दल

कञ्चनपुर–२ः धामीलाई हराएर बदला लिने दाउमा साउद

कमल विष्ट |
कात्तिक १४, २०७९ सोमवार १७:५४ बजे

आगामी मंसिर ४ को निर्वाचन जति नजिकिँदै छ, कञ्चनपुर–२ मा चुनावी सरगर्मी उति बढिरहेको छ । यहाँ प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट पूर्वमन्त्री नारायणप्रकाश (एनपी) साउद र विपक्षी गठबन्धनको तर्फबाट नरबहादुर धामीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

नेपाली कांग्रेसका साउद र नेकपा एमालेका धामी यसै क्षेत्रमा दोस्रो पटक भिड्दैछन् । यी दुई पहिलो पटक २०७४ सालको निर्वाचनमा आमनेसामने भएका थिए । त्यतिबेला धामीले वाम गठबन्धनको बलमा साउदलाई पराजित गरेका थिए । धामीले ३३ हजार २ सय २० मत ल्याउँदा साउदले २४ हजार ८ सय ९३ मत ल्याएका थिए । धामी यसपालि पनि साउदलाई हराएर सांसदमा दोहोरिने दाउमा छन् भने साउद उनीसँग अघिल्लो हारको बदला लिने दाउमा छन् । त्यसैले, यी दुईबीचको प्रतिस्पर्धा निकै रोचक हुने आँकलन गरिएको छ । 


कांग्रेस केन्द्रीय सदस्य तथा पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र साउद पाँच पटक संसदीय निर्वाचनमा होमिइसकेका छन् । २०५१ सालमा भएको मध्यावदी निर्वाचनमार्फत संसदीय निर्वाचन यात्रा तय गरेका साउद पाँचमध्ये दुइटामा विजयी भएका छन् । दुईपल्ट मन्त्री भइसकेका उनी यो निर्वाचन जितेर तेस्रोपल्ट संसद् छिर्ने दौडमा छन् । 

धामीको संसदीय निर्वाचन यात्रा भने २०७० सालको निर्वाचनबाट सुरु भएको थियो । उनले पहिलो प्रयासमा हार व्यहोरे । धामी त्यतिबेला कांग्रेसका उम्मेदवार बहादुर सिंह थापासँग पराजित भएका थिए । दोस्रो प्रयास अर्थात् २०७४ को निर्वाचनमा भने उनी विजयी भए । उनी चिरपरिचित प्रतिद्वन्द्वी साउदलाई हराएर आफ्नो विरासत कायम राख्ने ध्याउन्नमा छन् ।  

एमालेलाई चुनौती 

धामीका लागि सबैभन्दा ठूलो चुनौती साउदलाई पाँच दलीय गठबन्धनको साथ हुनु हो । धामीले गठबन्धनका साझा उम्मेदवार साउदसँग एक्लै भिड्नुपर्ने छ । उनको जितलाई असजिलो बनाउने अर्को कारण हो, पार्टीको आन्तरिक विवाद र बागी उम्मेदवार । टिकट वितरणमा असन्तुष्टि जनाउँदै यस क्षेत्रका कतिपय नेताहरूले पार्टी परित्याग गरेका छन् । टिकट नपाएकै कारण पार्टीबाट विद्रोह गरेर टेकबहादुर हमालले प्रदेशसभा १ (क) मा बागी उम्मेदवारी दिएका छन् । 

स्थानीय तह निर्वाचनको जोड घटाउ

वाम गठबन्धनको बलमा २०७४ को निर्वाचनमा विजयी भएका धामीलाई गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले पनि जित्न सहज देखाउँदैन । यस क्षेत्रमा तीन स्थानीय तह पर्छन् । जसमध्ये कांग्रेसले दुईको प्रमुख र तीनको उपप्रमुख जितेको छ । एमालेले एक मात्र पालिकाको प्रमुख जितेको छ । 

वडामा पनि कांग्रेस नै पहिलो दल हो । यस क्षेत्रमा शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका सम्पूर्ण वडा र बेदकोट नगरपालिकाको वडा–८ बाहेक अन्य सबै गरी ३० वडा छन् । त्यसमा कांग्रेसले १५, माओवादीले ८, एमालेले ६ र नेकपा एकीकृत समाजवादीले वटा वडा जितेका छन् । 

वडागत मतमा पनि कांग्रेस नै शीर्ष स्थानमा छ । ३० वटा वडाबाट कांग्रेसले २२ हजार ३ सय ७९, एमालेले १८ हजार ८ सय २८, माओवादीले १२ हजार ५ सय ७२, एकीकृत समाजवादीले ४ हजार १ सय ६१, राप्रपाले ३ हजार ९ सय ५३ र जनमोर्चाले १ सय ३६ मत पाएका छन् । 

