दल

हारको सम्पूर्ण जिम्मेवारी लिँदै माधव नेपालले दिएको त्यो राजीनामा

नेपालको पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएन भने के गर्लान् ?

कमल विष्ट |
मंसिर १२, २०७९ सोमबार १८:१७ बजे

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा छ । केही क्षेत्रको परिणाम सार्वजनिक हुन बाँकी रहँदा केही बहालवाला मन्त्रीसहित पार्टी महासचिवसमेत पराजित भएका छन् । 

उनीहरूको पराजयसँगै एउटा प्रश्न यतिबेला पेचिलो बनिरहेको छ– ‘ती मन्त्री तथा महासचिवले नैतिकताका आधारमा राजीनामा देलान् कि नदेलान् ?’ त्यसो त उनीहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने आवाज बढ्दो छ ।


यो आवाज बढ्दै गर्दा यहाँनेर २०६४ को निर्वाचनमा पराजित भएपछि नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले दिएको राजीनामा सान्दर्भिक हुन्छ । उनले त्यतिबेला ‘हारको सम्पूर्ण जिम्मेवारी लिँदै’ राजीनामा दिएर नजीर स्थापित गरेका थिए । नेपाल हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष छन् । 

उनको पार्टी नेकपा एकीकृत समाजवादीले ‘राष्ट्रिय पार्टी’को मान्यता पाउने या नपाउने अन्योल यथावत् छ । उनको पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएन भने यसपालि के गर्लान् ? राजीनामा देलान् ? आफैँद्वारा स्थापित नजीरलाई उनले कसरी लिन्छन् ? उनको नीति हेर्न अझै केही दिन कुर्नुपर्ने देखिन्छ ।

उता, यसपालिको निर्वाचनमा एमाले महासचिव शंकर पोखरेलले पनि दाङ– २ मा हार व्यहोरेका छन् । पोखरेलका हारसँगै नेपालद्वारा स्थापित नजीरलाई निरन्तरता देलान् कि नदेलान् भन्ने चासो धेरैको छ । त्यस अतिरिक्त एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि काठमाडौं–५ बाट पराजित भइसकेका छन् । परिणाम आएको ६ दिन बितिसक्दा पनि नेतृत्व पंक्तिको नैतिकता प्रदर्शन गरेका छैनन् । 

यस्तो छ नेपालले त्यो बेला एमालेले अनपेक्षित हार व्यहोरेपछि १ वैशाख २०६५ मा पार्टी मुख्यालयमा दिएको वक्तव्य :

‘अनेकौं आशंका र चुनौतीका बीच संविधानसभा निर्वाचन सम्पन्न गरेर हामीले एउटा महत्वपूर्ण र ऐतिहासिक अभिभारा पूरा गरेका छौँ । सर्वप्रथम यो अभिभारा पूरा गर्न क्रियाशील स्वदेश र प्रवासका सम्पूर्ण नेपाली मतदाता, निर्वाचन आयोगका पदाधिकारी, यस कार्यमा संलग्न सबै कर्मचारी र सुरक्षाकर्मीहरूप्रति म हार्दिक बधाई र धन्यवाद ज्ञापन गर्छ । यस कार्यमा सहयोग पुर्‍याउने सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको सकारात्मक भूमिकाको प्रशंसा गर्दै म धन्यवाद ज्ञापन गर्छ । 

आफ्नो ज्यानलाई जोखिममा राखी धम्की, अपहरण, आक्रमण, भ्रम र प्रलोभनको समेत पर्वाह नगरी दृढतापूर्वक हाम्रो पार्टीका पक्षमा मतदान गर्ने सम्पूर्ण जनसमुदायप्रति म हार्दिक कृतज्ञता ज्ञापन गर्छु । यस क्रममा हत्या गरिनुभएका हाम्रो पार्टीका उम्मेदवार कमरेड ऋषिप्रसाद शर्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छ ।

ऐतिहासिक जनआन्दोलनको आरम्भ गर्न, शान्ति प्रक्रियालाई अघि बढाउन र देशलाई संविधानसभा निर्वाचनसम्म पुर्‍याउन हाम्रो पार्टीले निर्वाह गरेको महत्वपूर्ण भूमिका सर्वविदितै छ । संविधानसभा निर्वाचन पटकपटक सार्ने कामको विपक्षमा रही छिटोभन्दा छिटो यसलाई सम्भव गराउन नेकपा एमालले निर्वाह गरेको भूमिकाप्रति हामीलाई गर्व छ । यसका लागि नेतृत्वलाई निरन्तर साथ–सहयोग दिई खटिरहने हाम्रो पार्टीपंक्ति पनि धन्यवादको हकदार छ । 

