दल

लमजुङमा दुई ‘हेभिवेट’ गुरुङबीच भिडन्त, पृथ्वीलाई रोकेर दोहोरिने दाउमा देव

कमल विष्ट |
कात्तिक २०, २०७९ आइतबार १९:८ बजे

काठमाडाैं । एकमात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा आउँदो निर्वाचनमा दुई ‘हेभिवेट’ नेताबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका देव गुरुङ र नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा पहिलो आमनेसामने हुँदैछन् । देव गुरुङ माओवादी केन्दका महासचिव र पृथ्वीसुब्बा गुरुङ एमालेका उपमहासचिव समेत हुन् ।

त्यसो त लमजुङबाट प्रतिनिधिसभा सदस्यका लागि एक स्वतन्त्र र १० पार्टी गरी ११ जनाले उम्मेदवारी दिएका छन् । तर, मुख्य प्रतिस्पर्धा भने यी दुईबीच नै हुने आँकलन गरिएको छ । त्यसैले, दुई गुरुङबीचको यो प्रतिस्पर्धालाई धेरैले निकै रोचकताका साथ हेरिरहेका छन् । 


सुरुमा एमालेका गुरुङले फेरि गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभामा उम्मेदवारी दिने तयारी गरेका थिए । उनी लमजुङ प्रदेशसभा ‘ख’बाट सिफारिससमेत भए । तर, पछि एमालेबाट मुख्यमन्त्री बन्ने संकेत नपाएपछि गुरुङले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिए ।

लमजुङमा रोचक के छ भने अघिल्लो २०७४ को निर्वाचनमा देवलाई संघीय सांसद बनाउन अहम् भूमिका खेलेका पृथ्वीसुब्बा यसपालि उनैलाई हराउन दौडमा छन् । यता देवले उक्त निर्वाचनमा जुन पार्टीका (कांग्रेस) उम्मेदवारलाई पराजित गरेका थिए, अहिले त्यही पार्टीको मुख्य समर्थनमा चुनाव जित्ने दाउमा छन् । 

त्यतिबेला देवले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिलबहादुर घर्तीलाई हराएका थिए । उनले ३९ हजार ४ सय ६८ मत ल्याउँदा घर्तीले ३१ हजार ६७ मत ल्याएका थिए । त्यस्तै, पृथ्वीसुब्बाले प्रदेशसभा ‘ख’मा कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालालाई पराजित गरेका थिए । उनले २३ हजार ८८ मत पाएर विजयी हुँदा कोइरालाले १५ हजार १ सय २ मत पाए ।

दुईको संसदीय निर्वाचन यात्रा

पृथ्वीसुब्बाको संसदीय निर्वाचन यात्रा ०४८ को निर्वाचनबाट सुरु भएको हो । गण्डकी प्रदेशको मुख्यमन्त्रीसमेत बनेका उनले ०६४ को संविधानसभा र ०७४ को प्रदेशसभा निर्वाचन जितेका छन् । उनी ०७० को दोस्रो संविधानसभा चुनावमा लमजुङ–२ बाट पराजित भएका थिए । पृथ्वीसुब्बा योसहित सातौँ पटक चुनावमा होमिँदै छन् । 

माओवादीका देवको संसदीय निर्वाचन यात्रा ०६४ को निर्वाचनबाट भयो । उनी उक्त निर्वाचनमा मनाङ–१ र कास्की–१ दुई ठाउँबाट निर्वाचित भएका थिए । उनले त्यतिबेला कास्की छाडेर मनाङ रोजे । देवले मोहन वैद्य किरण नेतृत्वको पार्टीमा रहँदा ०७० को निर्वाचन भने बहिष्कार गरेका थिए । उनी योसँगै तेस्रोपटक चुनावी मैदानमा छन् ।