सत्तारुढ गठबन्धनमा सम्मिलित अन्य दलको मत नजोड्दा पनि कांग्रेस एमालेमाथि हाबी देखिन्छ । गठबन्धनका सम्पूर्ण घटकको मत जोड्दा कांग्रेस एमालेभन्दा दोब्बर बढी मतले अगाडि छ । एमालेको १८ हजार ८ सय २८ मत छ भने गठबन्धनको ३९ हजार २ सय ४८ मत छ । 

तर, धामी चुनावी अंकगणित र गठबन्धन आफ्ना लागि तगारो बन्न नसक्ने बताउँछन् । गठबन्धनको नियतसँग नागरिकहरू राम्रोसँग साक्षात्कार भइसकेकाले अब नागरिकले गठबन्धनलाई भोट नदिने उनले बताए । ‘गठबन्धनको सरकार दुई वर्ष सत्तामा रहँदा नागरिकले धेरै दुःख झेल्नुपर्यो । त्यो अत्यन्तै पीडादायी र बिर्सनलायक समय थियो । यो सरकार बनेपछि महँगीले आकाश छोयो, पेट्रोलियम पदार्थको मूल्य छोइनसक्नु भयो,’ धामीले भने, ‘हाम्रो सरकारले १४ सय बढी बाटा निर्माणको कार्य अगाडि सारेको थियो । त्यसका लागि बजेट पनि छुट्याइएको थियो । तर, गठबन्धनले त्यसलाई योजनाको सूचीबाट हटाइदियो । यो सरकार विकासविरोधी हो ।’

उनले आफ्नो जितको सबैभन्दा बलियो आधार एमालेले सरकारमा हुँदा गरेका ऐतिहासिक काम भएको बताए । आफ्नो पार्टी सरकारमा रहँदा एमालेले जनताको हित, स्वाधीनता तथा राष्ट्रियता र विकास निर्माणका सवालमा ऐतिहासिक काम गरेको उनले दाबी गरे । नेपालले गुमाइसकेका भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक एमालेले फिर्ता ल्याएको उनले जिकिर गरे । ‘यी भूभाग हामीले आधिकारिक रूपमा नेपालको नक्सामा राख्यौँ । यो एमालेले गरेको ऐतिहासिक कार्य हो,’ उनले सुनाए, ‘यस कुराले नागरिकहरू खुसी छन् । उनीहरू हाम्रो पक्षमा छन् ।’

यस्तै, धामीले पार्टीभित्र आन्तरिक विवाद र बागी उम्मेदवारको समस्या नरहेको पनि बताए । उनले पार्टीविरुद्ध बागी उम्मेदवारी दिएका व्यक्तिलाई एमालेले निष्कासित गरिसकेको सुनाए । भन्छन्, ‘त्यसमाथि ती बागी त्यस्तो प्रभाव भएको व्यक्ति पनि होइनन् । त्यसैले, उनको उम्मेदवारीले हामीलाई नोक्सान पुग्दैन । आशा छ, उनले पनि एमालेलाई नै भोट दिनेछन् ।’

गत निर्वाचनमा साउद आफूसँग जति मतान्तरले पराजित भएका थिए, अहिले त्योभन्दा बढी मतान्तरले हराउने उनको दाबी छ ।

धामीविरुद्ध साउद हाबी 

स्थानीय निर्वाचनको मतपरिणाम, पाँच दलीय गठबन्धन र कांग्रेसको आधार क्षेत्रलगायत विविध कारणले साउद धामीमाथि हाबी देखिन्छन् । उनी यसपटक आफ्नो जित सुनिश्चित भएको बताउँछन् । साउद एमालेविरुद्ध एक्लै भिड्दा पनि बलिया नै छन् । गत निर्वाचनमा धामीलाई वाम गठबन्धनको साथ भएकाले मात्र उनले जितेको साउदको जिकिर छ । ‘गत निर्वाचनमा हामीविरुद्ध दुई दलबीचको गठबन्धन भएकाले समस्या भएको हो । यसपालि हाम्रो जित सुनिश्चित छ,’ साउदले भने । 
यो क्षेत्रमा कांग्रेसको लामो विरासत भएको उनले दाबी गरे । कञ्चनपुर–२ कांग्रेसको पकड क्षेत्र र आफूसँग गठबन्धनको साथ भएको हुँदा यसपालि आफूले जित्नेमा प्रश्न नरहेको उनको भनाइ छ । ‘स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी र एमाले छुट्टाछुट्टै लडेका थियौँ । त्यसमा पनि हामी प्रथम स्थानमा छौँ । गठबन्धनका सम्पूर्ण घटकको मत जोड्दा त हामी एमालेभन्दा दोब्बर बढी मतले अगाडि छौँ,’ साउदले भने । 

यस क्षेत्रमा कांग्रेसले निरन्तर रुपमा विकासका कार्य गर्दै आइरहेको उनले दाबी गरे । कांग्रेस सधैँ नागरिकसँग सम्पर्कमा रहेर उनीहरूका समस्या समाधान गरिरहेकाले चुनावमा जनताको उल्लेख्य साथ पाउने उनको विश्वास छ ।
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x