दल

चुनाव हारेपछि सिटौलाले भने - अबको राजनीति नयाँपन र नयाँ दिशातर्फ

इकागज |
मंसिर ११, २०७९ आइतबार २०:४ बजे

फाइल फोटो

झापा - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब मुलुकको राजनीति नयाँपन र नयाँ दिशातर्फ जानुपर्नेमा जोड दिएका छन् । 

झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा उनले जनताले खोजेअनुसार अबको राजनीति अघि बढ्नुपर्ने बताए । `संघीयता, लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन दिनु जरुरी छ`, उनले भने, `जनताले खोजेको शासन व्यवस्था स्थापित गर्न दलहरू गम्भीर हुनुपर्छ ।`


मुलुकको राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएकाले शासन सञ्चालनमा समेत नवीनता आउन जरुरी रहेको उनको भनाइ छ । `पुरानो राजनीतिक शैलीलाई अघि बढाएर लक्ष्यमा पुग्न सकिँदैन`, उनले भने, `यसतर्फ पनि सोच्ने बेला आएको छ ।`

निर्वाचनबाट कोही विजय, कोही पराजय भए पनि राजनीतिमा उन्नत संस्कार सिक्नुपर्ने भएकाले आफू राजनीतिमा सक्रिय रहने समेत उनले स्पष्ट पारे । उनले निर्वाचनको अन्तिम परिणामसँगै सत्ता गठबन्धनले आगामी पाँच वर्ष प्रतिगमनविरुद्ध मिलेर सरकार चलाउने र देशमा देखिएका समस्याको समाधान हुनेमा आफू विश्वस्त भएको बताए । रासस
 


Author

थप समाचार
x