कसलाई कति चुनौती

एमालेका पृथ्वीसुब्बाका लागि सबैभन्दा ठूलो चुनौती देवलाई पाँच दलीय गठबन्धनको साथ हुनु हो । उनले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार देवसँग एक्लै भिड्नुपर्ने छ । यही वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मतपरिणामअनुसार लमजुङमा एमाले पहिलो दल हो । तैपनि पृथ्वीसुब्बालाई गठबन्धनविरुद्ध एक्लै उभिन सहज देखिँदैन । यसलाई विस्तृत रुपमा हेरौँ । 

यस्तो छ स्थानीय निर्वाचनको अंकगणित

लमजुङमा ८ पालिका छन्– मस्र्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका, राइनस नगरपालिका, बेंसीशहर नगरपालिका, क्वहोलासोथार गाउँपालिका, मध्यनेपाल नगरपालिका र सुन्दरबजार नगरपालिका । जसमध्ये कांग्रेस र एमालेले समान ४–४ पालिकाको प्रमुख जितेका छन् । 

वडामा एमाले पहिलो दल हो । कुल ७५ वडामध्ये एमालेले ३७ वटा वडा जितेको छ भने कांग्रेसले २८ वटा वडा जितेको छ । त्यस्तै, माओवादी केन्द्र र स्वतन्त्रले समान ४–४ वडा जितेका छन् । वडागत रूपमा प्राप्त मतमा पनि एमाले नै अगाडि छ । यी वडाबाट एमालेका वडाध्यक्षहरूले ४० हजार १ सय ९७ मत प्राप्त गरेका छन् भने कांग्रेसका वडाध्यक्षहरूले ३५ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् । त्यस्तै, माओवादी केन्द्र ६ हजार १ सय २७ मतसहित तेस्रो स्थानमा छ । नेकपा एकीकृत समाजवादीका वडाध्यक्षहरूले ६९ मत पाएका छन् ।

वडाध्यक्षहरूले पाएको मतमा एमाले पहिलो स्थानमा भए पनि गठबन्धनका सम्पूर्ण घटकको मतसँग तुलना गर्दा ऊ पछाडि नै छ । गठबन्धनको ४१ हजार ८ सय ७१ मत छ भने एमालेको ४० हजार १ सय ९७ मत छ । गठबन्धन एमालेभन्दा १ हजार ६ सय ७४ मतले अगाडि छ । 

माओवादीका देवलाई नेपाली कांग्रेस (बिपी) र जनता समाजवादी पार्टी (जसपा)ले पनि समर्थन गर्ने निर्णय गरेको छ । देवलाई समर्थन गर्ने भन्दै कांग्रेस बिपीका डा. लक्ष्मीकान्त पौडेल र जसपाका नरेन्द्र गुरुङले उम्मेदवारी फिर्ता लिइसकेका छन् । लमजुङमा यी पार्टीको दुईका संगठन उति बलियो त छैन । तर, उनीहरूसँग केही मत भने छ । यसले पनि पृथ्वीसुब्बाको जितमा चुनौती थपिदिएको छ ।

पृथ्वीसुब्बाका लागि अर्को चुनौती पार्टीभित्रको अन्तरविरोध हो । टिकट वितरणमा असन्तुष्टि जनाउँदै केही नेता र कार्यकर्ताहरू पार्टीपंक्तिसँग रुष्ट छन् । असन्तुष्ट समूहले पृथ्वीसुब्बालाई सहयोग नगर्ने पनि चर्चा छ । 

यता गठबन्धनको साथ भए पनि जित्न देवलाई पनि सहज छैन । यसका प्रमुख दुई कारण छन् । पहिलो, पाँच वर्षे कार्यकालमा जिल्लाका लागि केही नगरेको आरोप देवलाई लाग्ने गरेको छ । दोस्रो तर अझ महत्वपूर्ण कारण, कांग्रेसको असन्तुष्टि । टिकट आफ्नो पार्टीले नपाएपछि कांग्रेसका धेरै नेता तथा कार्यकताहरू माओवादीसँग रुष्ट छन् । कांग्रेसहरू सम्पूर्ण पंक्तिले माओवादीलाई सहयोग नगर्ने चर्चा छ । जितका लागि निर्णायक मानिएको कांग्रेसबाट देवले पूर्ण रुपमा सहयोग नपाएको खण्डमा उनलाई जितको मुख देख्न गाह्रो हुनेछ ।  

