दल

राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

इकागज |
माघ १३, २०७९ शुक्रबार १७:१६ बजे

काठमाडौँ- सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ ।

दलहरूबीच राष्ट्रपति एमालेलाई दिने सत्तारूढ दलहरूको सहमतिका बीच माओवादी केन्द्रको शुक्रबार बसेको पार्टी स्थायी कमिटीले बैठकले सो निर्णय गरेको हो । एमालेसहितका दलहरूसँग बसेर राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरिएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए ।


बैठकमा धेरैजसो नेताहरूले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने धारणा राखेकाले पार्टीले पनि सोही अनुसार अघि बढ्ने नीति लिएको उनको भनाइ थियो ।

उपाध्यक्ष महराले पार्टी एकतासम्बन्धी प्रतिवेदन, उपमहासचिव जनार्दन शर्माले पार्टीको संगठनसम्बन्धी प्रतिवेदन र अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीको स्कुलिङसम्बन्धी प्रतिवेदन बैठकमा पेश गरेका थिए । पार्टी एकतासम्बन्धी प्रतिवेदनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पार्टी एकताका लागि संस्थागत रूपमा वार्ता प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ ।

त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पनि एकताका लागि व्यक्तिगत रुपमा पहल सुरु गरिएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको उपाध्यक्ष महराले बताए ।

बैठकले स्थायी कमिटी बैठकमा नेताहरूले उठाएको विषयलाई एकीकृत गर्न र पार्टीका केन्द्रीय कमिटीका नेताहरूको कार्यविभाजनको ठोस प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङको नेतृत्वमा उपमहासचिवहरूको टिमलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । बिहीबारबाट सुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठक आइतबार १६ गते बिहान ११ बजेका लागि बोलाइएको छ ।


Author

थप समाचार
x