संविधानसभा निर्वाचनका परिणामहरू प्राप्त भइरहेका छन् । ऐतिहासिक जनआन्दोलन, शान्ति प्रक्रिया र संविधानसभा निर्वाचनका सन्दर्भमा हाम्रो पार्टीले निर्वाह गर्दै आएको नेतृत्वकारी भूमिकाअनुरूप नै निर्वाचनमा पार्टीले नेतृत्वकारी हैसियतको अपेक्षा राखेको थियो तर अहिलेसम्म प्राप्त परिणामहरू हाम्रो पार्टीको अपेक्षाविपरीत रहेका छन् । पार्टीको महासचिवको हैसियतले यस असफलताका लागि मूल रूपमा म जिम्मेवारी लिन्छु । 

जनताले संविधानसभा निर्वाचनमा जुन जनादेश दिएका छन्, नेकपा एमाले त्यसलाई विनम्रतापूर्वक स्वीकार गर्छ तर यस निर्वाचनमा प्राप्त अस्वाभाविक परिणामबाट पाठ सिक्न, यसका कारणहरू पहिचान गर्न र रहन गएका कमीकमजोरीलाई मसिनो गरी केलाउन आवश्यक छ । एकातिर पार्टीमा अन्तरनिहित कमीको गम्भीर रूपले आत्मसमीक्षा गर्न, आवश्यक भएको छ भने अर्कातिर अहिलेको चुनौतीपूर्ण परिस्थितिमा सिंगो पार्टीलाई एकताबद्ध बनाएर जनतासँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउन जरुरी छ । यो कामका लागि म पार्टीको केन्द्रीय नेतृत्व र सम्पूर्ण पार्टी–पंक्तिलाई हार्दिक आह्वान गर्छु ।

नेकपा एमालेले आफ्नो गौरवपूर्ण इतिहासका विभिन्न कालखण्डमा अनेकौँ प्रकारका असफलता र संकट झेलिसकेको छ । नेतृत्व कार्यकर्ताहरूको सामूहिक पहल र प्रयासमा हामीले ती चुनौतीलाई सामना गर्दै पार्टीलाई नयाँ उचाइमा पुर्याउँदै आएका छौँ । वर्तमान समय निराशा र हतासको समय होइन, मुलुकलाई युगान्तकारी परिवर्तनका बाटामा डोर्याएर लैजाने समय हो । म हाम्रो पार्टीपंक्तिले विगतमा झै यो असहज परिस्थितिको साहसका साथ सामना गर्ने कुरामा ढुक्क छु । आफू पनि आफ्नो स्थानबाट त्यस काममा योगदान गर्न प्रतिबद्ध छु । त्यसैले नयाँ नेपाल निर्माणका लागि हामीभित्रका कमीकमजोरीलाई सच्याउँदै जनअपेक्षाअनुसार पार्टीलाई नयाँ ढंगले संगठित र ऊर्जावान् बनाउने काममा लाग्न म सम्पूर्ण पार्टीपंक्तिमा आह्वान गर्छु ।

विगत पन्ध्र वर्षमा पार्टीले भोगेका अनेकौँ आरोह–अवरोहको नेतृत्वकर्ता, महासचिवको हैसियतले म नै थिएँ । यसपटकको संविधानसभा निर्वाचन पनि पार्टीले मेरै नेतृत्वमा लडेको थियो । संविधानसभा निर्वाचनमा पार्टीले भोगेको अनपेक्षित परिणामप्रति महासचिवका हैसियतले नैतिक जिम्मेवारी मेरै हो । तसर्थ, यसको सम्पूर्ण नैतिक जिम्मेवारी स्वीकार गर्दै मैले पार्टीको महासचिव पदबाट आजैका मितिदेखि राजीनामा गरेको छु । 

महासचिवको जिम्मेवारीमा रहँदा मलाई सहयोग गर्ने केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरू र पार्टीका सम्पूर्ण सदस्य, समर्थक, शुभेच्छुक र नेपाली जनतालाई हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्छु र भविष्यमा पनि निरन्तर सहयोग र सद्भावको अपेक्षा गर्छु ।’


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x