दुवै दलको आ–आफ्नै दाबी

एमाले लमजुङ इन्चार्ज तथा केन्द्रीय सदस्य मायानाथ अधिकारी पार्टीसँग प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुईसहित तीनै सिट जित्ने बलियो आधार भएको बताउँछन् । स्थानीय निर्वाचनमा पार्टीको आन्तरिक व्यवस्थापकीय कमजोरी र मतभेदका कारण केही सिट गुमाउनु परे पनि जिल्लामा एमाले नै पहिलो दल भएको उनले जिकिर गरे । एक्लाएक्लै आउँदा एमालेलाई कसैले पनि उछिन्न नसक्ने उनको दाबी छ।

अधिकारीले माओवादीका गुरुङ ०७४ को निर्वाचनमा एमालेको भोटकै कारण विजयी भएको पनि बताए । ‘गुरुङले पाएको ३९ हजार भोटमा ३२ हजार एमालेको हो । यसले प्रष्ट देखाउँछ कि यहाँ माओवादीको प्रभाव कम छ भनेर,’ अधिकारीले सुनाए, ‘गठबन्धनमा सम्मिलित राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीको प्रभाव सामान्य छ । हाम्रो मुख्य प्रतिस्पर्धी कांग्रेस हो नै ।’

उनले गठबन्धनको उद्देश्य मुलुकको विकास र नागरिकका समस्या समाधान गर्ने नभएर सिर्फ एमालेलाई कमजोर पार्न भएको आरोप लगाए । नागरिकहरूले यो कुरा राम्रोसँग बुझेको र यसपालि उनीहरूले एमालेलाई भोट दिने विश्वास उनको छ ।

यता लमजुङ माओवादी जिल्ला इन्चार्ज पारसमणि पौडेल पनि आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबी गर्छन् । एमाले संविधान र लोकतन्त्रको पक्षमा नभएको कुरा नागरिकहरूले स्पष्टसँग बुझिसकेकाले उसलाई भोट नदिने बताए । ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई–दुई पल्ट संसद् भंग गरेर संविधान कोल्याप्स गर्ने काम गर्नुभयो । यो कुरा नागरिकले राम्रोसँग बुझिसकेका छन्,’ पौडेलले भने, ‘हामी दश वर्षे जनयुद्धले स्थापित गरेका संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता लगायतका उपलब्धिलाई अझ बलियो रूपमा स्थापित गर्न सधैँ लागिपरेका छौँ ।’

उनले अगाडि थपे, ‘एमाले यी उपलब्धिको विपक्षमा देखियो, विस्थापित गर्नतर्फ लाग्यो । तर, मुलुक हामीले स्थापित गरेको अजेन्डामा उभिएको छ । विभिन्न जातजाति, लिङ्ग र समुदायका पक्षमा हामीले सधैँ नारा लगाएका छौँ । त्यसैले जनताले हामीलाई विश्वास गर्नुहुन्छ । उहाँहरूले हामीलाई नै सहयोग गर्नुहुन्छ ।’

स्थानीय निर्वाचनको मतपरिणाम हेर्दा माओवादी उम्मेदवार गुरूङ बलिया देखिन्छन् । यद्यपि, एमालेका पृथ्वीसुब्बालाई कम आँक्न मिल्दैन । दुईबीचको भिडन्तमा को वियजी हुन्छ भन्ने हेर्न चाहिँ मंसिर ४ को निर्वाचन कुर्नुपर्ने हुन्छ । 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x