दल

बधाईका नाममा गेटमा पुगेर अध्यक्ष र सचिवालयलाई लज्जित बनाउने काम बन्द गरिदिनुस् : प्रचण्डको सचिवालय

इकागज |
मंसिर १६, २०७९ शुक्रबार ९:२७ बजे

अध्यक्ष प्रचण्डलाई बधाई दिँदै माओवादी नेता हिमाल शर्मा । फाइल तस्बिर

काठमाडौँ- केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बधाई र शुभकामनाको नाममा खादा माला र समयको बर्बादी नगरीदिन अनुरोध गरेको थियो । तर अझै पनि त्यस्तो कार्य नरोकिएपछि प्रचण्डको सचिवालयले लज्जित बनाउने काम बन्द गर्न आग्रह गरेको छ ।

प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बधाई र शुभकामनाका नाममा गेटमा पुगेर अध्यक्ष र सचिवालयलाई लज्जित बनाउने काम बन्द गर्न आग्रह गरेका हुन् । 'म फेरि पनि आग्रह गर्दछु बधाई र शुभकामनाका नाममा गेटमा पुगेर अध्यक्ष र सचिवालयलाई लज्जित बनाउने काम बन्द गरिदिनुस' मल्लले फेसबुकमा लेखेका छन् ।


यसअघि नै प्रचण्डको सचिवालयले केही सुझाव भए पार्टी केन्द्रीय कार्यालय र अध्यक्ष कमरेडको निजि सचिवालयको इमेलमा पठाई सहयोग गर्न अनुरोध गरेको थियो । [email protected][email protected] नामक इमेलमा सुझाव भए पठाउन भनिएको छ ।

त्यस्तै आवश्यक छलफल र भेटघाटका लागि भने समय व्यवस्थापन गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।

शुभकामना र बधाई दिने नाममा प्रचण्डलाई माला र खादाले छोप्‍ने गरी लगाएको फोटो सार्वजनिक भएपछि माओवादीकै नेता/कार्यकर्ताहरू विरोध गरेका थिए । माओवादीका नेता लेखनाथ न्यौपानेले चुनाव जितेका अरुहरूले अलिअलि तामझाम गरेको ठिकै मान्‍न सकिएला तर प्रचण्डले त्यसो गर्न हुँदैन र सुहाउँदैन भन्दै फेसबुकमा लेखेका थिए । त्यसलगत्तै माओवादीका अन्य कार्यकर्ताहरूले पनि प्रचण्डले त्यसो गर्न नसुहाउने भन्दै सामाजिक सञ्‍जालमा लेखेका थिए । 'अधिकांश अलोकप्रिय पात्रलाई टिकट दिँदा पार्टी १७ मा झरेको छ र पार्टीको लोकप्रिय मतमा समेत नयाँ राप्रपा जस्ता पुरातनपन्थीहरूले लतार्दै लगेको बेला अध्यक्ष कमरेडले घरभित्रै थामिनसक्नु माला खादासहित बधाई खाने कुराले भौतिक-नैतिक रुपमा अलिकति पनि राम्रो गरेको छैन' न्यौपानेले लेखेका थिए ।


Author

थप समाचार
x