दल

‘स्कुलदेखि एमालेको झण्डा बोकेकी हुँ, कारबाही फिर्ता लिए फर्किन सक्छु’

कमल विष्ट |
पुस २४, २०७९ आइतबार १०:५२ बजे

गत असोज १३ गते । गंगा चौधरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गइन्, पार्टी कार्यालय च्यासल । चौधरीलाई निर्वाचनको टिकटको सन्दर्भमा कुराकानी गर्नु थियो । भेटपछि ओलीले चौधरीलाई भने– जाऊँ बेटा जितेर आऊँ !

ओलीले थपे, ‘तिमी अब यहाँ धेरै नबस । गाउँमा गएर चुनावको तयारीमा जुट ।’


अध्यक्षबाटै बचन पाएपछि उनी खुसीले गद्‍गद्‍ भइन् । उनले दाङ जिल्ला अध्यक्ष, सचिव तथा इन्चार्जबाट पनि टिकट आफूले नै पाउने विश्वास पाइन् । उनीहरूले पनि चौधरीलाई गाउँमा गएर चुनावको तयारी गर्न सुझाव दिए ।

सबैबाट विश्वास पाएपछि उनी तत्कालै दाङ–१ बाट प्रतिनिधिसभा निर्वाचन जित्ने रणनीति बनाउने कार्यमा लागिन् । एउटा प्रेसलाई फोन गरेर २० हजार सूर्य अंकित झण्डाको अर्डर दिइन् । दुई दिनपछि झण्डा तयार भएको खबर आयो । उनी त्यसै दिन सबै २० हजार झण्डा नाइट बसमा हालेर दाङ हिँडिन् ।

गाउँलाई दशैंले छपक्कै छापेको थियो । उनी देशव्यापी रूपमा फैँलिरहेको डेंगीको सिकार भएर भर्खर तंग्रिँदै थिइन् । तर, उनले न दशैँको पर्वाह गरिन् न त आफ्नो स्वास्थ्यको । दिनरात नभनी पार्टी प्रचारप्रसार र संगठन बिस्तारमा जुटिरहिन् । तर, १९ गते पार्टीबाट आएको खबरले उनलाई स्तब्ध बनायो । दशैंको टीका नै खल्लो भयो । उनको हातबाट टिकट खोसिएको थियो ।

अर्को दिन उनी ओलीलाई भेट्न काठमाडौँ हान्निइन् । २१ गते दिउँसो ओलीसँग भेट भयो । ‘अहिल्यै नै निर्णय भइसकेको छैन, तिमी नआत्तिऊ,’ ओलीले यस्तो भनेपछि उनको मनमा फेरि आशाको दियो बल्यो । उनी ढुक्क भएर कोठा फर्किइन् । तर, यसपालि पनि उनको खुसी लामो समय टिक्न सकेन ।

‘त्यस रात अध्यक्ष र महासचिवबीच के छलफल भयो भयो ? अर्को दिन महासचिवज्यूलाई फोन गर्दा उहाँले तपाईंलाई टिकट दिन सकिएन भन्नुभयो,’ उनले भनिन्, ‘साह्रै अपमानित भएको अनुभूति भयो । रिस पनि त्यस्तै उठ्यो ।’

उनले अगाडि भनिन्, ‘दाङमा गंगा चौधरीको जनमत नै छैन । उनले आफ्नो र श्रीमानले मात्र भोट पाउँछन् भनियो । त्यसपछि मैले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेँ ।’

पार्टीले आफू र श्रीमान नन्दकुमार चौधरीलाई प्रयोग मात्र गरेको उनको आरोप छ । पार्टीले श्रीमानलाई पनि सुरुमा स्थानीय र प्रदेश निर्वाचनमा टिकट दिन्छु भनेर पछि नदिएको उनको गुनासो छ । ‘स्थानीय निर्वाचनमा उहाँलाई राप्ती गाउँपालिकाको अध्यक्षमा टिकट पक्का हो भनेर भनियो । चुनावी अभियानमा अहोरात्र खटिनुभयो । तर अन्तिममा उहाँलाई भनियो– तपाईंकी श्रीमतीलाई संघीय चुनावमा टिकट मिल्छ, त्यसैले अहिले कम्प्रमाइज गर्नुस् है,’ उनले सुनाइन्, ‘पार्टी व्यवस्थापनका लागि हो भने ठीकै छ, हामीले बुझ्नुपर्छ भनेर स्वीकार्यौँ ।’

उनले थपिन्, ‘तर, संघको निर्वाचनमा पनि त्यस्तै भयो । मलाई संघमा टिकट मिल्छ भनेर भनियो । पछि मेरो साटो श्रीमानलाई प्रदेशमा दिइन्छ भनियो, तर अन्तिममा न मैले पाएँ न उहाँले ।’

