दल

सुकुम्बासीमाथि राज्यबाट गरिएको व्यवहार लोकतान्त्रिक आचरणविपरीत : केपी ओली

इकागज |
मंसिर १३, २०७९ मंगलबार १७:२४ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलले सत्ताको दुरुपयोग गर्दै निर्वाचन जित्न खोजेको आरोप लगाएका छन् ।

एमालेको भ्रातृ संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको निर्वाचनमा धाँधली भएको भन्दै सत्ताको दुरुपयोग गर्दै गठबन्धनले निर्वाचन जित्न खोजेको आरोप लगाएका हुन् ।


उनले निर्वाचनका क्रममा कतिपय स्थानमा एमालेका कार्यकर्तामाथि दमन गरेको र नागरिकलाई समेत मतदान गर्नबाट वञ्चित गरेको जिकिर गरे । निर्वाचनमा आतंकको सिर्जना गरेर बुथ कब्जा गर्ने कोसिस समेत भएको उनले बताए । उनले राज्यको काम जनताको अधिकारको सुरक्षा गर्ने भए पनि लुटेराको रूपमा लागेर लोकतन्त्रको चिरहरण गर्ने काम भएको धारणा राखे ।

दलाल प्रतिक्रियावादी सत्तामा रहेकै कारण निर्वाचनमा मान्छे मार्दा पनि कोही नबोलेको ओलीको भनाइ छ ।

त्यस्तै ओलीले सुकुम्बासीमाथि राज्यबाट गरिएको व्यवहार लोकतान्त्रिक आचरणविपरीत भएको बताए । नदी किनारामा छाप्रो बनाएर बसेका सुकुम्बासी देशको शत्रु नभएको भन्दै उनले अनावश्यक बल प्रयोग गर्नु उचित नभएको धारणा राखे ।

उनले नेपालको सांस्कृतिक फाँटले जुनसुकै क्षेत्रमा पनि राम्रा संस्कृतियुक्त काम गर्न प्रेरणा दिनुपर्ने जिकिर गरे । कार्यक्रममा मञ्चले अध्यक्ष ओलीलाई सम्मान गरेको थियो ।


Author

थप समाचार
x