अगाडि नै छ । ३० वडाबाट कांग्रेसले २१ हजार ७ सय ७२ मत प्राप्त गरेको छ । एमाले १६ हजार १ सय १४ मतसहित दोस्रो स्थानमा छ । त्यस्तै, राप्रपा ६ हजार ५ सय ३, माओवादी केन्द्र ५ हजार ९ सय ८१, समाजवादी ३ हजार १२ मत पाउँदै क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । राष्ट्रिय जनमोर्चाले १८ मत मात्र प्राप्त गरेको छ । 

राप्रपाको साथ पाउँदा पनि एमालेलाई सहज छैन

त्यसो त आसन्न निर्वाचनमा यो क्षेत्रमा राप्रपा र एमालेबीच तालमेल हुँदैछ । राप्रपाले एमालेलाई केन्द्र र प्रदेश ‘ख’मा सघाउने र एमालेले राप्रपालाई प्रदेश ‘क’मा सघाउने गरी सहमति भएको छ । तर, राप्रपासँग चुनावी तालमेल हुँदा पनि एमालेलाई जित निकाल्न सजिलो देखिँदैन । स्थानीय निर्वाचनमा एमाले र राप्रपाले पाएको वडागत मत जोडेर गठबन्धनसँग तुलना गर्दा पनि एमाले कमजोर देखिन्छ । एमाले र राप्रपाको मत जोड्दा ३० हजार ७ सय ८३ मत हुन्छ । जुन गठबन्धनको भन्दा ८ हजार १ सय ६६ ले कम हो ।

लेखक र पाल दुवैको आ-आफ्नै दाबी 

लेखक आफूले नागरिकका मुद्धा उठाएकाले जित सुनिश्चित भएको बताउँछन् । आफू र नेपाली कांग्रेसले यस क्षेत्रका लागि यथेष्ट काम गरेको उनको जिकिर छ । पाँच वर्ष यता भने आफूले अगाडि बढाएका थुप्रै काम पूरा नभएको र अब आफूले जितेर ती काम अगाडि बढाउने उनको भनाइ छ । 

‘मेरो एउटा मुद्दा त्रिदेशीय नाकाको हो । त्यसमा मैले धेरै काम गरेको छु । महाकाली नदीमा पुल बनेको छ । दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह बनाउनु छ,’ उनले भने, ‘बाढी नियन्त्रणको काम पनि मैले गरेको छु । त्यसलाई पनि अगाडि बढाउनु छ । शिक्षा, स्वास्थ्य र यातायात कांग्रेस र गठबन्धनको सरकारले अगाडि बढाउँछ ।’
आफूले उठाएका यी मुद्दा नागरिकलाई थाहा भएको र यसैका आधारमा आफूले सहयोग पाउने लेखकको विश्वास छ । 

यता, पाल एमालेले गरेका कामहरू नै आफ्नो जित्ने आधार भएको बताउँछिन् । आफू संसद्मा रहँदा आफ्नो क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराउनेदेखि विकास निर्माणको काममा आफूले सकेको गरेको उनको दाबी छ । कोभिड र महाकाली प्रादेशिक अस्पतालको व्यवस्थापनमा पनि आफूले अहोरात्र खटेर काम गरेको उनी बताउँछिन् ।  

महिला उम्मेदवार भएकाले धेरै मतदाताहरूबाट आफूले सहानुभूति र प्रेरणा पाइरहेको पनि पाल बताउँछिन् । ‘यस क्षेत्रमा अहिलेसम्म अन्य पार्टीले महिलालाई प्रत्यक्षतर्फ उठाएका छैनन् । यसपटक एमालेले मलाई उठाएको छ । मलाई धेरै मतदाताले पार्टीभन्दा पनि महिला भएको नाताले सहयोग गर्छौँ भन्नुभएको छ,’ पालले भनिन् । 
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x