‘ल हामीहरू त समक्ष थिएनौँ रे । के पूरै देउखुरीमा कोही सक्षम उम्मेदवार थिएनन् त ? के देउखुरीका नागरिकहरू भोटर मात्रै हुन् ?,’ उनको प्रश्न छ ।

पार्टीले आफूहरूको त्याग र योगदानलाई नबुझे पनि पार्टीप्रति कुनै वैरभाव नभएको उनी बताउँछिन् । आफ्नो स्वतन्त्र उम्मेदवारी पनि कसैलाई हराउन वा जिताउन नभएर अन्यायविरुद्ध भएको उनको तर्क छ । ‘मेरो उम्मेदवारी पार्टी वा कसैलाई हराउन होइन, बरु पार्टीभित्रको प्रवृति र केही मान्छेविरुद्ध थियो,’ उनी भन्छिन् ।

‘राप्ती गाउँपालिका– ७ मेरो वडा हो, यो कांग्रेसको गढ थियो । हामीले दिनरात नभनी हाम्रो ठाउँमा पार्टीको संगठन विस्तारका लागि काम गर्यौँ र कांग्रेसलाई हरायौँ,’ उनले भनिन् ।

उनी एमालेबाट २०७० र २०७४ गरी दुई पटक समानुपातिक सांसद भइसकेकी छन् । नयाँ मान्छेलाई मौका दिन पार्टीले तपाईंलाई टिकट नदिएको कुरा छ नि ? हाम्रो प्रश्नमा उनले लामो जवाफ दिइन् ।

‘म दुई–दुई पल्ट समानुपातिक प्रणालीबाट सांसद भइसकेँ । त्यसैले, म अन्तिमपल्ट छानिएर होइन, निर्वाचित भएर सांसद बन्न चाहन्थेँ । गंगा चौधरीले आफ्नो क्षेत्रमा थुप्रै काम गरिसकी, प्रत्यक्ष निर्वाचन लड्न सक्ने सामथ्र्य बनाइसकी । देउखुरीबासी अब उसलाई प्रत्यक्ष सांसदका रूपमा देख्न चाहन्छन् । उसले अन्तिम पल्ट प्रत्यक्षमा उठ्न पाएपछि त्यसपछि ऊ अरूको भाग खोस्न आउँदिन । समानुपातिक पद्धतिबाट अर्को पीडित महिलाले अवसर पाउनुपर्छ । पार्टीमा मेरो भनाइ यतिमात्र थियो,’ उनी भन्छिन् ।

आफू प्रत्यक्षबाट लड्न समक्ष भइसकेको आफूले निर्वाचनमा पाएको मतले देखाएको उनको जिकिर छ । आफू उठेको भए एमालेले चुनाव जित्ने उनी दाबी गर्छिन् । चुनावी अभियानका सक्रिय नभएका बाबजुद आफूले ११ सय मत ल्याएकोमा गर्व गर्छिन् उनी । ‘म निर्वाचनमा त उठेँ, तर प्रचारप्रसार गरिनँ । कुनै ठेकेदार र व्यापारीबाट पैसा उठाइनँ । मेरो आफ्नै महिला समूहमा १ हजार ८६ जना सदस्य छन् । तर, कसैलाई मलाई भोट दिनुस् भनिनँ । जो योग्य र सक्षम छ, उसलाई भोट दिनू भनेँ,’ उनले भनिन्, ‘मान्छेहरू मलाई फोन गरी गरी चुनाव चिह्न के हो भनेर सोध्थे । तर, मैले कहिल्यै आफ्नो प्रचार गरिनँ ।’

चौधरी पार्टीको केन्द्रीय समिति सदस्य थिइन् । स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई पार्टीले कारबाही स्वरूप केन्द्रीय सदस्यबाट निष्काशित गरिदिएको छ । तर, कारबाही फिर्ता लियो भने पार्टीमा फेरि जान सकिने उनी बताउँछिन् । ‘म विद्यार्थी कालदेखि नै एमालेको झन्डा बोक्दै आएकी मान्छे हुँ । म कम्युनिस्ट थिएँ, छु र रहनेछु । म कतै जादिनँ,’ उनले भनिन् ।

‘गंगा चौधरी जस्तो पार्टीमा आउनुपर्छ भन्ने पार्टीले निर्णय गर्‍यो भने फिर्ता हुन सकिन्छ । यो पार्टी र भविष्यको कुरा हो,’ उनले बताइन् ।

अहिले चौधरी दाङमा छिन् । सांसद हुँदा आफूले अगाडि बढाएका कुरा सम्पन्न गर्नतिर उनी लागिरहेकी छन् । राजनीतिको अन्तिम उद्देश्य समाजसेवा नै हुने भएकाले आफू समाजसेवामा जुटेको उनी बताउँछन् । पार्टीले कारबाही गर्दैमा वा पार्टीमा अबद्ध नहुँदैमा सामाजिक कार्यमा संलग्न हुन छाड्न नहुने उनको तर्क छ । भन्छिन्, ‘समाज सेवा गर्न पार्टीमै हुनुपर्छ भन्ने छैन ।’

आफ्नो पालामा परेका योजनाहरू तीव्रता पाइरहेको उनको दाबी छ । मन्दिर, कल्भर्ट, बाटोलगायत कामलाई छिटोभन्दा छिटो सक्न आफू लागिपरेको उनी बताउँछिन् । हिजोआज उनी आफ्नो वडामा साढे ७ लाख रूपैयाँको लागतमा निर्माण भइरहेको शिव मन्दिरलाई पूर्णता दिन लागिपरेकी छन् ।

आफ्नो कार्यकालमा दाङमा थुप्रै विकासका कार्यहरू भएको उनको दाबी छ । यसको मूल्यांकन नागरिकहरूले गरेको उनी बताउँछिन् । ‘यहाँ धेरै काम भएका छन्, त्यो हेर्न यहाँ आए हुन्छ । कोरोना कालमा गंगा चौधरीले अक्सिजन सिलिन्डर बोकेर गाउँ–गाउँमा पुर्‍याएको तपाईंहरू नै लेख्नुभएको छ । दुनियाँको आरोप खेपेर सिलिन्डर ल्याएर नागरिकको ज्यान जोगाउन सक्रिय रहेँ । नेपालको दोस्रो र तेस्रो लामो झोलुङ्गे पुल बने । हाम्रो क्षेत्रमा साढे १८ करोडको अस्पताल बनेको छ,’ आफूले गरेका कार्यको फेहरिस्त उनले सुनाइन् ।

उनले अगाडि भनिन्, ‘यी सबै कुरा देउखुरीबासीहरूले राम्रोसँग बुझेका छन् । 

आफ्नो सम्पूर्ण समय अब गाउँमै सामाजिक कार्यमा बिताउने योजनामा छिन् उनी । निर्वाचनयता उनी एक पटक मात्र काठमाडौं आएको बताउँछिन् । त्यो पनि केही दिनका लागि । उनी ठट्टा गर्छिन्– हामी जस्तो गरिब मान्छेको काठमाडौंको कामै छैन । भ्रष्टाचार गरिएन ।

समाज सेवा आफ्नो एकमात्र जीवनको उद्देश्य भएको चौधरी बताउँछिन् ।

२०३६ सालमा पश्चिम नेपालको कैलालीमा जन्मिएकी हुन् । चार सन्तानमध्ये उनी घरकी साइली हुन् । परिवारको आर्थिक अवस्था कमजोर भए पनि उनले सानैदेखि स्कुल जाने मौका पाइन् । विद्यालयमा मेधावी विद्यार्थी थिइन् । पढाइदेखि खेलकुदसम्म आफू सधैँ अब्बल भएको उनी सम्झिन्छन् । ‘म सात कक्षादेखि नै विभिन्न सामाजिक–आर्थिक जनचेतनात्मक कार्यक्रममा सहभागी हुन्थेँ,’ उनले स्मरण गरिन् ।

उनमा दिन प्रतिदिन राजनीतिक चेत पनि बढ्दै जान थाल्यो । चौधरीले २०४९ सालमा मदन भण्डारीको भाषण सुन्ने मौका पाइन् । त्यसपछि त उनी मदन भण्डारीको ‘फ्यान’ नै भइन् । ‘म त्यतिबेला कक्षा ८ मा पढ्देँ । २०४९ मा उहाँ टीकापुर आउनुभएको थियो । उहाँको भाषण सुन्ने मौका मैले पाएँ,’ आफ्नो जीवनमा ‘यूटर्न’ ल्याउने त्यो भाषणबारे सम्झिन्छन् उनी, ‘मैले धेरै कुरा त बुझिनँ, तर जति बुझेँ त्यो एमालेमा लाग्नलाई पर्याप्त थियो ।’

भण्डारीको भाषणबाट प्रभावित भएरै चौधरीले एमालेको सदस्यता लिइन्, पाँच रूपैयाँ दस्तुर तिरेर । उनी यसरी एमाले भएकी हुन् ।

२०५९ सालमा उनको नन्दकुमारसँग विवाह भएपछि उनी दाङ गइन् ।

चौधरी मंसिर ४ को प्रतिनिधि निर्वाचनमा दाङ–१ बाट उठेकी थिइन् । उनी करिब ११ सय मत ल्याउँदै छैटौँमा चित्त बुझाएकी थिइन् ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x